भारतीय अभिनेता अमिताभ बच्चन आज (अक्टोबर ११) ८४ वर्षमा प्रवेश गरेका छन्।
जन्मदिनको अवसरमा उनलाई भारतीय फिल्म क्षेत्रका कलाकार तथा प्रशंसकहरूले शुभकामना दिएका छन्। चिरञ्जीवी, प्रभास, कमल हासन, सुनिल शेट्टीलगायत कलाकारले अमिताभप्रति सम्मान व्यक्त गर्दै उनको योगदानको प्रशंसा गरेका छन्।
दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले अमिताभलाई ‘प्रिय गुरूजी’ भन्दै जन्मदिनको शुभकामना दिएका छन्। उनले अमिताभको फिल्मप्रतिको प्रेम, अभिनयप्रतिको समर्पण र कामप्रतिको सम्मान सधैं प्रेरणाको स्रोत रहेको बताएका छन्।
चिरञ्जीवीले अमिताभको विनम्रता र व्यक्तित्वको पनि प्रशंसा गरेका छन्। यी दुई कलाकारले सन् २०१९ मा प्रदर्शन भएको फिल्म 'साइ रा नरसिंहा रेड्डी'मा सँगै काम गरेका थिए।
त्यस्तै, अभिनेता प्रभासले पनि अमिताभलाई जन्मदिनको शुभकामना दिँदै आफूले पाएको माया र साथका लागि आभार व्यक्त गरेका छन्। प्रभास र अमिताभले फिल्म 'कल्कीः २८९८ एडी'मा सँगै अभिनय गरेका थिए।
गायक तथा संगीतकार हिमेश रेशमियाले अमिताभलाई भारतीय फिल्म क्षेत्रले पाएका महान् सुपरस्टारमध्ये एक भन्दै शुभकामना दिएका छन्। उनले अमिताभको लोकप्रियता र योगदानको प्रशंसा गरेका छन्।
अभिनेता कमल हासनले अमिताभको प्रभावशाली आवाज, संवाद बोल्ने शैली र पर्दामा देखिने उपस्थितिको प्रशंसा गरेका छन्। अमिताभले निर्वाह गरेका पात्र र विशेषगरी 'एंग्री योङ म्यान'को छविले भारतीय फिल्ममा छुट्टै पहिचान बनाएको उनको भनाइ छ। अभिनेता सुनिल शेट्टीसहित अन्य कलाकारले पनि अमिताभलाई जन्मदिनको शुभकामना दिएका छन्।
अमिताभको जन्मदिन मनाउन मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिर प्रशंसकहरू पनि भेला भएका थिए। उनीहरूले अमिताभका पोस्टर बोकेर गीत गाउनुका साथै नाचेर खुसी साटेका थिए।
सन् १९४२ अक्टोबर ११ मा जन्मिएका अमिताभले सन् १९६९ मा फिल्म 'सात हिन्दुस्तानी'बाट अभिनय यात्रा सुरू गरेका थिए। सन् १९७३ मा प्रदर्शन भएको 'जन्जिर'ले उनलाई ठूलो पहिचान दिलाएको थियो। त्यसपछि 'दीवार', 'शोले', 'डन', 'अमर अकबर एन्थोनी', 'अग्निपथ', 'मोहब्बतें' र 'ब्ल्याक'जस्ता फिल्ममा गरेको अभिनयले उनी बलिउडका प्रभावशाली अभिनेताका रूपमा स्थापित भए।
फिल्मसँगै टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति'मार्फत पनि अमिताभले दर्शकको मन जित्दै आएका छन्।