बलिउड अभिनेता रणवीर कपूर अभिनीत बहुप्रतीक्षित फिल्म 'रामायण'लाई विश्वभर झन्डै ४० भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ। यो फिल्मलाई विश्वका विभिन्न भाषाका दर्शकमाझ पुर्याउन निर्माण पक्षले ठूलो योजना बनाएको हो।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मका निर्माता नमित मल्होत्रा र उनको टोलीले यसलाई भारतीय फिल्मकै सबभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनमध्ये एक बनाउने लक्ष्य राखेका छन्। फिल्मलाई विभिन्न भाषामा डबिङ गरेर प्रदर्शन गर्न लागिएको हो।
बलिउड हंगामाले व्यापारसम्बन्धी एक स्रोतलाई उद्धृत गर्दै फिल्मलाई विश्वभरका दर्शकले आफूले बुझ्ने भाषामा हेर्न सक्ने गरी तयारी भइरहेको जनाएको छ। यसले दर्शकलाई सबटाइटलमा निर्भर नभई आफ्नै भाषामा फिल्म हेर्ने अवसर दिनेछ।
स्रोतका अनुसार भारतीय फिल्मलाई यति धेरै भाषामा डब गरेर प्रदर्शन गर्न लागिएको यो पहिलोपटक हो। फिल्ममा प्रयोग गरिने भाषाहरूको पूर्ण सूची भने एक-दुई साताभित्र सार्वजनिक गरिने तयारी छ।
फिल्मलाई विश्वव्यापी दर्शकमाझ पुर्याउने योजनाअन्तर्गत निर्माण पक्षले यसअघि अमेरिकामा आयोजित सिनेमा उद्योगसम्बन्धी कार्यक्रम 'सिनेमाकन २०२६' र 'सान डिएगो कमिक-कन'मा पनि प्रचार गरेको थियो।
अन्तर्राष्ट्रिय वितरणका लागि सोनी पिक्चर्सलाई जोड्नु पनि निर्माण पक्षका लागि महत्वपूर्ण उपलब्धि भएको स्रोतले बताएको छ।
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर भगवान् रामको भूमिकामा द छन्। साई पल्लवी सीता, यश रावण, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा छन्।
नमित मल्होत्राले निर्माण गरेको यो फिल्म दुई भागमा तयार हुँदैछ। यसको पहिलो भाग सन् २०२६ नोभेम्बर ५ (कात्तिक १९)मा विश्वव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको छ। दोस्रो भाग भने सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने योजना छ।
झन्डै ४० भाषामा डब गरेर विश्वभर प्रदर्शन गर्ने तयारीले 'रामायण'लाई भारतीय फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने महत्वाकांक्षी परियोजनाका रूपमा समेत हेरिएको छ।