मेरो एउटी निकै नजिककी साथी थिई, रेश्मा। हाम्रो चिनजान कलेजमा भएको थियो। हामी दुवै घरबाट टाढा, अर्कै सहरमा पढ्न आएका थियौँ। नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ संघर्षका बिच रेश्मा मेरो आधार थिई र म उसको।
कुराहरू मिल्थे, सोच मिल्थ्यो, पीडा र खुसी दुवै उस्तै लाग्थ्यो। यही समानताले हाम्रो मित्रतालाई गहिरो बनायो। कलेज जीवनसँगै हाम्रो मित्रता पनि हुर्किँदै गयो, यति गहिरो कि हामी एक अर्काको जीवनको अभिन्न अङ्ग बनेका थियौँ।
हामी हरेक कुरा सँगै गर्थ्यौँ। क्यान्टिनको नास्तादेखि परीक्षा हलको तनावसम्म सबै सँगै। एउटै बेन्च, एउटै बाटो, एउटै हाँसो। दिनरात गफ, जिस्काइ, मिम र अनगिन्ती कुराहरू। संसारसँग भन्न नसकिने मनका कुरा म र रेश्मा एकअर्कासँग निडर भएर बाँड्थ्यौँ। ऊ मेरो सुरक्षित ठाउँ थिई र म उसको। ऊ हाँस्दा म पनि हाँस्थेँ, ऊ रोएमा मेरो मन पनि भक्कानिन्थ्यो।
तर एक दिन सबथोक बदलियो। रेश्माले हाँस्दै भनिन्, ‘म रिलेसनशिपमा छु।’
मैले पनि खुसी हुँदै भनेँ, ‘ल बधाई छ नि।’
तर मलाई थाहा थिएन, त्यो एउटा वाक्यले हाम्रो मित्रताको अध्याय बिस्तारै बन्द गर्न थालिसकेको थियो।
रेश्माले घण्टौँ आफ्नो प्रेम, आफ्ना सपनाहरू र सम्बन्धका कुराहरू सुनाई। सुरुमा सबथोक ठिकै थियो। पहिलाजस्तो घण्टौँ कुरा नभए पनि सम्पर्क त थियो। तर समयसँगै कुराकानी घट्न थाल्यो। म्यासेजको रिप्लाई ढिलो हुन थाल्यो। मिम आउन छाडे। बिहान आँखा खुल्ने बित्तिकै म्यासेज गर्ने रेश्मा अब दिनभरि पनि फ्री नहुने भइन्।
कल गर्दा एउटै उत्तर आउन थाल्यो, ‘म फ्री छैन।’
सबैभन्दा दुख्ने कुरा के थियो भने, पहिला हाम्रो मित्रतामा देखिने माया अब केवल उसको नयाँ सम्बन्धमा सीमित भएको थियो। सम्बन्धमा बसेपछि पार्टनरलाई समय दिनु स्वाभाविक हो भन्ने म बुझ्थेँ। तर एकाएक आफू महत्त्वहीन बन्दै गएको महसुस स्वीकार गर्न गाह्रो रहेछ।
कहिलेकाहीँ जिस्काउँदै भन्थेँ, ‘के हो यार रेश्मा, नयाँ मान्छे पाएर हामीलाई भुल्यौ कि क्या हो?’
ऊ हाँसेर भन्थी, ‘त्यस्तो हैन यार।’
अनि एकछिनमै ‘चार्ज छैन’ भनेर कल काट्थी।
पहिला १% चार्ज हुँदा पनि चार्जिङ सकेटमुनि बसेर बोल्ने रेश्मा अब चार्ज सकियो भन्न थालिसकेकी थिई।
भिडियो कलमै खाना खाने, कलेज जान तयार हुने, लुगा र मेकअप देखाउने, अनौठा फिल्टर लगाएर हाँस्ने ती दिनहरू बिस्तारै हराउँदै गए। भेटघाट र कुराकानी कम हुँदै गयो। पहिला रेश्माले धेरै मिम पठाउँदा जिस्काउने म, अहिले मिम नआउँदा खल्लो महसुस गर्न थालेँ।
सधैँ बोल्ने बानीले एकाएक बोलीचाली नहुँदा जीवनमै केही हराएजस्तो लाग्थ्यो।
मैले पटक–पटक भनेँ, ‘रेश्मा, हामी कतै भेटौँ न, धेरै दिन भयो।’
उसको उत्तर उही हुन्थ्यो, ‘आजकल अलि व्यस्त छु।’
त्यो ‘व्यस्त छु’ भन्ने शब्दले मेरो मन चिस्याउँथ्यो।
कुनै झगडा थिएन, कुनै गाली थिएन। तर पनि हाम्रो मित्रतामा चिसोपन पसिसकेको थियो। सधैँ आफैले मात्र बोलाउन मन लाग्दैन थियो। कहिलेकाहीँ फेसबुक स्टोरीको रिप्लाई गरेर कुरा सुरु गर्ने प्रयास गर्थेँ। रेश्मा भन्थी, ‘पछि मेसेज गर्छु।’
तर त्यो ‘पछि’ कहिल्यै आइपुग्दैन थियो।
अब म रेश्माको खबर फेसबुक र टिकटकका पोस्टबाट बुझ्थेँ। घुमघाम, हाँसो र मायाका तस्बिरहरूले उसको जीवन राम्रो चलिरहेको देखाउँथे। उसले अब आफ्नो दिनचर्या मलाई हैन, सामाजिक सञ्जाललाई देखाउन थालेकी थिई।
दिनरात भिडियो कलमा बाँडिएका ती क्षणहरू एकादेशको कथा बनेका थिए।
रेश्मा बदलिई। प्राथमिकता बदलियो। हामी दुवै जीवनका फरक मोडमा पुग्यौँ। प्रेमले मानिस बदल्छ भन्ने सुनेको थिएँ तर उसको प्रेमले हाम्रो मित्रता पनि बदलिदियो। उसको जीवनमा मेरो स्थान बिस्तारै खुम्चिँदै गयो। अझ स्पष्ट भन्नुपर्दा, मित्रताको त्यो अध्याय शान्त रूपमा कतै बिलाएर गयो।
आज पनि रेश्माका सम्झनाहरू मेरो साथमै छन्। हामीले सँगै हाँसेका पलहरू, रोएका क्षणहरू, अनौठा मजाक, साना झगडा र घण्टौँका गफहरू। यी सबै केवल याद होइनन्, साँचो मित्रताको अमिट छाप हुन्।
समय र दूरीले सम्बन्ध टाढा बनाए पनि ती सम्झनाहरूले अझै मेरो जीवन रङिन बनाइरहेका छन्।
यस यात्राले मलाई एउटा गहिरो पाठ सिकायो। साँचो मित्रता भनेको सधैँ सँगै हुनु मात्र होइन रहेछ।