वरिष्ठ गायिका मीरा राणा आफ्नो जीवनकै अन्तिम एकल सांगीतिक साँझमा प्रस्तुत हुने भएकी छन्।
क्यान्सरलाई जितेकी ७५ वर्षीया मीरा आगामी असोज ४ गते आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा एकल सांगीतिक साँझमा प्रस्तुत हुन लागेकी हुन्। कार्यक्रमको नाम 'मीरा राणा एकल सांगीतिक साँझ' राखिएको छ।
क्यान्सरसँगको संघर्षपछि त्यसलाई जिते पनि सोही रोगका कारण पति उदयजंग राणालाई गुमाएकी मीराले क्यान्सरपीडितको सहयोगका लागि 'मीरा राणा क्यान्सर समाज' स्थापना गरेकी छन्। सोही संस्थाको कोष वृद्धि गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आफ्नो जीवनकै अन्तिम कार्यक्रमका रूपमा एकल सांगीतिक साँझ आयोजना गर्न लागेको उनले बताइन्।
कार्यक्रममा मीराले गाएका तथा संगीत भरेका करिब दुई दर्जन गीत विभिन्न गायक-गायिकाले आ-आफ्नै शैलीमा प्रस्तुत गर्नेछन्।
कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, तारा थापा, संगीता थापा शाक्य, निशा देशार, रूपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा र युनिशा देशारलगायतको प्रस्तुति रहनेछ। मीरा राणा स्वयंले पनि आफ्ना गीत प्रस्तुत गर्नेछिन्। कार्यक्रमको म्युजिक कन्डक्टर मनोहर सुनाम रहनेछन्।
सांगीतिक साँझमा मीराले स्वरसम्राट नारायणगोपालसँग गाएका 'तिमी देऊ या नदेऊ', 'मेरो जोवन लैजाऊ', 'आँखैमा कसैको तस्बिर बसेछ' र 'बैनीको दया छ भने' जस्ता गीत प्रस्तुत गरिनेछन्।
त्यस्तै शम्भुजीत बासकोटासँग गाएको 'नाच्देऊ मैच्याङ' र 'सिन्धुपाल्चोक जिल्लामा', कुमार बस्नेतसँगको 'मादल घनघन घन्काउँ कि' तथा 'लेक फुल्यो लालीगुराँस' पनि कार्यक्रममा समेटिनेछन्।
मीराका चर्चित एकल गीत 'मखमली चोलो चाहिँदैन', 'मात चढेको साँझ', 'नशालु रात', 'मेरो पाउमा आज', 'साम्द सदा शिव', 'बिर्सिएर मैले फेरि', 'आजसम्म जसरी बाँचेर आएँ' र 'मेरो फूललाई वसन्त भयो' लगायतका गीत पनि प्रस्तुत गरिने आयोजक मीरा राणा क्यान्सर समाजले जनाएको छ।