अछामबासी धेरैले सम्झिन नचाहेको तर बिर्सिन नसकेको क्षण हो २०५८ साल फागुन ४ गतेको मंगलसेन आक्रमण।
अछाम जिल्लाको मंगलसेन सदरमुकाममा तत्कालीन नेकपा माओवादीको भीषण आक्रमण हुँदा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, क्याप्टेन सहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो।
माओवादीतर्फ कति हताहती भए भन्ने आधिकारिक जानकारी बाहिर आएन।
उक्त घटनाको विश्लेषण यहाँ चर्चा गर्न खोजिएको हैन।
आक्रमणमा ध्वस्त भएर पुनर्निर्माण भएको मंगलसेन दरबार र घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्माण गरिएको शान्ति वाटिकालाई कसरी प्रतिबिम्बित गर्न सकिन्छ भनेर छोटो चर्चा गर्न खोजिएको हो।

मंगलसेन बजारबाट माथि झण्डै आधा घण्टाको पैदल यात्रा हिँडेपछि जिल्ला प्रशासन कार्यालयको नजिकै मध्यपहाडी लोकमार्गको आडैमा अलिक उच्च ठाउँमा एउटा शान्ति वाटिका छ। वाटिकाको बीचमा खैरो रंगले पोतिएको एउटा स्मारक छ। हेर्दा सामान्य देखिने स्मारकमा कुनै चिह्न वा अक्षरहरू छैनन्।
केही सामान्य फलैंचा र बीचमा सानो उद्यान रहेको वाटिकाको वरिपरि सानो पर्खाल लगाएर नीलो र सेतो रंगले पोतिएको छ।
अलिक अग्लो ठाउँमा रहेकोले वाटिकासम्म जाने दुईतर्फी हिँड्न हुने सिँढी बनाइएको छ।
सामान्य भौतिक संरचनाको रूपमा मात्र लिँदा शान्ति वाटिकाको वर्णन सायद यतिकैमा टुंगिन्छ। तर युद्ध, मृत्यु, शोक, वेदना, माया, सम्झना, विछोड र पीडाको दृष्टिले यो वाटिकाले धेरै ठूलो अर्थ बोकेको छ र इतिहासको प्रतिक बनेर उभिएको छ।
यससँगै मंगलसेन दरबार र शान्ति वाटिकाको सम्बन्ध पनि उसैगरी जोडिएको छ। युद्धको समयमा अहिलेको शान्ति वाटिकामा नेपाली सेनाको व्यारेक थियो र मंगलसेन दरबारमा जिल्ला प्रशासन कार्यालय थियो। त्यही ठाउँमा प्रमुख जिल्ला अधिकारी र प्रहरीहरू मारिएका थिए। उक्त दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरू भई उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको भनेर तथ्य विभिन्न सञ्चार सामग्रीमा पढ्न पाइन्छ।
आधुनिक प्रविधिको कृत्रिम बौद्धिकतामा खोजी गर्दा यो दरबार १८ औँ शताब्दीको अन्त्यतिर निर्माण भएको भन्ने जानकारी भेटिन्छ। मंगलसेन दरबारको इतिहास र महत्वबारेको सम्पूर्ण प्रसंग यो छोटो आलेखमा समेट्न सकिँदैन।
यसको लामो इतिहास र महत्वको बारेमा छुट्टै चर्चा गर्न सकिन्छ।
सत्य यो हो कि यो दरबार सयौं वर्षको इतिहास बोकेको ऐतिहासिक सम्पदा हो।
आक्रमणको दिन मंगलसेन दरबार ध्वस्त पारिएको थियो। मंगलसेनको पहिचानको रूपमा रहेको दरबार ध्वस्त भएको २३ वर्षपछि अछामवासीले पुनर्निर्माण गरे। तर युद्धले रित्याएको काख, पुछिएको सिउँदो र गुमेको ज्यान कहिल्यै परिपूर्ति हुने छैन।
सायद त्यसैले जोन एप केनेडीले भनेका होलान् 'मानव जातिले युद्धको अन्त्य गर्नुपर्छ, नभए युद्धले मानव जातिको अन्त्य गर्छ।'
मंगलसेन दरबार र शान्ति वाटिकामा युद्ध झल्काउने कुनै अक्षर लेखेर वा संकेत गरेर युद्धका पीडाहरूलाई खोतल्ने प्रयास गरिएको छैन। प्राय: मान्छेले युद्ध चाहँदैन र युद्ध भइहाल्यो भने पनि भविष्यमा त्यस्तो युद्धको पुनारावृत्त नहोस् भन्ने चाहन्छ। त्यसैले विश्वमा विगतमा भएका युद्धका घाउहरू नकोट्याउने तथा युद्धरत पक्षप्रति वैरभाव उत्पन्न नगराउने प्रकारका स्मारकहरू बनाउने प्रचलन छ।
मंगलसेन वाटिकालाई पनि त्यस्तै स्मारकहरूसँग तुलना गर्दा अमेरिकाको वासिङ्टन डिसीमा रहेको भियतनाम भेटरन्स पार्कसँग तुलना गर्दा सान्दर्भिक नै हुन्छ।

अमेरिकाको वासिङ्टन डिसीमा अमेरिका-भियतनाम युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकको सम्झनामा बनाइएको आकर्षक र उत्सुकतापूर्ण पार्क छ। जहाँ युद्धमा मारिएका र हराएका अन्ठाउन्न हजार अमेरीकी सैनिकको नाम कलात्मक ग्रेनाइटमा लेखिएको छ। अनि ठाउँ ठाउँमा भियतनाम योद्धाहरूको प्रतिमा राखिएको छ। त्यहाँदेखि बाहेक उक्त युद्धप्रति नकारात्मक दर्साउने कुनै अक्षर त्यहाँ लेखिएको छैन। सायद वैरभाव दर्साउने कुनै संकेत वा अक्षर नलेख्दा युद्धको मानसिकताबाट भावी पुस्तालाई मुक्त गर्न सकिन्छ भन्ने पनि होला। साथै तत्कालीन युद्धरत पक्षहरू बीचमा भविष्यमा वैमनश्यता नहोस् भन्नका लागि पनि हुन सक्छ। अहिले अमेरिका भियतनाम घनिष्ट सम्बन्ध भएका व्यापार साझेदार राष्ट्रहरू हुन्।
सायद भियतनाम भेटरन्स पार्क निर्माण गर्दाका बखत दुई देशको सम्बन्ध नकारात्मक झल्काउने कुनै अक्षर वा चिह्न राखिएको भए अहिलेको सम्बन्धमा निकै अशोभनीय लाग्थ्यो होला। मंगलसेन शान्ति वाटिकामा पनि यस्तै बिम्बलाई उतार्न खोजिएको छ। जसरी सरकार र युद्धरत पक्षबीच वार्ता तथा सम्झौताको माध्यमबाट शान्ति स्थापना भयो त्यसरी नै शन्ति वाटिकाको मौनताले पनि सबैलाई स्वागत गर्ने वातावरण भएको छ।
नेल्सन मण्डेलाले भनेका छन्- क्षमा देऊ तर नबिर्स।
सायद अछामवासीहरूले पनि मंगलसेन आक्रमणलाई कहिल्यै बिर्सिंदैनन्। अहिले युद्ध शान्तिमा रूपान्तरण भएको छ। तर युद्धको घाउ भने अझै निको भएको छैन। कयौं घाइते र अपाङ्गहरू अझै पनि तड्पिरहेका छन्। त्यसो त, तत्कालीत युद्धरत पक्षले मंगलसेन आक्रमणमा हार, जित र क्षतिको चर्चा अहिले पनि गर्छन्। तत्कालीन नेकपा माओवादी जनसेनाका कमाण्डर तथा पूर्वउपराष्ट्रपतिले अछाममा भएको एउटा कार्यक्रममा मंगलसेन आक्रमणको कसरी योजना बनाइयो र कसरी आक्रमण गरियो भनेर गर्वका साथ आफ्नो भाषण गरेको प्रसंगलाई सञ्चार माध्यमहरूले निकै प्राथमिकता दिएका थिए। मंगलसेन आक्रमणमा विजय प्राप्त गरेको भनेर उक्त युद्धमा सामेल भएका केही लडाकु कमाण्डरले बोलेका कुराहरू पनि सामाजिक सञ्जालका भिडिओमा देख्न र सुन्न पाइन्छ। अहिले युद्धलाई कसले कसरी बुझ्ने बुझाउने भन्ने एउटा सन्दर्भ रहेता पनि भावी पुस्तालाई के सन्देश दिने भन्ने कुरा शान्ति वाटिका र मंगलसेन दरबारको पुनर्निर्माण जस्ता शान्तिका प्रयासहरूमा झल्किनु पर्दछ।
बर्ट्रान्ड रसेलले भनेका छन् 'युद्धले को सही हो भन्ने निर्णय गर्दैन, केवल को बाँकी रहन्छ भन्ने निर्धारण गर्छ'। त्यसैले बाँकी रहेकाहरूले अबको भविष्य कस्तो र कसरी बनाउने भन्ने बाटो तय गर्नुपर्दछ।
मंगलसेन दरबार र शान्ति वाटिकामा भावी पुस्तालाई इतिहासको सही सन्देश दिएर शान्ति र उज्वल भविष्यको निर्माणमा प्रेरित गर्न स्थानीय सरकारको सक्रियतामा केही रचनात्मक काम गर्न ढिला गर्नु हुँदैन। जसका लागि मंगलसेन दरबार र शान्ति वाटिकालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ। मंगलसेन दरबार र शान्ति वाटिकामा जाने सिधा पैदल बाटोको निर्माण गर्न सकिन्छ। मंगलसेन दरबारदेखि पालेवन हुँदै दायाँ बायाँ रेलिङ बार भएको सिँढी बाटो निर्माण गर्न सकिन्छ।

बाटोको दायाँबायाँ बोट बिरूवा तथा फूलहरू रोपेर आकर्षक बनाउन सकिन्छ। मंगलसेन दरबार परिसरमा दरबार आक्रमणमा मारिएका तत्कालीन प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी लगायतको नाम सहितको स्मारक राख्दा भावी पुस्ताका लागि जानकारी हुनसक्छ। युद्धका बेला गोली लागेर छियाछिया भएको बिजुलीको पोललाई पनि त्यतै कतै राख्न सकिन्छ सम्झनाको लागि। त्यस्तै गरेर शान्ति वाटिकाको स्मारकमा उक्त स्थानमा मारिएका सबै सैनिकहरूको नाम उल्लेख गर्न सकिन्छ र शान्ति वाटिकाको वरिपरि रूद्राक्ष र फूलका बोटहरू रोपेर शान्ति वाटिकालाई साँच्चिकै सुन्दर, शान्त, ऐतिहासिक तथा सन्देशमूलक बनाउन सकिन्छ।
मंगलसेन दरबार र शान्ति वाटिकालाई ऐतिहासिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकेमा अछाम घुम्न आउने पर्यटकहरू मंगलसेन घुमेर इतिहास, युद्ध र शान्तिका बारे स्मरण र चिन्तन गर्नेछन् अनि रामारोशन पुगेर प्रकृतिमा रमाउँदै प्रफुल्ल भएर फर्किने छन्।
युद्धको प्रभाव नराम्रो पर्छ नै तर युद्धको इतिहासबारे भावी पुस्तालाई गुमनाम राख्नुभन्दा पनि सत्य सन्देश दिएर शान्ति प्रवर्द्धनमा प्रेरित गर्नु नै उचित हुनेछ। अनि मंगलसेन दरबार र शान्ति वाटिकाले युद्धको सम्झनासँगै शान्ति र इतिहासको यथार्थ सन्देश दिनेछन्।