आज खासै केही बदलिएको थिएन
तर मनले भने हल्का चिसो अनुभूति गरेँ
मानौँ धेरै टाढा कतै—
तिमीले मेरो नाम एकछिन सम्झिएर फेरि भुल्यौ जस्तै।
बिहानको हावा चल्यो
तर त्यसले तिम्रो सुगन्ध बोक्न मानेन
सायद अब त्यो सुगन्ध पनि
तिमीले अरूकै लागि जतन गरी राखेकी छ्यौ होला।
सहर एउटै बाटो एउटै
तर हाम्रा पैतलाहरू मोडिए फरक–फरक मोडमा
मेरो आँखामा सपना झैँ तिमी उस्तै चम्कन्छ्यौ
तर तिमी भने अब अरू कसैका अघिल्तिर
झलमलाउँछ्यौ वास्तविकता सरि।
र म?
म त अझै पनि त्यो पुरानै झ्यालमा
तिमी आउँछौ भनी अडेस लागेर बसिरहेको छु
तिमीलाई देख्न आसमा
तिमीले त्यो बाटो हिँड्न छोडेको पनि थाहा छ
तर न मर्छ आशा, न सक्छु तिमीलाई बिर्सिन!