तपाईं कुन चाहिँ सामाजिक सञ्जाल चलाउनुहुन्छ?
कति वटा चलाउनुहुन्छ?
फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब, भाइबर, ह्वाट्सएप, थ्रेड्स, वि-च्याट, रेडिट, लिङ्क्डइन आदि सबै कि केही?
वा यीभन्दा अरू कुनै?
तपाईं जुनसुकै र जतिसुकै सामाजिक सञ्जालहरूको प्रयोग गर्नुहोस् मूल प्रश्न चाहिँ यी अनेकौँ प्लेटफर्महरूले हामीलाई कति सामाजिक बनाएका छन् र के सिकाएका छन् भन्ने हो।
तथ्याङ्कका आधारमा हेर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको संख्या ह्वात्तै बढेको छ। २०७८ को पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ। जसमध्ये १५ देखि ५९ वर्ष सम्मको सक्रिय जनसंख्या ६१.९६ प्रतिशत रहेको छ। यो सक्रिय समूह मोबाइल फोनको प्रयोगमा पनि सक्रिय समूह हो।
डाटा रिपोर्टलको तथ्यांकअनुसार सन् २०२४ को सुरुवातमा नेपालमा जम्मा ३७.४७ मिलियन (३ करोड ७४ लाख ७० हजार) मोबाइल फोनका सक्रिय कनेक्सन रहेका थिए, जुन संख्या कुल जनसंख्याको १२०.६ प्रतिशत बराबर हुन्छ। स्मार्ट मोबाइल फोनको प्रयोग हेर्ने हो भने २०७८ को जनगणनाअनुसार नेपालमा बसोबास गर्ने करिब ७३ प्रतिशत व्यक्तिहरू स्मार्ट मोबाइल फोन प्रयोग गर्छन्।
स्मार्ट मोबाइल फोन प्रयोग गर्ने मानिसहरूले प्रायः इन्टरनेट र सामाजिक सञ्जालहरूको पनि प्रयोग गर्न सक्ने सहजता हुन्छ। यसको अर्थ सबै स्मार्ट मोबाइल फोन प्रयोगकर्ताहरूले इन्टरनेट र सामाजिक सञ्जालहरूको प्रयोग भने गर्दैनन्। डाटा रिपोर्टलकै तथ्यांकअनुसार नेपालमा ५६.८ प्रतिशत मानिसहरूले इन्टरनेट प्रयोग गर्दछन् भने ४८.१ प्रतिशत मानिसहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरू प्रयोग गर्ने गरेका छन्। इन्टरनेटको पहुँच र प्रयोग धेरै मध्यमबाट हुन सक्ने हुँदा डाटाबेस र अनुसन्धानबाट प्राप्त तथ्याङ्कभन्दा यथार्थमा इन्टरनेटको रियल टाइम पहुँच र प्रयोग त्योभन्दा पनि बढी रहेको अनुमान गर्न सकिन्छ।
भौगोलिक सुगमता, साक्षरता र उमेर समूहअनुसार इन्टरनेटमार्फत सामाजिक सञ्जालहरू प्रयोग गर्ने मानिसहरूको संख्या फरक हुन सक्दछ। सहर बजार र इन्टरनेट पहुँच भएका स्थानहरूका सामान्य साक्षरदेखि प्रायः सबै मानिसहरू कुनै न कुनै सामाजिक सञ्जालहरू प्रयोग गर्दछन्। यसरी हेर्दा नेपालको झन्डै ५० प्रतिशत सक्रिय जनसंख्या सामाजिक सञ्जालहरूको प्रत्यक्ष प्रयोगमा संलग्न भएको देखिन्छ।
यी प्रयोगकर्ताहरूमा साना केटाकेटीहरू र ज्येष्ठ नागरिकहरूको संख्या न्यून भए पनि आम रूपमा सक्रिय मानिसहरूको दैनिक केही समय सामाजिक सञ्जाल प्रयोगमा खर्च भइरहेको छ। सेन्टर फर मिडिया रिसर्च नेपालको सन् २०२२ को अध्ययनअनुसार दैनिक रूपमा करिब पाँचमध्ये दुईभन्दा बढी प्रयोगकर्ताले एकदेखि दुई घण्टासम्म सामाजिक सञ्जालमा समय बिताउँछन् भने ३९ प्रतिशत प्रयोगकर्ताले दैनिक तीनदेखि छ घण्टासम्म प्रयोग गर्छन्।
करिब ५.७ प्रतिशतले दैनिक एक घण्टाभन्दा कम समय मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने बताएका छन् भने १३.१ प्रतिशतले दैनिक छ घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने बताएका छन्। त्यस्तै, करिब पाँचमध्ये दुई प्रयोगकर्ताले कार्यालय समयबाहेक बिहान, बेलुकी वा रातमा सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको देखिन्छ भने ३.७ प्रतिशतले मात्र कार्यालय समयमै सामाजिक सञ्जाल प्रयोग गर्ने बताएका छन्।
नेपालको कुल जनसंख्याको ५० प्रतिशत जनसंख्याले दैनिक सरदर १ घण्टा सामाजिक सञ्जाल प्रयोग गर्दछन् भनेर मान्ने हो भने दैनिक रूपमा जम्मा एक करोड ४५ लाख ८२ हजार २८९ घण्टा समय खर्च भइरहेको हुन्छ। यो समयलाई दिनमा रूपान्तरण गर्दा करिब ६ लाख सात हजार ५९५ दिन हुन्छ भने वर्षमा रूपान्तरण गर्दा करिब १६ सय ६५ वर्ष हुन्छ। यसको अर्थ नेपालमा आधा जनसंख्याले मात्र दैनिक एक घण्टा सामाजिक सञ्जाल प्रयोग गर्दा पनि खर्च हुने हाम्रो कुल समय एउटा युग नै हुन्छ। हामी सबै मिलेर प्रत्येक दिन सामाजिक संजालमा एउटा युग बिताएका छौँ।
त्यसको प्रतिफल स्वरूप अनि के के पाएका छौँ त?
पहिलो त कतिपय नेपालीको नियमित आम्दानीको श्रोत नै हुन् सामाजिक सञ्जालहरू। नेपालमा सामाजिक सञ्जालबाट नियमित रूपमा आम्दानी गर्ने व्यक्तिहरूको संख्या यकिन नभए पनि करिब १० देखि १५ लाख मानिसहरूले कुनै न कुनै रूपमा सामाजिक सञ्जालहरूको प्रयोगबाट नियमित आम्दानी गरिरहेको हुनसक्ने अनुमान गरिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आव. २०८१/८२ को पहिलो नौ महिनाभित्र फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालमार्फत २.२३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको विवरणहरू प्रकाशित भएका थिए।
आर्थिक उपार्जनको अलावा सामाजिक सञ्जालहरूको अरू धेरै फाइदाहरू छन्। सहज र द्रुत अन्तर वैयक्तिक सञ्चार, सूचना तथा ज्ञान आदानप्रदान, पहिचान, प्रसिद्धि, शैक्षिक सहयोग, प्रतिभा प्रदर्शन, सामाजिक सचेतना र अभियान, मनोरञ्जन, अन्तर्राष्ट्रिय सम्पर्क र सहकार्य, सरकारी सेवाहरूको जानकारी, नयाँ प्रविधि र ट्रेन्डबारे सहज जानकारी, व्यक्तिगत ब्रान्डिङ र आत्मविकास, समुदाय निर्माण र समर्थन आदिको अवसर सामाजिक सञ्जालहरूबाट प्राप्त हुन्छ।
यी फाइदाहरूको बावजुत सामाजिक सञ्जालहरू प्रयोग गर्दा कानुनी रूपमा के-के गर्न पाइँदैन र सामाजिक रूपमा के-के गर्न उचित हुँदैन भन्ने चेतना हुन निकै जरुरी छ। नेपाल सरकारको सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका २०८० अनुसार सामाजिक सञ्जालहरू प्रयोग गर्दा केही गतिविधिहरू अवैधानिक तथा अनुचित मानिन्छन् र प्रतिबन्धित छन्। यसरी कानुनी रूपमा नै नगर्नु भनेका कुराहरू बुझ्न र बुझाउन सजिलो छ। यद्यपि इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगबाट सिर्जित साइबर अपराधहरू भएकै छैन। कानुनले बन्देज गर्दागर्दै पनि अपराधहरू हुनु भनेको आपराधिक मानसिकता नै हो। र यसको समाधान भनेको चेतनाको फैलावटभन्दा पनि बढी कानुनी नै हुन्छ।
तर अहिले नेपाली समाजको ठुलो समस्या भनेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुनको दायराभन्दा बाहिरका गतिविधिहरू हुन्। यस्ता गतिविधिहरूले घुयेँत्रोले जस्तै अरूलाई हानिरहेका छन् र बुमर्याङ जस्तै फिर्ता भएर आफैलाई लागिरहेका छन्। समाजमा अहिले सामाजिक सञ्जालमार्फत यही प्रक्रिया चलिरहेको छ निरन्तर।
घुयेँत्रो सुन्नुभएको छ?
डोरीको एक छेउमा ढुङ्गा बाँधेर अर्को छेउमा समाई फनफनी घुमाउँदै निशानालाई हान्ने प्राचीन हतियार हो घुयेँत्रो। नालापानीको लडाइँमा वीर बलभद्र कुँवर र उनका सेनाहरूले गोला बारुद सकिएपछि घुयेँत्रोको पनि प्रयोग गरेका थिए रे। कुनै संकेत र आवाज बिना छोटो दुरीमा आक्रमण गर्न यो एउटा राम्रो हतियार थियो।
अनि बुमर्याङ नि?
यो पनि एउटा प्राचीन हतियार नै हो। अस्ट्रेलियाका आदिवासीहरूले सिकार र आत्मरक्षाको लागि प्रयोग गर्ने गरेको यो हतियार प्राय काठ बाट बन्दछ। यसलाई फ्याँक्दा यसको वायुगतिकीय संरचनाका कारण पर पुगेर फेरि फर्केर आउने विशेषता हुन्छ।
सामाजिक सञ्जालका फोरमहरूमा तपाईं सामाजिक नै भएर रहिरहन चाहनुहुन्छ भने घुयेँत्रोले गरे जस्ता प्रहारहरू र बुमर्याङजस्तै रिटर्न इफेक्टको असरहरूको साक्षी भएर बस्नुपर्ने भएको छ आजभोलि। कानुनको दायरामा नपर्ने त्यस्ता प्रहार र असरको तपाईं यदि साक्षी बस्न चाहनुहुन्न भने त तपाईंलाई जुनसुकै बेला त्यो सञ्जालबाट बाहिर निस्कने सुविधा छ। तर हामी मानिस न हौँ। कतिपय सामाजिक, संस्थागत र भावनात्मक कारणले पनि त्यस्ता फोरमहरूमा मूकदर्शक भएर बसिरहनु पर्ने बाध्यता र बन्धन हुन्छ।
यस्तै बन्धनका बिच मैले विभिन्न सामाजिक सञ्जालका फोरमहरूमा आफ्नो आबद्धता हेरेँ। म फेसबुक, मेसेन्जर, भाइबर र ह्वाट्सएप गरी चार वटा सामाजिक सञ्जालहरू प्रयोग गर्छु। यी प्लेटफर्महरूमा बनेका विभिन्न औपचारिक र अनौपचारिक गरी सैँतिसभन्दा बढी ग्रुपहरूमा आबद्ध रहेछु। यी सबै ग्रुपहरूमा म जस्तै गरी आबद्ध भएका सात हजारभन्दा बढी मानिसहरू होलान्। तीन करोडभन्दा बढी जनसंख्या भएको देशमा सात हजार केही पनि होइन। एउटा नगण्य संख्या हो। तर यो संख्या नेपाली समाजको प्रवृत्तिको लेखाजोखा गर्नको लागि पर्याप्त नमुना हो।
धेरै जनालाई सामाजिक सञ्जालमा लेखेर प्रतिक्रिया दिँदा भाषा शुद्ध हुनुपर्छ भन्ने चेतना नै हुँदो रहेनछ। कसैसँग चेतना भए पनि शुद्ध बनाउने क्षमता हुँदो रहेनछ। त्यसैले निरन्तर प्रतिक्रिया दिइरहन्छन् अर्थ नआउने र अनर्थ लाग्ने शब्दहरूमा, असंगठित र अस्पष्ट वाक्यहरूमा। मान्छेहरू बुझ्दैनन् र प्रतिक्रिया दिन्छन् त्यस्तै शब्द र वाक्यहरूमा। अनि चलिरहन्छ सञ्जालका भित्ताहरूमा बेअर्थ, अनर्थ र अस्पष्टताको निरन्तर वार्तालाप।
एउटा रमाइलो कुरा, भाषा अस्पष्ट हुने मानिसहरूको विचार पनि अस्पष्ट हुँदो रहेछ। किनकि भाषा हाम्रो सोच र चिन्तनको साधन हो। अपवादका केही विशेष कार्यहरू छोडेर भाषा बिना तपाईं सोच्नै सक्नुहुन्न, विचार बनाउनै सक्नुहुन्न। अनि जब तपाईं आफ्नो सर्कलमा अस्पष्ट विचार बाँड्नुहुन्छ, तपाईंको इकोसिस्टम नै अस्पष्टताले भरिन्छ। तपाईं स्पष्ट हुनै सक्नुहुन्न। त्यसैले स्पष्ट र सुविचारहरू प्राप्त गर्नको लागि आफूले पनि स्पष्ट र सुविचार नै बाँडौँ।
अर्को पनि रमाइलो कुरा छ। त्यस्ता अस्पष्ट मानिसहरू सामाजिक सञ्जालमा छोटा प्रतिक्रिया दिन बढी सहज महसुस गर्दा रहेछन्। तपाईंले सम्बन्धित मान्छेको अगाडि आँखामा आँखा जुधाएर दिन नसक्ने प्रतिक्रिया घरको कोठामा एक्लै बसेर सामाजिक सञ्जालमार्फत दिन सक्नुहुन्छ भने तपाईं भित्र केटाकेटीको वा जनावरको गुण हाबी छ। लगाम बिना पनि बन्धनको महसुस गर्नुहुन्न भने तपाईं मान्छे बन्न बाँकी नै छ। त्यसैले सामाजिक सञ्जालमा केही प्रतिक्रिया दिनु अगाडि तपाईं हजारौँ मानिसहरूको अगाडि मञ्चबाट प्रवचन दिँदै हुनुहुन्छ भन्ने सोच्नुहोस्।
समस्या अस्पष्ट मानिसहरूमा मात्र छैन। उनीहरूको जस्तै सामाजिक सञ्जालमा स्पष्ट नै लेख्न खोज्ने र सक्ने मानिसहरूमा पनि अर्का दुइटा कुरा साझा हुँदा रहेछन्; परपीडन र नकारात्मकता। अर्को व्यक्ति, समूह वा संस्थालाई आक्रमण नगरी लेख्न वा बोल्न सक्दै नसक्ने। अनि आफ्नो स्वार्थ पूरा हुनेभन्दा बाहेकको कुरामा सकारात्मकता देख्दै नदेख्ने।
त्यसैले डिजिटल साक्षरताका कयौँ सक्षमताहरू छोडेर एउटा साधारण अनुरोध गर्दछु। सामाजिक सञ्जालमा तपाईंले गर्ने प्रतिक्रिया घुयेँत्रो जस्तै हो। अरूलाई चोट लाग्छ। पिर पर्छ। अनि फेरि तपाईंको प्रतिक्रिया बुमर्याङ जस्तै हो। कुनै बेला फर्केर तपाईंसम्म नै आइपुग्छ। त्यसैले हतियारहरू जानेर मात्र चलाउँदा सबैको हित हुन्छ।