जीवनपथका उकाली ओराली
भाग्यले लेखिदिए पनि
ती भय होइन,
नवयात्राको निमन्त्रणा हो।
दुःख–विपत्तिको सुख्खा पहाड
शत्रुजस्तै कठोर लागे पनि
तिनकै गर्भमा नयाँ अवसरको
अमोल बीउ लुकेको हुन्छ ।
जीवनको चुनौतीलाई विचलित नभई
पाठका पानामा रूपान्तरण गर्ने
जो मन हुन्छ
त्यही मन भवितव्यका द्वार
स्वयम् खोल्न सक्षम हुन्छ।
आजको वेदनाले
भोलिको तेज र तप बनाउँछ
धैर्य, सहनशीलता र संकल्पले
पुनः ढुङ्गाजस्तै दृढ उभ्याउँछ।
सकारात्मक दृष्टिको दीप लिएर
जब चुनौतीको अनुहार हेर्छौँ
त्यो शूल होइन—
मार्गदर्शक पुष्प बनेर फुल्छ।
स्मरण रहोस्—
जुन अन्धकारलाई हामी भय मान्छौँ
त्यहीबाट प्रभातको प्रथम किरण जन्मन्छ
जुन पीडालाई दुर्भाग्य भन्छौँ
त्यहीबाट आत्मबलको महान् स्रोत खुल्छ।
चुनौती कुनै वधस्तम्भ होइन
जीवनलाई शिखरतिर उचाल्ने
शाश्वत सिँढी हो—
जसलाई चढ्ने साहस गर्नेहरू
इतिहासमा गर्भ गर्न लायक पात्र बन्छन्।