झन्डै चार दशकदेखि बलिउडमा सक्रिय छन् सलमान खान। कहिले प्रेमिल अभिनेता त कहिले एक्सन अवतारमा देखिने सलमानलाई दर्शकले प्रेमपूर्वक 'भाइजान' भन्छन्।
ठूलो पर्दादेखि टेलिभिजनसम्म आफ्नो उपस्थिति बलियो बनाएका सलमान यतिबेला भने अर्को माध्यममा पनि चर्चामा छन्। नेपालमा समेत ठूलो फ्यान फ्लोइङ कमाएका उनले हालै युट्युब च्यानल समेत सुरू गरेका छन्।
सलमानले 'बिइङ सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्। शुक्रबार (अक्टोबर ९) मा उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत च्यानलको लिंक सार्वजनिक गर्दै दर्शकलाई त्यहाँ जोडिन आग्रह गरेका थिए।
सलमानले लेखेका छन्, 'सुरूदेखि सुरू गरौं। मेरो आधिकारिक युट्युब च्यानल। एदेखि जेडसम्म सबै यहीँ पाइन्छ।'
सलमानको यो नयाँ सुरूआतले उनका प्रशंसकलाई फिल्म र टेलिभिजनबाहिर पनि उनीसँग जोडिने अवसर दिएको छ। तर उनको च्यानल अरू कलाकारका सामान्य व्यक्तिगत भिडिओ वा दैनिक जीवनका दृश्यमा मात्रै सीमित देखिँदैन। सुरूआती भिडिओमै उनले आफ्नै अभिनय शैली र व्यक्तित्वलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।
सलमानको च्यानलमा सार्वजनिक गरिएका सुरूआती भिडिओमा उनी दुई फरक भूमिकामा देखिएका छन्। एउटा भूमिकामा उनी अभिनय तथा व्यक्तित्व प्रशिक्षक बनेका छन् भने अर्कोमा अभिनय सिक्न चाहने विद्यार्थीका रूपमा प्रस्तुत छन्।
प्रशिक्षक बनेका सलमानले विद्यार्थीलाई आफ्नो चर्चित हाउभाउ, शरीरको चाल र संवाद बोल्ने शैली सिकाउँछन्। यसरी उनले दर्शकले पर्दामा वर्षौंदेखि देख्दै आएको आफ्नो विशेष शैलीलाई हास्यपूर्ण ढंगले प्रस्तुत गरेका छन्।
सलमानको अभिनयमा देखिने आत्मविश्वास, संवाद बोल्ने तरिका र विशिष्ट हाउभाउ उनका परिचयजस्तै बनेका छन्। च्यानलका सुरूआती भिडिओमा यिनै पक्षलाई केन्द्रमा राखिएको छ। च्यानलमा सुरूआती चरणमा १० वटा छोटा भिडिओ सार्वजनिक गरिएका थिए। च्यानलमा (अक्टोबर १० सम्ममा) करिब ४० हजार सदस्य (सब्सक्राइबर्स) जोडिएका छन्।
तर, सलमानले आगामी दिनमा कस्ता सामाग्री नियमित रूपमा सार्वजनिक गर्नेछन् भन्ने स्पष्ट भइसकेको छैन। युट्युबमा उनको प्रवेशलाई दर्शकसँग जोडिने अर्को माध्यमका रूपमा हेर्न सकिन्छ।
सलमान युट्युब च्यानल सुरू गर्ने पहिलो बलिउड कलाकार भने होइनन्। आलिया भट्ट, वरूण धवन, प्रियंका चोपडा, कृति सेनन, फराह खान र शिल्पा शेट्टीजस्ता कलाकार पनि युट्युबमार्फत दर्शकमाझ सक्रिय छन्।