सफल फिल्मको सिक्वेल निर्माण गर्ने चलन नेपालीदेखि बलिउडसम्म छ। नेपालमा 'छक्का पञ्जा'को पाँचौं भागसम्म प्रदर्शन भइसकेको छ। 'कबड्डी'को पाँचौं भाग प्रदर्शनको तयारीमा छ।
तर बलिउडको सफल फिल्म 'दृश्यम'को यात्रा भने तेस्रो भागमै टुंगिने भएको छ। जबकि फिल्मले बक्स अफिसमा ५ सय करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ।
अजय देवगन अभिनीत 'दृश्यम ३: द कन्क्लुजन'ले प्रदर्शनको १२ दिनमै विश्वव्यापी रूपमा ५०१.८० करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। यो अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
यति ठूलो सफलतापछि दर्शकले यसको चौथो भागको अपेक्षा गर्नु स्वाभाविक हो। तर निर्देशक अभिषेक पाठकले भने 'दृश्यम ४' निर्माण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार एक अन्तर्वार्तामा निर्देशक पाठकले 'दृश्यम'को कथा तेस्रो भागमै पूरा भएको बताएका छन्। उनका अनुसार यो फिल्म दर्शकको मागकै आधारमा नयाँ भाग थप्दै जान सकिने किसिमको होइन। यसको सिक्वेल निर्माण कथामा निर्भर हुन्छ।
'हामी सबैलाई यो नै अन्तिम भाग हो भन्ने लाग्छ। दर्शकले फिल्म मन पराइरहेका छन्, यसको चर्चा गरिरहेका छन्। तर दृश्यम त्यस्तो फिल्म होइन, जसको अर्को भाग बनाउने निर्णय मात्रै गरेर पुग्छ,' उनले भनेका छन्।
निर्देशकका अनुसार तेस्रो भागमा कथालाई सुन्दर ढंगले टुंग्याइएको छ। त्यसैले व्यावसायिक सफलताकै कारण अर्को भाग बनाएर यसको अन्त्यलाई कमजोर बनाउन उनी चाहँदैनन्।
उनले धेरैले चौथो भाग बनाउन सुझाव दिइरहेको पनि बताएका छन्। चाहेमा कथालाई अझ अगाडि बढाउन सकिने भए पनि कुनै न कुनै बिन्दुमा रोकिनुपर्ने उनको भनाइ छ।
'कुनै न कुनै बिन्दुमा हामीले रोकिनैपथ्र्यो। यो फिल्मको यात्रालाई टुंग्याउने सुन्दर अवसर थियो,' उनले भनेका छन्।
अक्टोबर २ देखि प्रदर्शनमा आएको यो क्राइम थ्रिलरमा अजय देवगनसँगै तब्बु, श्रिया सरन, जयदीप अहलावतलगायत कलाकारको अभिनय छ।
'दृश्यम ३' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।