प्रतीक्षित बलिउड फिल्म 'लभ एन्ड वार'को थिएटर प्रदर्शन अधिकार महंगो मूल्यमा बिक्री भएको छ। रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल स्टारर फिल्मको वितरण अधिकारका लागि विभिन्न कम्पनीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतिस्पर्धाबीच फिल्मको विश्वव्यापी थिएटर अधिकार ३ सय करोड भारूमा बिक्री भएको बलिउड हंगामाले जनाएको छ।
सञ्जय लीला भन्साली निर्देशित 'लभ एन्ड वार'को वितरण अधिकारका लागि धर्मा प्रोडक्सन्स, जियो स्टुडियोज, अनिल थडानी र पेन मरूधरसहितका कम्पनीले चासो देखाएका थिए। अन्ततः पेन मरूधरले ३ सय करोड भारूमा विश्वव्यापी थिएटर अधिकार हात पारेको बलिउड हंगामाको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार यो सम्झौता फिल्मको निर्माण पक्ष र पेन मरूधरबीच भएको हो। स्रोतलाई उद्धृत गर्दै समाचारमा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलको स्टारकास्ट तथा भन्सालीको निर्देशनका कारण फिल्मको वितरण अधिकारमा ठूलो प्रतिस्पर्धा देखिएको उल्लेख गरिएको छ।
'लभ एन्ड वार'मा रणवीर, आलिया र विक्की पहिलोपटक एउटै फिल्ममा मुख्य भूमिकामा देखिँदैछन्। यसले रणवीर र भन्सालीलाई पनि लामो समयपछि एकसाथ ल्याउँदैछ। फिल्मका मुख्य कलाकारहरूको पहिलो झलक सार्वजनिक भइसकेको छ।
फिल्म सन् २०२७ जनवरी २१ मा प्रदर्शनमा आउने तय छ।