बलिउड फिल्म 'दृश्यम ३' अभिनेता अजय देवगनको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
रिलिजको १० दिनमै भारतमा ३ सय करोड भारूभन्दा बढी कमाउँदै यो फिल्म अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।
भारतीय संचारमाध्यमहरूका अनुसार फिल्मले प्रदर्शनको दसौं दिनसम्म भारतमा ३०९.५० करोड भारू नेट कमाइ गरेको छ। यससँगै फिल्मले अजयका यसअघिका सफल फिल्म 'दृश्यम २' र 'तान्हाजी: द अनसङ वारियर'को कमाइलाई समेत उछिनेको छ।
सन् २०२० मा प्रदर्शन भएको 'तान्हाजी: द अनसङ वारियर'ले भारतमा २७९.५९ करोड भारू नेट कमाइ गरेको थियो। यो नै यसअघि अजयको करिअरमा सर्वाधिक कमाइ गर्ने फिल्म थियो। तर 'दृश्यम ३'ले नौ दिनमै उक्त कीर्तिमान तोडेको हो।
त्यस्तै, सन् २०२२ मा प्रदर्शन भएको 'दृश्यम २'ले भारतमा २३९.६७ करोड भारू नेट कमाइ गरेको थियो। तेस्रो भागले आठ दिनमै दोस्रो भागको कुल कमाइलाई पार गरेको हो।
'दृश्यम ३'ले प्रदर्शनको पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो। फिल्मले पहिलो दिन भारतमा ६६.७५ करोड भारू नेट कमाइ गरेको थियो। यो अजयको करिअरकै सबभन्दा ठूलो सुरूवाती कमाइ थियो। हिन्दी फिल्मको इतिहासमा समेत यो तेस्रो ठूलो सुरूआती कमाइ भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
फिल्मले दोस्रो दिन ५३.५० करोड, तेस्रो दिन ६१ करोड भारू कमाएको थियो। त्यसपछि साताको बीचमा व्यापार केही घटे पनि दोस्रो सप्ताहन्तमा पुनः बढेको हो। फिल्मले पहिलो सातामा नेट २४५.५० करोड भारू कमाएको थियो।
दोस्रो शनिबार २६.५० करोड भारू कमाएको फिल्मले आइतबार थप २३ करोड भारू कमाउँदै कुल कमाइ ३०९.५० करोड पुर्याएको हो। यो भारतभित्रको नेट कमाइ हो।
अभिषेक पाठक निर्देशित 'दृश्यम ३'मा अजय देवगन मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा तब्बु, श्रिया सरन, रजत कपुर, जयदीप अहलावत, प्रकाश राज, इशिता दत्ता, मृणाल जाधव, कमलेश सावन्तलगायतको अभिनय छ।
सन् २०१५ मा सुरू भएको हिन्दी 'दृश्यम' शृंखलाको यो तेस्रो तथा अन्तिम भाग हो। 'दृश्यम ३' नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।