समाजको असली रूप हेर्ने र बुझ्ने हो भने पब्लिक (सार्वजनिक) बस चढ्नू भन्ने भनाइ छ।
चालक तथा सहचालकहरूको बोली–व्यवहार, यात्रु र सहचालकबीच भाडा दरमा किचकिच, यात्रुहरूको चर्को चर्को फोन वार्ता र अनावश्यक कुराकानी, लैंगिक हिसाबले असहज लाग्ने बोली तथा व्यवहार, कोचाकोच, चर्को गीत— यी इत्यादिले पब्लिक बसको यात्रा असहज बनाउँछ।
यसले समाज र मान्छेहरूको चेतना, इमानदारिता, नैतिकता र सभ्यताको तह मापन गर्छ।
लामो दुरीको बस चढ्दा धेरैलाई तनाव हुने गर्छ। सिट पाउने हो कि होइन? कस्तो मान्छे साइटमा पर्ने हो? गाडी कतै बिग्रेला कि? कस्तो ठाउँमा खाना–नास्ता खुवाउला? समयमा गन्तव्य पुग्ला कि होइन? विशेषगरी महिलाहरूलाई त शारीरिक तथा यौनजन्य हिंसा हुने हो कि जस्ता कुराले तनाव सिर्जना गरिरहेको हुन्छ।
चाडपर्व (विशेषगरी दसैं) बेलामा पब्लिक बसको यात्रामा थप तनाव थपिन्छ। यो समयको बसमा भिडभाड अधिक हुन्छ। विधि–नियम कानुनको उल्लंघन हुन्छ। मनपरी तन्त्र सुरू हुन्छ। व्यावसायिक इमानदारिता शून्य जस्तै हुन्छ। यातायात व्यवसायमा ठगी र कालोबजारी बढ्छ। कृत्रिम अभाव सिर्जना गरिन्छ। नियमन निकायहरू बिक्छन् या आँखा चिम्लिन्छन्।
यही वर्षको असोज १० गते बिहान ७:३० बजे दसैं बिदामा घर जान गोंगबु बसपार्क पुगेँ। पोखरा जाने बस नै छैन भने।
एउटा मात्र बस रहेछ—अन्तिम बस भने। म चढेको माइक्रो बसले गोंगबु बसपार्कबाट २४ जना यात्रु चढायो। कोचाकोच गरेर मान्छे हालेर माइक्रो बस चल्यो।
नागढुंगामा प्रहरीले चेकिङ गरेझैं गर्यो। जनपथ र ट्राफिक प्रहरीले 'कति जना यात्रु छन्?' भने मात्र। माइक्रो बसले विवरण पनि टिपिएन।
जेनजी आन्दोलनबखत प्रहरी र प्रहरी चौकीहरूमा व्यापक आगजनी गरिएको थियो। खस्किएको प्रहरीको मनोबल स्पष्टसँग देखिन्थ्यो। प्रहरीको मनोबल देख्दा मन खिन्न भयो।
नामै मात्रको प्रहरी चेकिङपछि ड्राइभर खुसी भए। ड्राइभरले ३ प्याकेट 'भोला' किन्न लगाए। ड्राइभर र दुई जना सहयोगी मख्ख थिए। उनीहरूले सोचे होलान्— सधैं यस्तै भए हुन्थ्यो, सधैं दसैं आए हुन्थ्यो।
त्यो उनीहरूको मुहारमा स्पष्ट झल्किन्थ्यो।
माइक्रो बस नागढुंगाको ओरालो झर्दै थियो।
एक्कासि मनमा अनियन्त्रित रूपमा मनोसंवाद चल्यो — देशमा सुशासन स्थापना गर्ने जिम्मेवारी नेता, राजनीतिक दल, सेना–प्रहरी र कर्मचारीको मात्र हो र? राज्यका सबै अंगहरूको जिम्मेवारी र भूमिका छैन? सुशासन स्थापना र प्रत्याभूति गर्ने जिम्मेवारी सबैको हुँदैन र? राज्यभित्र नागरिक पनि पर्दैन र? यस्तै–यस्तै मनोसंवाद जोडले खेल्दै थियो।
नौबिसे नजिक पुगेपछि भाडा उठाउन थाले। बस चढ्ने बित्तिकै एक–एक हजार रूपैयाँ भाडा भने। अरू बेला भाडा ७८० रूपैयाँ छ। सबैले एक–एक हजार रूपैयाँका दरले भाडा दिन थाले। मैले पनि दिएँ।
डुम्रे, दमौली, खैरेनीसम्मको भाडा पनि एक हजार रूपैयाँ नै भनेपछि एक जना महिलाले आवाज उठाइन्। उनीसँग तीन जना किशोरहरू समेत यात्रा गरिरहेका थिए। उनका दुई छोरा र एक जना दाइको छोरा रहेछन्। ती किशोरहरू १५/१६ वर्षका थिए। ६ सय रूपैयाँ भाडा दर रहेको दमौलीसम्मको यात्रामा एक हजार रूपैयाँ नतिर्ने भनिन्। पुलिसलाई फोन गर्ने भनिन्।
चालक र उनका सहयोगीले 'पुलिस–सुलिस जसलाई फोन गर्ने हो गर, हामीलाई फरक पर्दैन' भनेर धम्काए।
उनीहरूलाई थाहा थियो — प्रहरी प्रशासन घाइते अवस्थामा छ।
महिलाले पनि कडा रूपले बढी भाडा नतिर्ने भनी अड्डी कसिन्। ड्राइभर रिसाएर गाडी जथाभाबी चलाए। झ्याप्प ब्रेक हाने। ड्राइभर सिटबाट झरेर झगडा गर्न आए। ती महिला पनि टसमस भइनन्। वाद–विवाद भयो, झगडा भयो।
व्यावसायिक इमानदारिता पालना नगर्ने गाडीवालाहरू त मुख छाड्न खप्पिस थिए नै, ती महिलाले पनि मुख सम्हाल्न सकिनन्। गाडी रोकियो।
बस अगाडि नबढ्ने भनेर अड्डी कसे। लगभग २०/३० मिनेट गाडी रोकियो।
केही यात्रुले बस चलाउन अनुरोध गरे तर ड्राइभरले मानेनन्। महिलाको कुरामा साथ दिऊँ भने ड्राइभर रिसाउने अवस्था थियो। ड्राइभरको पक्षमा बोल्न मन–मस्तिष्कले दिएन।
तसर्थ, म बोलिनँ। उपयुक्त अवस्था र समय पनि थिएन। ज्यानको माया सबैलाई हुन्छ। त्यो ड्राइभरलाई पनि हुन्छ। तर रिस र आवेगमा दुर्घटना भयो भने त सकिन्छ। थप माहोल बिगार्न मन लागेन। मौन बस्दा उत्तम सम्झे।
अरूले पनि त्यही बुझेछन् क्यार, सामाजिक न्यायको आवाज जोडदारसँग उठेन। सबैसँग बोल्ने सामर्थ्य थियो, तर बाहिर आएन।
सबै यात्रुहरूको मानसिकता यसरी तयार भएको थियो कि दसैंको मुखमा दुई/चार सय रूपैयाँ बढी भाडा तिर्नुपर्छ। साधारण अवस्थामा बढी भाडा असुलेकामा उजुरी दिँदा पनि सुनुवाइ नहुने प्रशासनिक संयन्त्रमा यो वर्ष नियमन, कारबाही, सुनुवाइ हुने अवस्था नै छैन।
निरन्तर २०/३० मिनेटको वादविवादपछि ती महिला रिसले एक हजार रूपैयाँका दरले चार हजार रूपैयाँ हुर्र्याइन्। ड्राइभर सन्कियो। फेरि मुख छोडाछोड भयो। ड्राइभरले जथाभाबी गाडी चलायो। दुवै जना आगो आगो भए। सबै यात्रु डराए।
त्यस बखत एक जना युवतीले ती महिलातर्फ हेर्दै जोडले भनी, 'आन्टी, यो गाडी एक्सिडेन्ट भए के गर्नुहुन्छ?'
तब मात्र ती महिला बोल्न छाडिन्। ड्राइभर पनि बोल्न छाड्यो। मनको त्रास अलि कम भयो।
ड्राइभरको मनसाय यात्रुले ती महिलालाई केही भनोस् भन्ने रहेछ, 'जाबो दुई सय थप्नुस्, दसैंका बेलामा।'
त्यसैगरी, ती महिलालाई अरू यात्रुले आवाजमा साथ दिऊन् भन्ने रहेछ। विषय सुशासनको थियो। अझै भन्ने हो भने सत्य र असत्यको लडाइँ थियो। तर जित असत्यकै भयो।
कमजोर र असफल राज्य व्यवस्थामा नागरिकहरू यसैगरी परिवन्दमा पर्छन् र पारिन्छन् जसको प्रत्यक्ष असर गरिबहरूलाई पर्न सक्छ। कमजोर राज्य व्यवस्थामा आम नागरिक ठगिन्छन् र पुँजीपति दलालहरू मोटाउँछन्।
बढी भाडा असुल्नु भ्रष्टाचार हो। सिट क्षमताभन्दा बढी यात्रु चढाउनु पनि भ्रष्टाचार हो। यसको अर्थ यो होइन कि नेपालमा यातायात व्यवसायी तथा चालक–सहचालकहरूले मात्र नियम, कानुन मिचेका छन्। यो क्षेत्र मात्र अनियमिता, बेथिति र भ्रष्टाचारले ग्रस्त छ। सबैजसो क्षेत्र तथा कार्यालयमा संस्थागत भ्रष्टाचार हुने गरेको छ।
त्रासपूर्ण यात्रा अवधिभर धर्मसंकटमा परेँ।
मनले मनलाई धेरै प्रश्न गरिरह्यो — सभ्य र न्यायोचित नेपाली समाज कहिले र कसरी बन्छ?
नेपालीहरूको आनीबानी र व्यवहारमा कहिले परिवर्तन आउँछ? नेपाल कहिले बच्छ? नेपालबाट भ्रष्टाचार कहिले अन्त्य हुन्छ? कसरी अन्त्य हुन्छ?