बलिउड अभिनेता सलमान खानले आफ्नो जीवनमाथि बायोपिक फिल्म नबन्ने बताएका छन्। आफ्नो जीवनका कथा आफूले मृत्युसम्म गोप्य राख्ने उनको भनाइ छ।
करण जोहरले सञ्चालन गर्ने चर्चित टक शो 'कफी विथ करण'को नवौं सिजनमा सलमानले यस्तो बताएका हुन्।
कार्यक्रममा अभिनेत्री करिश्मा कपूरले सलमानलाई उनको जीवनमाथि फिल्म बनाउने हो भने कुन निर्देशकलाई रोज्ने भनेर सोधेकी थिइन्।
यसको जबाफमा सलमानले हास्यप्रधान फिल्मका लागि डेभिड धवन, परम्परागत दुःखान्त प्रेमकथाका लागि सञ्जय लीला भन्साली र प्रेमकथाका लागि सूरज बडजात्याको नाम लिए। त्यस्तै, एक्सन र प्रेम मिसिएको कथा बनाउनुपरे कबीर खान उपयुक्त हुने उनले बताए। तर, आफ्नो जीवनमाथि बायोपिक बन्ने सम्भावनालाई भने सलमानले अस्वीकार गरे।
'मेरो जीवनमाथि बायोपिक कहिल्यै बन्ने छैन। मेरो जीवनका कथा मसँगै चिहानसम्म जानेछन्,' उनले भने।
कार्यक्रममा सलमानले आफ्नो प्रेमजीवनलाई नीजि राख्न चाहेको विषयमा पनि कुरा गरेका थिए। आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा धेरै कुरा गर्न नचाहने उनको भनाइ थियो।
त्यस्तै, भविष्यमा आफूले सन्तान चाहेको पनि उनले बताएका छन्।
कामको कुरा गर्दा सलमान अब वार ड्रामा 'मातृभूमि' र एक्सन थ्रिलर 'मोन्स्टर' मा देखिनेछन्। उनी हाल रियालिटी शो 'बिग बोस २०' को होस्ट पनि गरिरहेका छन्।