सुदूरपश्चिमकाे गौरा पर्वले धार्मिक, साँस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको छ।
गौरा पर्वलाई स्थानीय बोलीचालीमा गोरा भनिन्छ। विशेषत महिलाले गोरामा 'दुबधागो' धारण गर्नकै लागि गरिने धार्मिक र सामाजिक संस्कार रहेछ। यस पर्वमा गरिने सबै अनुष्ठान, संस्कार र संस्कृति महिलाले धारण गर्ने दुबधागो वरपर घुमेको देखिन्छ। गोराको विशेषता भनेको नेपालमा मनाइने विभिन्न चाडपर्वहरूको फ्युजन हुनु हो। करिब १९ दिनसम्म मनाइने यस चाडलाई विश्लेषण गरेर हेर्दा मैले यस्तो फ्युजन देखेको छु।
जनै जत्तिकै धार्मिक महत्व र संस्कार बोकेको छ महिलाले लगाउने 'दुबधागो' ले:
सुदूरपश्चिममा विवाहित महिलाले पवित्रताको लागि दुबधागो अनिवार्य धारण गर्ने परम्परा छ। 'दुबधागो' ले पुरूषले लगाउने जनै जत्तिकै धार्मिक महत्व बोकेको पाइन्छ पनि।
'दुबधागो' धारण गरेपछि मात्र महिलालाई पवित्र वा शुद्ध भएको मानिन्छ। सामाजिक परम्परा अनुसार 'दुबधागो' लगाएका महिलाले मात्र भान्छामा प्रवेश गर्न पाउँछन्। दुबधागो लगाएपछि पनि जनै लगाएर धार्मिक पवित्रतालाई पालन गर्नुपर्ने सर्त रहे झैं यसमा पनि पवित्रता पालन गरेर मात्र लगाइरख्ने सर्तहरू रहेकाे पाइन्छ।
अर्को जसरी हरेक वर्ष जनैपूर्णिमामा व्रतबन्ध गरेको पुरूषले अभिषेक गरेको पवित्र जनै फेर्छन्, त्यसैरी नै हरेक वर्ष गोरा ब्रत गरेर दुबधागो लगाइसकेको विवाहित महिलाले हरेक भाद्र शुक्ल पञ्चमी तिथिदेखि कम्तीमा चार दिन व्रत बसेर धार्मिक अनुष्ठान सम्पन्न गरी अभिषेक गरिएकाे दुबधागो गलामा धारण गर्ने चलन रहिआएको पाइन्छ।
गोराको अर्को विशेषता 'विरुडा' अर्थात् क्वाँटीकाे अनिवार्यता :
यस पर्वमा विरुडालाई नै अक्षता र प्रसादको रूपमा प्रयोग गर्ने गरिन्छ। विरुडा पाँच प्रकारको अन्न/गेडागुडी मिसाएर टुसा उमारेको क्वाँटी हो। याे पर्वमा विरुडालाई सबै ठाउँमा पूजा गर्न अक्षताकाे रूपमा प्रयोग गर्न र प्रसादको रूपमा खानको लागि अति नै आवश्यक मानिन्छ। विरुडा पाँच विशेष गेडागुडीमा मिसाएर चार दिनसम्म भिजाएर उमारिन्छ। विरुडामा स्थानीयस्तरमा पाइने गहुँ, मास, गहत, कलौ र गुरुँस मिसाइन्छ। विरुडामा मिसाइने कलौ सानो केराउ हो भने गुरुँस मासको जस्तो आकार भएको कलेजी रङको स्थानीय दाल हो। गौराको अन्तिम दिनमा यसैलाई भुटेर वा पकाएर प्रसादको रूपमा खाने चलन छ।
विरुडा भिजाउने र हरेक दिन धुने पनि विशेष कार्य मानिन्छ। अघिल्लो दिन नै सफासँग केलाएर राखेको विरुडालाई तामा वा पित्तलको
भाडामा मात्र भिजाउने चलन छ। भिजाउँदा र धुँदा सगुन गाएर मात्र गर्ने भएकोले महिलाहरू भरसक सामूहिक नै गर्छन्। नजिकको धारामा नै गएर भिजाउने र धुने गर्दछन्।
सिथि नख: र नौल सफा गर्ने चलन:
जसरी नेवार समुदायले धारा, कुवा आदि पानीको स्रोत सफा गरेर 'सिथि नख:' मनाउँदछन्, त्यसैगरी गोरा पर्वको दोस्रो दिन भिजाएको विरुडालाई कुवा वा धारा अर्थात् नौलमा लगेर धोइन्छ। विरुडा धुँदा त्यहीँ नै गोराकाे प्रतीक बनाएर पूजा गरिन्छ। पूजा गर्दा विरुडाले नौलकाे पूजा गरी पानीको स्रोतभित्र नै खसालिन्छ। तेस्रो दिन त्यसरी पूजा गरिएकाे नोललाई समुदाय मिलेर सफा गर्ने गरिन्छ। यसरी 'सिथि नख:'र नोल सफा गर्ने चलन पनि मिल्दो जुल्दो रहेको पाइन्छ।
सुदूर पश्चिमकाे तीज पनि हो गौरा पर्व:
जसरी नेपालकाे अरू भागका महिलाहरूले पवित्र भई, नयाँ लुगा लगाएर व्रत बसी शिवको पूजा गरेर श्रीमानको दीर्घायु र स्वास्थ्यको कामना गर्दछन्। त्यसरी नै गोरा पर्वमा व्रत बसी नयाँ शुद्ध सारी लगाएर पार्वती (गौरी) को पूजाअर्चना गर्दै श्रीमान र परिवारकाे स्वस्थ्यता र दीर्घायूकाे कामना गर्दछन्।
सुदूरपश्चिमको वडादसैं नै हो गौरा पर्व:
नेपालीहरूकाे महान चाड मानिने वडादसैं जत्तिकै सांस्कृतिक र एकताको महत्व बोकेको छ गोराले पर्वले पनि। जसरी देशको सबैजसो भागमा घरपरिवारका सदस्य काम र अध्ययनको सिलसिलामा देश विदेश जहाँसुकै पुगेका भए पनि वडादसैं मनाउन भनेर आफ्नै घर-परिवारमा फर्केर आउने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, चंगा उडाउने र सबैसँगै मिलेर रमाउने चलन छ। त्यसरी नै गोराको समयमा पनि परिवारका सदस्यहरू सबै नै घर-परिवारमा फर्केर आउने, सबैले नयाँ लुगा लगाउने, महिला र पुरूषको समूह बनाएर हात समातेर गोलबद्ध भई देउडा गीत गाएर खेल खेल्दै रमाउने चलन छ। परिवार एकत्रित भएर रमाउने चलन भएकोले गौरा पर्वलाई सुदूरपश्चिम क्षेत्रको वडादसैं हो भन्दा फरक पर्दैन।
म्ह पूजाको फ्युजन पनि छ गौरा पर्वमा :
जसरी तिहारमा नेवार समुदायमा म्ह: पूजामा परिवारका ज्येष्ठ पुरूष सदस्य हुँदै क्रमश सबै सदस्यहरूकाे शरीरको पूजा गर्दछन्। त्यसैगरी गोरा पर्वमा व्रत बसेकाे चौथो दिन अर्थात् अष्टमीको दिन पूजा सम्मन्न भएपश्चात अभिषेक गरिएकाे नयाँ दुबधागो पहिरेकाे परिवारको ज्येष्ठ महिलाले परिवारका ज्येष्ठ पुरूष सदस्य हुँदै क्रमश: सबै सदस्यहरूको खुट्टादेखि शिरसम्म विरुडाले नै पूजा गर्ने चलन रहिआएकोछ। यसरी पूजा गर्दा स्थानीय भाषामा गाएर शुभकामना र आशिष दिने गरिन्छ। गाउँदै दिने शुभकामना र आशिषमा स्वस्थता, सन्तान प्राप्ति, सुख र समृद्धिकाे कामनाहरू हुने गर्दछन्।
यसरी गौरा पर्वलाई विश्लेषण गरेर हेर्दा नेपालमा विभिन्न समुदायले मनाउने चाडपर्वको फ्युजन भएको पर्व भन्न सकिन्छ। विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक संस्कार, संस्कृति र परम्पराको समिश्रणसहित गोरा पर्व १० दिन मनाइने भएकोले सबै उमेर समूह भरपुर रमाउने गर्दछन्। हरेक वर्ष आउने गोराकाे प्रतीक्षा हर्षसाथ गरिरहेका हुन्छन्।
(लेखक नेपाल सरकारको पूर्वउपसचिव हुन्।)