कवि ठाकुर बेलवासेको नयाँ कविताकृति 'चोटहरूको उत्सव पढ्नु' उसका लागि खासमा 'चोटहरूको उत्सव' मात्र पढ्नु थियो।
साँच्चै भनूँ! त्यो पनि बाँकी थिएन। ठाकुरले कृतिका लागि तीनवटा नाम अघि सारेका थिए। उनले सुनाइसक्दा उसले 'चोटहरूको उत्सव' अनुमोदन गरेको थियो।
पढ्नुभन्दा बढी त हेर्नु नै थियो।
ऊ कवि होइन, कविता उसले साह्रै कम पढ्ने विधा हो, त्यसमा पनि गद्य कविता। ऊ न कविता जान्दछ, न थाहा पाउँछ, तैपनि ठाकुर उसलाई कविता सुनाउँछन् र सोध्छन्– कस्तो लाग्यो?
कस्तो लाग्यो भन्नु!
एकै सासमा भनिदिन्छ, 'राम्रो लाग्यो।'
'राम्रो लाग्यो भनेर मात्रै हुन्छ? के चाहिँ राम्रो लाग्यो?'
उसले राम्रो लाग्यो भनिदिएर मात्र हुँदैन, राम्रो लागेको चाहिँ के हो त्यो पनि नभनी धरै हुँदैन।
उसले ठाकुरका कविताकृति 'सागरको वरिपरि मनहरूको समारोह' देखि 'अचानक यो साँझ' र 'त्रासमा ईश्वर' हुँदै 'चोटहरूको उत्सव' सम्म पढेको छ।
खासमा 'सागरको वरिपरि मनहरूको समारोह' बाहेक तीनवटा कृतिका सबैजसो कविता ठाकुरले संग्रह बन्नुअघि नै उसलाई पढाएका हुन्। उसलाई कविता पढाउनु अघि सुनाउँछन्, अनि पढाउँछन्।
'सागरको वरिपरि मनहरूको समारोह' उसले किनेरै पढेको थियो। त्यो समय ऊ ठाकुरलाई राजाचिनाइ चिन्थ्यो।
एक दिन उसले काठमाडौंमा मीनभवनतिरको सडकपेटीमा राजा देख्यो। शरीरले ऊभन्दा होचो कदका ती राजाको पाखुरामा आँट गरेर च्याप्प समायो र सोध्यो, 'तपाईं कवि ठाकुर बेलवासे होइन?'
झस्के जसरी जबाफ दिए, 'हो...।'
थप के भन्न चाहन्थे कुन्नि! उसैले उछिन्यो, 'सागरको वरिपरि मनहरूको समारोह भन्ने तपाईंको कविता संग्रह पढेँ, मज्जा आयो, खुब मनपर्यो तर केही पनि बुझिनँ।'
'हो र! बुझ्दै नबुझिने लेखेछु!'
'मैले नबुझेर के हुन्छ! कविता मनपर्यो!'
ठाकुर अलिक उज्याला देखिए अनि भने, 'तपाईंले मेरा कविता पढ्नुभएछ, मन पराउनुभएछ, परिचय पाऊँ न।'
उसले राजालाई परिचय टक्र्यायो।
त्यसपछि ठाकुरले उसलाई सधैं प्रेम गरे। प्रेमले कविता सुनाए। प्रेमपूर्वक कविता सुन्ने र पढ्ने धैर्य रोपिदिए।
अक्सर फोन गरेर सोध्छन्, 'दाइ, कता हुनुहुन्छ? आज एकछिन भेटौं न।'
'किन?'
'यत्तिकै के!'
ठाकुरले 'यत्तिकै के' भन्नुको अर्थ कविता सुनाउन हो, आजसम्म फरक परेकै छैन। संयोग पनि कस्तो परेको छ भने अपवादबाहेक त्यस दिनभरिमा भेट जुरेकै छ। पक्का छ, ठाकुरले आज एक कप चियामा कम्तीमा एउटा नयाँ कविता सुनाउने छन्।
चोटहरूको उत्सव पढ्दै थिएँ;
मान्छेले जिन्दगीमा
बोल्नका लागि नयाँ साथी भेट्न सक्ला
बस्नका लागि नयाँ घर किन्न सक्ला
जोड्न सक्ला सम्पत्ति
अनि बन्ला रातारात कुबेर
मन बुझ्ने आफ्नैजस्तो मन
कहाँ किन्न सक्छ मान्छेले!
तब न ऊ धैर्यले ठाकुरका कविता सुन्छ! तब न मेसेन्जरमै पढिसक्छ!
अस्ति मातृऔंसीका दिन एकाबिहानै मेसेन्जरमा 'आमा र दुःख' पठाए, पढाए र मन एकतमासको बनाइदिए।
कविता सुनेर, पढेर 'राम्रो लाग्यो' भनेर मात्र उसले धर पाउँदैन।
ठाकुर जोड गर्छन्, 'राम्रो लाग्यो भनेर मात्रै हुन्छ? के चाहिँ राम्रो लाग्यो?'
केही वर्षयता उसले फ्याट्टै भन्ने गरेको छ, 'विम्ब र प्रतीक।'
ठाकुर समकालीन नेपाली गद्य कवितामा विम्ब र प्रतीकका प्रतीक हुन्। साँच्चै भनूँ, उनी कवितामा विम्ब र प्रतीकका खेलाडी हुन्, सधैंका विजयी खेलाडी।
चोटहरूको उत्सव ठाकुरको चौथो कविताकृति मात्रै होइन, चोटिला विम्बहरूको संग्रह हो। उनको कवितायात्राको करिब पच्चीस वर्षमा झन् झरिलो, झन् खिरिलो हुँदै गएका विम्बशक्तिको अकाट्य प्रमाण हो।
मान्छे भएर बाँच्नुको मूल्य र मानवता विध्वंशको गर्तमा विलीन हुँदै जाँदा चोटहरूको उत्सव उद्घाटनमै ढुंगाहरू भावुक बनेर जीवनको अर्थ खोज्छन्।
बादलका झुन्डहरू
तँछाडमछाड गर्दै
गुलाफका गुच्छाहरू
घामलाई दिइरहेका छन्
धर्तीमा धुलो पनि
छमछम्ती नाचिरहेको छ
मान्छेको कामनामा
ढुंगाहरू भावुक बनेर
जीवनको अर्थ खोजिरहेछन्।
मान्छेलाई त्याग केले सिकाउँछ? ठाकुरको ठहर छ, प्रेमले सिकाउँछ। प्रेमबाहेक अरू कुनैमा पनि त्याग सिकाउने सामर्थ्य छैन।
तिमीलाई प्रेम गरेपछि त हो
मैलै जीवनमा
रूँदारूँदै हाँस्न सिकेको
हाँस्दाहाँस्दै जीवन त्याग्न जानेको!
हिमाल किन अग्लो छ? घाम किन उज्यालो छ? ठाकुरको फैसला छ, किनभने यो प्रकृति नै प्रेमले भरिभराउ छ;
हिमाललाई अग्लिन
आकाशलाई फैलिन
ताराहरूलाई लजाएर अँध्यारोमा हाँस्न
घामलाई प्रेमगीत गाउँदै उज्यालो पोख्न
जूनलाई प्रेमराग सिर्जना गर्दै
शीतहरूमा पोखिन
प्रेमले नै सिकाएको हो।
दुनियाँ अडेको र बाँचेको छ त प्रेमले नै। सौन्दर्य कतै छ भने त्यो पनि प्रेममै छ। अनि प्रेम शक्तिशाली भएर ब्रह्माण्डमा फैलिन्छ;
तिम्रो हिँडाइको संगीतमा
झरना, खोला या नदी नाच्न थाल्छन्
तिमीले आँखा झिम्क्याउँदा
ताराहरू लाजले भुतुक्कै हुन्छन्
र अँध्यारोमा पसेर आफै निचोरिन्छन्।
मान्छेले सामान्यर्थमा बुझ्ने मायाप्रेम केले कसिलो बनाउँछ; मनले? तनले? धनले? मान्छे हुनुको मूल्यमान्यताले? हृदयले? ठाकुरको खोजी जारी छ;
म प्रेमको त्यो रूप खोज्ने हिँडेँ अब
जसको स्पर्शले
बग्दै गरेका आँखाहरू
अनुहारमै अडिन सकून्
अनि देख्न सकून् मायाको शालीन रूप
ओठमा बेवारिसे बनेको हाँसोलाई
प्रेमको चुम्बनले सम्हाल्न सकोस्
अनि आविष्कार गर्न सकोस् मायाको विशाल संसार
माया, माया र माया; प्रेम, प्रेम र प्रेम; यो मायाप्रेमको स्रोत के हो हँ? चोटहरूको उत्सवमा सिधा जबाफ भेटिन्छ– जननी, स्त्री।
जननी छिन्, स्त्री छिन्, सिर्जना छ। माया छ, प्रेम छ। मायाप्रेमको खुसी छ, हाँसो छ र स्मृतिपुञ्ज छ। तब पो यो संसार छ।
प्रेम सधैं सुखदै सुखद छ? प्रेमको स्मृतिपुञ्ज मात्रै छ मान्छेसँग? यो अंश पढिहेरूँ त;
प्रेम बाँड्ने त हो
बाँडिरहेँ
के जान्छ माया बाँड्दा
बाँडिरहें
प्रेमसँगै
मन
मुटु
हाँसो
सुदूर दृष्टि
सबैसबै जाँदो रहेछ
सट्टामा
गानिएको पिलोजस्तो
सम्झना बसिरहँदोरहेछ
मनमा।
प्रेमका एक होइन अनेक आयामहरूमा फैलिएको छ चोटहरूको उत्सव। यही उत्सवमा अग्लिएको अग्लिएकै छ ठाकुरको कविकद।
चोटहरूको पनि उत्सव हुन्छ कतै? हुँदो रहेछ नि! कवि ठाकुर बेलवासेको नयाँ कविताकृति 'चोटहरूको उत्सव' मनैबाट पढिहेर्नू त!

***
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)