बलिउडको चर्चित फिल्म 'द डर्टी पिक्चर'को सिक्वेल बन्ने भएको छ।
सन् २०११ मा प्रदर्शन भएको विद्या बालन अभिनीत यस फिल्मको १५ वर्षपछि दोस्रो भाग निर्माण गर्न लागिएको हो। निर्माता एकता कपूरले 'द डर्टी पिक्चर २' बनाउने तयारी भइरहेको पुष्टि गरेकी छन्।
एकताले हालै रणवीर इलाहाबादियाको पडकास्टमा कुराकानी गर्दै फिल्मको सिक्वेलबारे जानकारी दिएकी हुन्। उनले लामो समयपछि आफूले भन्न चाहेको कथा भेटेकाले दोस्रो भाग निर्माण गर्न लागेको बताएकी छन्।
'मैले बनाउन लागेको एउटा ठूलो फिल्म द डर्टी पिक्चर २ हो। १५ वर्षपछि यसको योजना बनाउँदै छु। यसपटक मसँग भन्न चाहेको एउटा कथा छ भन्ने लाग्छ,' उनले भनेकी छन्।
एकताले पहिलो फिल्म दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित रहेको स्मरण गरिन्। उनका अनुसार त्यो फिल्म आफ्नो यौनिक स्वतन्त्रताका पक्षमा उभिँदा समाजको आलोचना खेपेकी महिलाको कथा थियो।
उनले सिल्क स्मितालाई आफूले कहिल्यै पीडित महिलाका रूपमा नहेरेको पनि बताएकी छन्। बरू आफ्नो स्वतन्त्रता र रोजाइलाई खुलेर स्वीकार गर्ने महिलाका रूपमा हेरेको उनको भनाइ छ।
एकताका अनुसार दोस्रो भाग पनि एक चर्चित व्यक्तिको जीवनकथामा केन्द्रित हुनेछ। तर, फिल्म कसको जीवनमा आधारित हुनेछ भन्ने उनले खुलाएकी छैनन्। यसबारे चाँडै ठूलो घोषणा हुन सक्ने संकेत भने गरेकी छन्। 'द डर्टी पिक्चर २' मा को-को कलाकार रहनेछन् भन्ने पनि सार्वजनिक भएको छैन। फिल्मका निर्देशक र प्रदर्शन मितिबारे समेत जानकारी दिइएको छैन।
'द डर्टी पिक्चर'मा विद्या बालन मुख्य भूमिकामा थिइन्। उनीसँगै नसिरूद्दीन शाह, इमरान हाशमी र तुषार कपूरको अभिनय थियो।
त्यसबेला फिल्मले राम्रो चर्चा र सफलता पाएको थियो।