गायिका एलिना चौहानले विष्णु माझीसँग आफ्नो तुलना नगर्न आग्रह गरेकी छन्।
यस वर्षका तीज गीतमध्ये विष्णु माझीको 'घरबार' र एलिना चौहानको 'नौरती फूली' युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने गीत बनेका छन्।
दुवै गीतको भ्युजलाई लिएर सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले दुई गायिकाबीच प्रतिस्पर्धाका रूपमा टिप्पणी गरेपछि एलिनाले यस्तो तुलना आवश्यक नरहेको बताएकी हुन्।
'भ्युज मेरो लागि केवल एउटा नम्बर हो। विष्णु माझीजस्तो महान् कलाकारसँग मेरो तुलना गरेर मलाई त्यति माथि नपुर्याइदिनुस् न हौ,' बुधबार एलिनाले फेसबुकमा लेखेकी छन्, 'उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ, मेरो गीतको आफ्नै यात्रा छ। उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन, तुलनाको पनि आवश्यकता छैन।'
उनले आफूलाई आफ्नो गीत र सांगीतिक यात्राका लागि माया गरिदिन आग्रह गर्दै दर्शक-श्रोताप्रति आभारसमेत व्यक्त गरेकी छन्।
'मलाई मेरो गीतका लागि, मेरो यात्राका लागि माया गरिदिनुस्। मेरो गीतलाई यति धेरै माया गरिदिनुभएकोमा म गर्व गर्छु, मनदेखि आभारी छु,' उनले लेखेकी छन्।
युट्युब भ्युजको कुरा गर्दा बुधबारसम्म विष्णु माझीको 'घरबार'लाई एक करोड २१ लाखभन्दा बढी पटक हेरिएको छ। सेप्टेम्बर २ मा सार्वजनिक भएको यो गीतले दुई साताको छोटो समयमै करोड क्लब पार गरेको हो।
एलिना चौहानको 'नौरती फूली'ले भने एक करोड १९ लाखभन्दा बढी भ्युज पाएको छ। जुलाई १७ मा सार्वजनिक भएको यो गीत यस वर्ष करोड क्लबमा पुग्ने पहिलो तीज गीत बनेको थियो। त्यसपछि 'घरबार'ले पनि एक करोडभन्दा बढी भ्युज पाएको हो।
भोटेकोशी बाढी र त्यसले सिर्जना गरेको विपद्को परिस्थितिबीच विष्णु माझी र चौहान चौहानका यी दुई गीतले युट्युबमा करोडभन्दा बढी भ्युज पाएका हुन्।
यस वर्ष सार्वजनिक अन्य तीज गीतले भने एक करोड भ्युजको आँकडा पार गर्न सकेका छैनन्।