परीक्षाको अन्तिम दिन थियो। सबै जना खुसीका अनुहार लिएर स्कुलबाट बाहिर निस्किरहेका थियौँ। रिजल्ट कस्तो आउला? अहँ, कसैलाई कुनै मतलबै थिएन। मतलब थियो त केबल नजिकिएको दसैंको थियो। सबैका मुहारमा दसैंको उमंग छर्लङ्ग देखिन्थ्यो। दसैं बिदा कहिले होला भन्ने सबैको प्रतीक्षा सकिएको क्षण थियो त्यो।
गाउँ–सहर सबैतिर दसैंको चहलपहल र रौनक सुरू भइसकेको हुन्थ्यो। गाउँघरमा लिपपोत, बाटो सफाइ र घर सिँगार्ने काम चलिरहेको हुन्थ्यो। कोही लेकमा आलु लिन जाँदै गरेका भेटिन्थे त कोही रातो र कमेरो माटो लिने जाने सल्लाह बुन्दै गरेका हुन्थे। मलाई पनि त्यो रातो र कमेरो माटो लिन जान सारै रमाइलो लाग्ने। हातमा धोक्रो र कुट्टो समाएर म पनि छिमेकीका आमा–काकीहरूसँग डाँडातिर जान्थें। डेढ घण्टा जति हिँडेर माटो पाइने ठाउँमा पुगिन्थ्यो। पहाडमुनि सुरूङ र ओडार जस्तोमा छिरेर माटो झिक्नु कम्ता रमाइलो हुन्थेन। सँगै जोखिम त छँदै थियो।
त्यो रातो माटो र सेतो कमेरोले घर रङ्ग्याउँदा चिटिक्क देखिने आसले त्यस्ता जोखिम कति मोलियो, मोलियो। झ्याल–ढोकामा ‘एभरिडे ब्याट्री’ फुटाएर निकालिएको कालो धुलोमा तेल मिसाएर कालो रंग लगाइन्थ्यो। अब त टाढैबाट हाम्रो घर झकिझकाउ देखिहाल्थ्यो।
साँच्चै, प्रकृतिको त्यो सुन्दरता र मनमोहक बास्नाको आगमनले कुनै अर्को रङको आवश्यकता नै थिएन। आजभोलि म्युजियम र सहरका रेष्टुराँका वालहरूमा गरिने पेन्टिङभन्दा, त्यो रातो माटो, सेतो कमेरो र ब्याट्रीको कालो धुलोले सजिएको त्यो हाम्रो घर साँच्चिकै अद्भुत देखिन्थ्यो।
हाम्रो परिवार मध्यम वर्गीय थियो। बुवा र दुवै दाजु गाउँकै विद्यालयमा पढाउने शिक्षक। तुलनात्मक रूपमा आर्थिक र सामाजिक हैसियत नराम्रो थिएन। त्यससँगै घरमै धान कुट्ने मिल, पिठो पिन्ने मिल र चिउरा कुट्ने मिल चल्थ्यो। दसैं नजिकिँदा टाढा-टाढाबाट मानिसहरू धान कुट्न र चिउरा कुट्न आउनेको घुइँचो लाग्ने। बाटो छेउमै घर थियो हाम्रो। मिलका लागि पालो कुर्नेको लाइन सबेरैबाट बाटोसम्म हुने। बुवाले पुरेतको काम पनि गर्नुहुन्थ्यो, त्यसैले प्रायः जजमानहरू नै मिलमा आउँथे। सबैसँग बुवाले गर्ने ठट्टाले आमा पिँढीको डिलमा बसेर मुसुमुसु हाँसिरहनुहुन्थ्यो। आहा, त्यो समय। कति प्यारो थियो।
मिलमा आएका मान्छेलाई पनि केही नखुवाई नपठाउने मेरी आमाको बानी। ‘खान्नँ’ भन्दा पनि सुखै नपाइने, पानी भए पनि खाइदिनै पर्ने। गाउँका मात्रै होइन, पर–परसम्मका मान्छेसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने मेरी आमाको त्यो हँसिलो चेहेरा मानसपटलमा छलङ्ग छ।
चाडवाड नजिकिएपछि मिलको घुइँचो थामिनसक्नु हुने। चिउरा कुट्न एक जनाले मात्रै नमिल्ने। मेरा दुई दाइ धान भुट्ने र चिउरा बनाउनेमा बस्नुहुन्थ्यो, मेरो ड्युटी चाहिँ आगो लगाउने हुन्थ्यो। कहिलेकाहीँ खेल्न जाने हतारोले कामै छाडिदिन्थे। बा–आमासँग बहाना बनाउँदै झुक्याएर घरबाट फुत्किन्थे। मिलको त्यो आवाज, पिठो पिस्ने ध्वनि र तातो चिउराको त्यो बास्नाले टोलकै वातावरण बेग्लै हुन्थ्यो।
हामी वर्षमा एकपटक मात्रै नयाँ कपडा पाउँथ्यौँ, त्यो पनि स्कुलकै ड्रेस। दसैंपछि नयाँ कपडामा स्कुल जान पाइन्छ भन्ने खुसीले त्यो ड्रेसले पनि विशेष बनाउँथ्यो। नयाँ ड्रेससँगै खुट्टामा हात्तीछाप पहिरिएर दसैं सकिएको पहिलो दिन स्कुल जाँदा शान लाग्ने। आहा, कति मिठा थिए ती पलहरू।
दसैंको रमझम सुरू भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरू भइसक्थ्यो। फूलपातीको दिन हामी सबै मिलेर गाउँभरि बाबियो माग्दै हिँड्थ्यौँ। प्रत्येक घरबाट मुठा–मुठा बाबियो बटुलेर मन्दिरमा राख्थ्यौँ। बाहरूले डोरी बाटेर पिपलको रूखमा पिङ हालिदिन्थे। पिङ नखेली पनि दसैं मनाइन्छ र? मनाए पनि त्यसको के अर्थ? भन्ने लाग्थ्यो। त्यसमा पनि वर्षमा एकचोटि धर्ती छोड्नैपर्ने मान्यता। दसैंमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’ कै हुन्थ्यो। पिङ खेल्दा र अरूलाई मच्चाइदिँदा आमाले खाना खान बोलाउँदाको पनि खासै वास्ता नहुने। त्यसमा अझै ‘लिङ्गे पिङ’ मा मच्चिएर पिपलको पात टिप्ने प्रतिस्पर्धा। मच्चिएर पिपलको पात टिप्न सक्नेको गाउँभरि चर्चा हुने। लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइँया’...
हाम्रो परिवार ब्राह्मण, त्यसमा पनि पूरै शाकाहारी। यस्तो माछा मासु काटमार भन्ने हाम्रो सर्कलमा थिएन। दसैंमा अरूको घरमा माछा मासुले दसैंलाई विशेष बनाउँथ्यो भने हाम्रो घरमा लेकको आलुको चाना। फलामको कालो कराइमा पकाइएको त्यो आलुको चाना र ठूलो मिस्टिनमा राखिएको ‘कनिके घिउ’ दसैंको स्वादिलो थालको मुटु हुन्थ्यो। बुवाले छिमेकका गाउँबाट खोजेर ल्याउनुहुन्थ्यो – सफा, कनिकाका दाना जस्तो कनिके घिउ। चिउराको माथि घिउ राखेर मुखमा क्वाप्प खाँदा दसैंको बेग्लै मिठास पाइन्थ्यो।
रातो माटो र सेतो कमेरोले सिँगारिएको चिटिक्कको हाम्रो घर, पिँढीको डिलमा बसेर मुस्कुराइरहने मेरी आमा, धान कुट्ने मिलको आवाज र तातो चिउराको सुगन्ध – यी सबै कुराले मेरो बाल्यकालको दसैं अझै पनि सम्झनामा ताजा बनाइरहेका छन् र युगौंयुगसम्म रहिरहनेछन्।
सबैमा दसैंको हार्दिक शुभकामना।।