आदरणीय प्रजातन्त्रवादी साथीहरू,
हामी राजनीतिक पार्टीलाई धेरैजसो सरल रूपमा लिने गर्छौं। तर वास्तवमा राजनीतिक संगठन यस्तो वैधानिक संस्था हो, जसले राज्यलाई नेतृत्व गर्ने वैधानिकता (legitimacy) पाएको हुन्छ। कतिपय आम जनमानसले राजनीतिक दलबिनाको शासन व्यवस्थाको कुरा गरेको सुनिन्छ। तर आजको उन्नत लोकतन्त्रमा त्यो कल्पना बाहिरको कुरा हो।
जब युरोपमा ३० वर्षे लामो युद्ध भयो र अन्तत्वोगत्वा The Treaty of Westphalia (1648) मा गएर टुंगियो जसले राष्ट्र-राज्यको वैधानिकताको निर्माणको सुरूआत गर्यो, त्यसैको जगमा १७ औँ शताब्दीमा युरोपबाट सुरू भएको आधुनिक राजनीतिक संगठन आज संसारभर फैलिएको छ।
राजनीतिक दल त्यसै निर्मित हुँदैन; विचार अर्थात् दर्शनको जगमा निर्माण हुन्छ र लामो समयसम्म विचारहरूको घर्षणपछि नागरिकहरूको अनुमोदन पाएपछि मात्र यसले आफ्नो आकार लिन्छ। तर बिडम्बना, संसारभर राजनीतिक दल र स्वतन्त्रताको आवाज उठिरहेको सन्दर्भमा नेपालमा भने २० औँ शताब्दीको मध्यतिर मात्रै स्वतन्त्रताको आवाज बुलन्द भयो।
मलाई लाग्छ नेपालमा नेपाली कांग्रेस पार्टीको सन्दर्भमा कुरा गर्दा प्रजा परिषद्को मुक्ति (स्वतन्त्रता) आन्दोलनको भूमिका बिर्सनु हुँदैन। वीर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लगायत अन्य योद्धाहरूको ठूलो योगदान छ, मुक्ति आन्दोलनको जग निर्माण गर्नका लागि। यही जगमा नेपाली कांग्रेसको स्थापना भएको हो। नेपाली नागरिकलाई तानाशाहीबाट मुक्ति दिलाउन र स्वाभिमानसहितको स्वतन्त्रता दिलाउनकै लागि पार्टीको स्थापना भएको थियो।
नेपालको एकीकरणको सन्दर्भमा जस्तै पृथ्वीनारायण शाहलाई सम्झिन्छौं, त्यस्तै नेपालको मुक्ति आन्दोलनका सन्दर्भमा ती वीर सहिदहरू र नेपाली कांग्रेस पार्टीको योगदानलाई बिर्स्यौं भने हाम्रो इतिहास अपूर्ण हुनेछ। नेपाली कांग्रेसले एकतन्त्रीय राणा शासनलाई अन्त्य गर्दै जनतालाई ‘रैती’ बाट ‘नागरिक’ बनायो र लोकतान्त्रिक पार्टीको वैधानिकताको निर्माण गर्यो भन्ने ठान्दछु।
त्यसैले स्थापना कालदेखि नै अनेक चुनौतीहरूको सामना गर्दै आएको नेपाली कांग्रेस पार्टी आज यहाँसम्म आइपुगेको छ। पात्रलाई गौण राखेर विचारलाई केन्द्रमा राख्ने हो भने, मलाई लाग्छ, नेपाली कांग्रेसको वैधानिकता त्यतिबेलामात्र समाप्त हुनेछ कि नागरिकहरूले स्वतन्त्रताको सट्टामा पुनः रैती बन्न स्वीकार गर्छन् अर्कोतर्फ पार्टीले मुक्तिको आदर्शलाई अन्त्य गर्छ तर आजको स्वतन्त्रताको युगमा यी दुवै कुराहरू सम्भव छैन भन्ने ठान्दछु।
आदरणीय प्रजातन्त्रवादी साथीहरू,
हामी अहिले नितान्त नयाँ परिस्थितिमा छौं। युवाहरूको असंगठित विद्रोहले नयाँ अवस्था सिर्जना गरेको छ, तर यो कसरी अघि बढ्छ र सफल अवतरण हुन्छ भन्ने प्रश्नले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ। यसबीचमा युवा विद्रोहमा जीवन गुमाएका सम्पूर्ण युवा साथीहरू र राष्ट्रसेवक प्रहरी साथीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, नेपाली कांग्रेसका सभापति, लोकतान्त्रिक आन्दोलनका योद्धा तथा उहाँको श्रीमतीमाथि भएको भौतिक आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गर्दछु। साथै इतिहासका धरोहरहरू, ब्यावसायिक,राज्यका र व्यक्तिका सम्पत्तिहरूमा भएको आगजनी र तोडफोडप्रति निन्दा गर्दछु।
नेपाली कांग्रेसले सात दशक पार गरिसकेको छ। यसबीचमा अनेक प्रहारहरू चिर्दै नागरिकको मुक्तिलाई केन्द्रमा राख्दै पार्टीको जीवन अघि बढाएको छ। त्यसैले यस अवधिका अनुभव, परम्परा र अन्तर्राष्ट्रिय छविका आधारमा पार्टीले फेरि पनि नागरिक, देश र प्रजातन्त्रलाई केन्द्रमा राखेर नेतृत्व गर्नेछ भन्ने विश्वास लिएको छु।
पक्कै पनि यस अवधिमा पार्टी संगठनमा कमजोरीहरू भएका छन्। तर जसरी मानव जीवनमा गल्ती र कमजोरीलाई सिकाइको रूपमा लिएर उन्नत बन्न खोजिन्छ, त्यसरी नै पार्टीले पनि आफ्ना कमजोरीहरू सच्याउँदै अझ सक्षम र उन्नत बन्नुपर्ने हुन्छ भन्ने ठान्दछु।
यसै पृष्ठभूमिमा, म प्रजातन्त्रवादी युवा भएको नातालाई नेपालको मुक्ति आन्दोलनमा अतुलनीय योगदान गरेको र राष्ट्रियता, प्रजातन्त्र , समाजवादको आदर्श बोकेको यो पार्टीको नेतृत्व तथा आम प्रजातान्त्रिकजन समक्ष तत्कालीन र दीर्घकालीन नीति, अवस्था तथा कर्तव्यका सन्दर्भमा केही सुझावहरू सादर प्रस्तुत गर्न चाहन्छु।
१) आत्मालोचना र जनविश्वास पुनःस्थापना
युवाहरूको आन्दोलन र त्यसबाट निर्मित परिस्थितिलाई गम्भीरतापूर्वक नियाल्दै, पार्टीले तत्काल केन्द्रीय समितिको बैठक आह्वान गरी विगतका गल्तीहरूको सम्बन्धमा बैठकले निर्णय गरेर आत्मालोचना गर्नुपर्छ। पार्टीको बैठकले निर्णय गरेर र खुला प्रेसमार्फत आत्मालोचना गरी पार्टीका केन्द्रदेखि टोल तहसम्मका नेता, कार्यकर्ता र नागरिकहरूबीच आशा पुनःजागृत गर्न आवश्यक छ। र नया संदेश दिन जरूरत छ। नेपाली कांग्रेस, जुन नागरिक मुक्तिका लागि स्थापित र संघर्ष गरेको पार्टी आफ्नै नागरिकसँग आत्मालोचना वा माफी माग्न लज्जाबोध गर्दैन भन्ने मेरो विश्वास छ।
२) अन्तरिम सरकार र मध्यमार्गी नेतृत्व
पार्टीका पूर्वनेता राष्ट्रपति, पुराना नेता तथा प्रजातान्त्रिक आन्दोलनका परिवारका सदस्य प्रधानमन्त्री हुनु प्रजातन्त्रको लागि soft power हुन् भन्ने ठान्दछु। जहाँ उहाँहरूले प्रजातन्त्र र विधिको शासनको खिलाफमा जाँदैनन् भन्ने विश्वास छ। युवाहरूको आक्रोश पश्चात आवश्यकताको सिद्धान्तको जगमा उभिएको यो अन्तरिम सरकारको विपक्षमा कांग्रेस जाने छैन र सक्दो सहयोग गर्दछ भन्ने विश्वास छ। देश, प्रजातन्त्र र जनताको हितका लागि पनि विपक्षमा जानु हुँदैन भन्ने मेरो सुझाव हो।
त्यसैले, पार्टीले मध्यमार्गी धार ग्रहण गरी उग्र कम्युनिस्ट र राज्यसत्ताबाट आक्रोसित युवाहरूबीचको समन्वय गर्दै देशलाई चुनावसम्म सफल अवतरणमा पुर्याउने जिम्मेवारी लिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ। जसमा यो अन्तरिम सरकारलाई दृढ भएर सहयोग, र समन्वयको नेतृत्व गर्न कति पनि हिच्किचाहट गर्न हुँदैन भन्ने मेरो सुझाव हो। नत्र परिस्थितिले अर्कै मोड लिनसक्छ जसले देशमा अराजकताको निर्माण भई संविधानमाथि नै प्रहार हुने अवस्थाको निर्माण हुनसक्नेछ।
३) महाधिवेशन र नयाँ नेतृत्व
पार्टी महाधिवेशनको संघारमा छ। त्यसैले आसन्न केन्द्रीय कार्यसमितिको बैठकले मध्यावधि निर्वाचनअघि नै महाधिवेशनको मिति घोषणा गरी नयाँ नेतृत्वसहित जनता माझ उपस्थित भई पार्टी, कार्यकर्ता तथा समग्र देशलाई आशाको संचार गर्नुपर्छ।
४) परराष्ट्र नीति र सुधारको आवश्यकता
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको विद्यार्थीका रूपमा मेरो अध्ययन र विश्लेषणले देखाएको कुरा के हो भने, पछिल्लो समयमा नेपाली कांग्रेसको परराष्ट्र नीति अत्यन्तै रक्षात्मक (defensive) बनेको थियो, विशेषगरी एमालेसँगको गठबन्धनपछि। युवाविद्रोहको मूल कारणमा देशीय पक्षसँगै कूटनीतिक असन्तुलन पनि रहेको भन्ने मेरो ठहर हो।
कांग्रेसले देशको स्वार्थलाई केन्द्रमा राख्दै हाम्रा छिमेकी देशहरू र विशेषगरी प्रजातान्त्रिक कित्तामा उभिने मुलुकहरूसँग सन्तुलन कायम गर्नुपर्नेमा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको अव्यावहारिक र असन्तुलित नीतिमा समर्थन गरेको देखियो, जसले परिस्थिति थप जटिल बनायो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकोको चीन भ्रमणका क्रममा चिनियाँ सुरक्षा परेडमा सहभागिता, जहाँ विश्वका प्रायः गैर प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो, जस्ता गतिविधिहरू नेपालको परराष्ट्र नीति र हाम्रो परम्परासँग विपरीत थिए। यस्तो अवस्थामा कांग्रेसको ठूलो दलको हैसियत र आफ्नै परराष्ट्रमन्त्री हुँदा पनि रोक्न नसक्नुले प्रजातान्त्रिक कित्ताको छवि कमजोर बनायो।
बीपी कोइरालाको परराष्ट्र नीति समदूरी (equidistance) होइन, बरू राष्ट्रिय स्वार्थ (interest-based) मा आधारित थियो। उदाहरणका लागि, उत्तर कोरिया र दक्षिण कोरिया सन्दर्भमा— उत्तर कोरियाभन्दा दक्षिण कोरियासँगको गहिरो सम्बन्ध हाम्रो राष्ट्रिय स्वार्थ हो, किनकि ऊ प्रजातान्त्रिक देश हो र हजारौँ नेपालीलाई रोजगारी उपलब्ध गराएको छ, भन्ने कुरा कांग्रेसले बुझेन वा बुझ्न चाहेन। अर्को कुरा, वर्तमान भूमण्डलीकरण र भूराजनीतिक घर्षणलाई नेपाली कांग्रेसले सही ढंगले बुझ्न सकेन, जसले balance of power को सिद्धान्तमा खलल पुर्यायो र यस विद्रोहलाई मलजल गर्यो भन्ने देखिन्छ।
त्यसैले, पार्टी र देशको हितका लागि कांग्रेसले प्रजातान्त्रिक कित्ताका मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग र हाम्रो छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्छ। (उदाहरणका लागि, इजरायलसँग नेपालको ऐतिहासिक सम्बन्ध (बीपी कोइरालादेखि) अझ प्रगाढ छ। यहुदी समुदाय विश्वका आर्थिक रूपमा सम्पन्न र शक्तिशालीमध्ये पर्छन्।) यस सन्दर्भमा पार्टीको इजरायलसँगको वर्तमान सम्बन्ध के हो? पार्टीले इजरायलबाट लिन सक्ने फाइदाहरू के हुन्? यकिन गर्न सक्नुपर्छ। नत्र हाम्रो अन्तर्राष्ट्रिय प्रजातान्त्रिक छवि बिग्रिन्छ, त्यसैले पार्टीले तत्काल परराष्ट्र सम्बन्धका विषयमा छलफल गरी course correction गर्नुपर्ने मेरो स्पष्ट धारणा हो।
५) अर्थनीति र उदारीकरण
अर्थ राष्ट्रको मेरूदण्ड हो। भर्खरै युवा विद्रोहको सिलसिलामा निजी लगानीमाथि भएको व्यापक आक्रमणले नेपालको उद्यमशीललाई हतोत्साहित बनाएको छ। हरेक पटकका विद्रोहमा निजी क्षेत्रमा हुने यस्तो आक्रमणले स्वदेशी तथा विदेशी लगानीको वातावरण नेपालमा छैन भन्ने अर्थ देखाउँछ। जतिसुकै राजनीतिक तथा सामाजिक उदारोन्मुख आन्दोलन भए पनि निजी क्षेत्रमा हुने यस्तो आक्रमणले ती आन्दोलनलाई सार्थकतामा परिणत गर्दैन।
अर्कोतर्फ, बहुदलीय व्यवस्थामा पार्टीको नीति नै देशको नीति हुने हुँदा, नेपालका बहुसंख्यक दलहरूले साम्यवादी दर्शनमा विश्वास गर्ने र सोही सोचका कारण असफल आर्थिक नीतिहरू लागू भएका छन्। यसले गरिबी र बेरोजगारी बढाउँदै लग्यो र अन्ततः विद्रोहमा परिणत भयो। अर्को कुरा, यस साम्यवादी सोचले हरेक व्यक्तिलाई उद्यमशीलतामा केन्द्रित गर्दैन र देशको विकास एक भाषण मात्र बन्न पुग्दछ।
नीति परिवर्तनशील हुन्छ, यो समयले माग गर्दछ। तर शीतयुद्ध कालको बीपी कोइरालाको समाजवादी नीतिलाई पार्टीले अहिलेसम्म परिवर्तन गर्न सकेको देखिँदैन। यही कारणले २०४६ पछि गिरिजाप्रसाद कोइरालाले सुरू गरेको उदारीकरण आज छायामा परेको छ, जसका कारण नीति क्षेत्र फस्टाउन सकेन र राष्ट्रिय पुँजी निर्माण हुन सकेन।
हाम्रै छिमेकी देशहरू, भारतले १९९० को दशकदेखि र चीनले १९८० को दशकदेखि उदारीकरण अंगाल्दा ती मुलुकहरू तीव्र गतिमा विकसित भए, तर नेपाल भने साम्यवादी सोचमै अड्कियो। आज पनि मुलुक आर्थिक नीतिमा अलमलमा छ। त्यसैले कांग्रेसले समाजवादी सिद्धान्तलाई परिमार्जन गरी उदारीकरणलाई आफ्नो स्पष्ट नीति बनाई देशलाई नै उद्यमशीलताको बाटोमा लग्न ढिला गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो।
६) नेतृत्वमा सुधार र शुद्धीकरण
ठूलो पार्टीमा अनेक किसिमका व्यक्तिहरू सहभागी हुन सक्छन्। तर सहभागिता र नेतृत्व फरक कुरा हुन्। पछिल्लो समयमा पार्टीको नेतृत्व (वडादेखि केन्द्रीय कार्यसमिति स्तरसम्म) अत्यधिक रूपमा त्यस्ता व्यक्तिहरूको हातमा पुग्यो जसले पार्टीको सिद्धान्त/मर्म बुझ्दैन, नैतिकतामा प्रश्न छ, समाजले पत्याउँदैन, र अवसरवादी छ। यसले नैतिकवान कार्यकर्तालाई अपमानित बनायो र नागरिक–पार्टी सम्बन्धमा खाडल ल्यायो। त्यसैले अब पार्टीले तत्काल छलफल गरी नैतिकवान, कर्मठ, अनुशासित र शिक्षित व्यक्तित्व लाई मात्र नेतृत्वमा ल्याउने कार्यमा नीतिगत रूपमा लाग्नुपर्छ भन्ने मेरो सुझाव छ।
७) संगठनात्मक संरचना सुधार
पार्टीको संगठनात्मक संरचनामा व्यापक सुधारको खाँचो छ। नेपालको सामाजिक र राजनीतिक अवस्था हेर्दा पूर्ण mass-based संरचना सम्भव छैन भन्ने मेरो दाबी हो। पूर्ण mass-based ले पार्टी संगठनको खिलाफमा जानसक्ने नेपाली सामाजिक परिवेश देख्दछु| अर्कोतर्फ, क्रियाशील सदस्य संख्याको आधारमा प्रतिनिधि छनोट गर्ने प्रचलनले व्यापक रूपमा स्वार्थी समूहलाई हाबी बनाएको छ। अर्कोतर्फ, तल्ला कार्यसमितिहरू यति ठूलो र भद्दा छन् जसले काम गर्न एकदमै अप्ठ्यारो अवस्था सिर्जना गरेको छ। यसलाई सुधार्दै सदस्य संख्यामा भन्दा योग्यतामा आधारित हुनुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरत देखिन्छ।
८) संविधान संशोधन
नेपालको संविधानमा व्यापक सुधार आवश्यक छ भन्ने कुरा पार्टी नेताहरू, विश्लेषक तथा सरोकारवालाहरूले बारम्बार औंल्याएका छन्। गत १० वर्षको अभ्यासले पनि यो प्रमाणित गरेको छ। साथै, छिमेकी मुलुक भारत र देशका क्षेत्रीय मधेशवादी दलहरूको हाम्रो संविधानप्रतिको reservation लाई पार्टीले ‘नोट’ गर्नुपर्छ। यो विश्व व्यवस्थामा छिमेकीहरूको चासोलाई स्वाभाविक मानिन्छ भन्ने कुरा बुझ्नपर्छ। त्यसैले संविधानलाई अझ व्यापक, प्रतिनिधिमूलक र सर्वस्वीकार्य बनाउन कांग्रेसले तत्काल सुझाव संकलन समितिको निर्माण गरी संविधान संशोधनको पहल गर्नुपर्छ भन्ने लाग्दछ।
९) प्रजातान्त्रिक शक्तिसँग सहकार्य
कांग्रेसको मूल उद्देश्य विधिको शासन र प्रजातन्त्र हो। तर नेपालमा अझै कम्युनिस्टहरूको बाहुल्यता छ, यो हाम्रो बिडम्बना हो भन्ने मेरो दाबी छ। यो विश्व व्यवस्था भूराजनीति र नागरिकको स्वतन्त्रताको चाहले मात्र नेपालमा कम्युनिजम प्रणाली सम्भव नहोला। तर साम्यवादी बिचारले नागरिकलाई स्वतन्त्र र प्रतिस्पर्धामुखी बनाउनबाट रोक्दछ। अर्कोतर्फ कांग्रेसले हुर्कंदै गरेका प्रजातान्त्रिक पार्टीहरूसँग सहकार्य गर्न सकेको छैन। कतिपय अवस्थामा त शत्रुवत व्यवहार गरेको देखिन्छ। जुन कांग्रेसको दर्शनको पनि खिलाफमा छ। त्यसैले कांग्रेसले साम्यवादी सोच र अभ्यास भएका विचारहरूलाई पन्छाउँदै, राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रजातान्त्रिक समुदायको संयुक्त सहयोग लिँदै अन्य प्रजातान्त्रिक विचारलाई साझा धारणा बनाएर अघि बढ्नुपर्छ। अनि मात्र नागरिकलाई प्रतिस्पर्धी र स्वतन्त्रताको चिन्तनको विकास गर्दछ। देशमा प्रजातान्त्रिक प्रणालीको स्थापना र जनजनमा प्रजातान्त्रिक विचारधारा स्थापित गराउनु नै पार्टी स्थापनाको मूल उद्देश्य पनि हो भन्ने लाग्दछ।
जय नेपाल !!!
(लेखक नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिका सचिव हुन्। साथै उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल/पिचडीमा अध्ययरत छन्। )