विसं. २०८२ कार्तिक १६ गतेको साँझपखको समय, बैठक कोठामा रहेको हस्पिटल बेडमा बा पल्टिरहनु भएको छ। बा होसमै हुनुहुन्छ तर शिथिल, निकै शिथिल हुनुहुन्छ। बोल्न सक्नुहुन्न, संकेत गर्नुहुन्छ।
बालाई हरेक दिन ६ वटा औषधि खुवाउनु पर्छ। म औषधि राखेको सानो बाकसमा के कति औषधि छ भनी हेर्छु। ‘टी एक्टर २० एमजी’को औषधि सकिएको छ। बालाई खाना खुवाएर आठ बजे खुवाउने औषधि हो त्यो। म भान्छा कोठातिर हेर्छु। आमा, भाउजू खाना बनाउँदै हुनुहुन्छ। म पर्स बोकेर शान्तिनगर गेटतिर औषधि किन्न निस्कन्छु।
मेडिकलमा भिडभाड छ। म पालो कुर्छु। बाको लागि आवश्यक पर्ने डाइपर, वाइप्स अनि टिस्यु पेपर किन्छु। मेडिकलमा क्यूआरमार्फत पैसा तिर्छु।
सायद म फर्कन ढिला भइसकेको थियो, वा बालाई गाह्रो भयो, के भयो थाहा छैन। मोबाइलमा फोन बज्न थाल्यो, हेरेँ आत्तिएँ। कान्छी दिदीको फोन थियो। हतार हतार उठाएँ, बोलेँ ‘हेलो’।
‘कता हो?’ दिदीले सोध्नुभयो।
‘शान्तिनगर चोकमा छु। औषधि किनेर हिँडिहालेँ। पाँच मिनेटमा आइपुग्छु,’ मैले भनेँ।
‘ल ल’ भन्दै दिदीले चौध सेकेण्डमै फोन काट्नुभयो।
पाइलाको गति बढाएँ। झमक्क साँझ परिसकेको थियो। झन्डै आठ बजेको थियो। बालाई औषधि खुवाउने बेला भइसकेको थियो। हातमा प्लास्टिकको झोला थियो। त्यही झोलामा त थियो बालाई चाहिएको औषधि, डाइपर अनि वाइप्स पनि। शान्तिनगरको फुटसल हुँदै हतारिँदै अगाडि बढ्दै थिएँ।
‘तीन दिनभित्र बालाई के-के हुने हो?’ दिदीले भनेको कुरा एक्कासि कानमा गुञ्जियो। उहाँले तीन दिनभित्र बा’को मृत्यु हुनसक्छ भन्ने संकेत गर्नु भएको थियो, त्यही ठाउँमा।
दिदीले किन त्यस्तो भन्नुभयो? के तीन दिनभित्रै बाको मृत्यु हुन्छ त? बाको यो धरामा अबको बास तीन दिन मात्र हो त? तर दिदीले भनेको तीन दिन त बितिसकेको थियो।
‘तपाईं हावा कुरा गर्नुहुन्छ’ मैले भनेको थिएँ।
‘हावा भन्छ फेरि। बा त हिजै गइसक्नु भएको थियो। तैँले केही देखिनस्। माइला दाइ र म मात्र थियौँ, बाको सास त गइसकेको थियो। फेरि फर्केको हो,’ दिदीले भन्नुभयो।
गइसकेको सास पनि फर्कन्छ र? मैले सोचेँ तर केही प्रतिक्रिया दिइनँ। दिदीले भनेको त्यो वाक्य मेरो कानमा फेरि गुञ्जियो, पटक पटक गुञ्जिरह्यो। मैले पाइलालाई झनै तीव्र गतिमा अगाडि बढाएँ। म दौडेको त थिइनँ तर दौडेजस्तै पो भएछु।
नमस्ते किराना पसल पुग्दा फेरि फोन बज्यो, सुरुमा उठाइनँ तर घण्टी बजिरह्यो। दाहिने हात पाइन्टको खल्तीमा हालेँ, मोबाइल झिकेँ, ठूल्दाइको फोन थियो, मन त फेरि भारी भयो।
‘हेलो, म आइपुगिहालेँ’ भन्दै फोन राखेँ। बालाई केही भइसक्यो कि? मन अमिलो भयो। हतारिँदै घरभित्र छिरेँ।
बा त्यही खाटमा पल्टिरहनु भएको थियो। बालाई औषधि खुवाउने बेला भएको थियो। माइला दाइले बालाई उठाउनु भयो। मैले औषधि खोलेर हातमा लिएँ, बालाई खुवाउन भनी दाइलाई दिएँ तर त्यो औषधि खस्यो। औषधि खस्यो तर कहाँ? खसेको औषधि त कतै देखिएन, खोज्दा पनि भेटिएन। औषधि खसेन भनौँ भने न मेरो हातमा थियो न दाइको। कतै थिएन, खसेको पनि देखिएन।
मैले अर्को औषधि खोलेँ। दाइले बालाई खुवाउनु भयो। बाले मुखमा त राख्नुभयो तर निल्न अहँ सक्नु भएन। औषधि खानै सक्नु भएन।
मैले फेरि अर्को औषधि निकालेँ। दाइलाई दिएँ, बाले जबर्जस्ती निल्नुभयो।
बाले औषधि खानुभयो। औषधिपछि खाना खुवाउनु पर्थ्यो तर खाना खुवाउन गाह्रो थियो। बाले भात, रोटी नखाएको धेरै दिन भइसकेको थियो। मिक्सरमा पिसेर झोल बनाएर खुवाउनु पर्थ्यो, झोलको रूपमा।
दाइले बालाई मिक्सरमा पिसेको दूध रोटी खुवाउन थाल्नुभयो, दाल पियाउनुभयो। बाले सधैँजसो आँखा चिम्लेर खाँदै हुनुहुन्थ्यो, अलिकति खानुभयो तर सधैँ खानेजसरी खान सक्नु भएन, वाकवाक गर्दै कचौरामै थुकिदिनुभयो अनि फेरि खाटमै पल्टिन खोज्नुभयो।
खानापछि अर्को औषधि खुवाउनु पर्थ्यो। मैले औषधि तयार गरेर दाइलाई दिएँ। दाइले खुवाउनु भयो। बाले दुःखसँग निल्नुभयो।
बा खाटमा चुपचाप चुपचाप पल्टिनु भयो। कान्छी दिदी बासँगै बस्नुभयो। हामीले खाना खायौँ। खाने काम सकियो। तीन जना दाजुभाइ त्यही बैठक कोठामा बस्यौँ। आमा, भाउजू र दिदी भान्छातिरै हुनुहुन्थ्यो।
बा उसैगरी सुतिरहनु भएको थियो, चुपचाप, चुपचाप। हामी सबै मौन थियौँ। बालाई पिसाबको पनि समस्या थियो। बा पिसाब फेर्न सक्नु हुन्नथ्यो। मूत्रथैलीमा पाइप जोडिएको थियो। त्यही पाइपबाट प्लास्टिकको झोलामा तपतप पिसाब चुहिरहेको थियो। बाको अवस्था सुधारोन्मुख थिएन।
भदौ २३ गतेको घटना पश्चात् देशमा चुनाव घोषणा भएको थियो। मतदाताहरूको लागि नामावली दर्ताको काम सुचारु थियो। म बाको सेवामै थिएँ। तँलाई कार्यालयको काममा जानुपर्छ भने जा न त, कार्यालयको काम सकेर आउनु ठूल्दाइले भन्नुभयो। बालाई छोडेर कतै जान मन थिएन। भोलि मंगलबार छ, जाँदिनँ, एक/दुई दिन हेर्छु मैले भनेँ। बाँकी कुरा केही भएन।
बालाई अस्पतालबाट ल्याएदेखि एक्लै छोड्ने गरेका थिएनौँ। पालो मिलाएर दाजुभाइ बस्थ्यौँ। कहिले तीन-तीन घण्टाको पालो हुन्थ्यो, कहिले चार-चार घण्टाको। कहिले कान्छी दिदीले पालो दिनुहुन्थ्यो। माइला दाइ बिहान बानेश्वर क्याम्पस पढाउन जानुहुन्थ्यो, उहाँलाई बिहानै उठ्नुपर्थ्यो। त्यही भएर बिहानको समयमा बाको सेवा माइला दाइले गर्नुहुन्थ्यो।
मलाई ढिला सुत्ने बानी परेको थियो। राति बाह्र, एक बजेसम्म बाको सेवामा प्रायः म बस्थेँ। मध्यरातमा ठूल्दाइले पालो दिनुहुन्थ्यो। म जतिबेला पनि बस्न सक्छु, मलाई जानु कहीँ छैन, ठूल्दाइ भन्नुहुन्थ्यो। समय मिलाएर साइला दाइ पनि आइराख्नु हुन्थ्यो। उहाँ आउँदा अलि सहज हुन्थ्यो।
नौ बज्दै गर्दा साइला दाइ टुप्लुक्क आइपुग्नु भयो। घरमा हामी चारै जना दाजुभाइ छौँ। कान्छी दिदी हुनुहुन्छ। आमा अनि माइली भाउजू पनि घरमै हुनुहुन्छ। परिवारका सबै जना छौँ। ‘चार दाजुभाइ छौँ, भर्खर नौ बजेको छ, कल ब्रेक खेलौँ, समय बिताउन पनि सहज हुन्छ’ भन्ने कुरा भयो। एक राउन्ड खेलौँ भन्ने सबैको सल्लाह भयो। आखिर बालाई पनि त कल ब्रेक मन पर्थ्यो।
दसैँमा हामी चार दाजुभाइ प्रायः कलब्रेक खेल्थ्यौँ। चार दाजुभाइ नहुँदा दाइका छोराहरूले साथ दिन्थे। बा खुबै रमाएर हामी सँगै बस्नुहुन्थ्यो। खुबै रमाउनु हुन्थ्यो। चार हात त आउँछ भन्नुहुन्थ्यो, लौ केही छैन भन्नु हुन्थ्यो। लौ यो फाल भनेर सिकाउनुहुन्थ्यो। अर्कैले खायो भने जा खाल्यो भन्नुहुन्थ्यो।
‘बाजेले दामी कमेन्ट गर्नुहुन्छ है?’ सन्देशले भन्थ्यो।
हामीले तास खेल्दा बा पनि रातभरि बस्नुहुन्थ्यो। कहिले मध्यरातमा उठेर हामीले खेलेको पनि हेर्न आउनुहुन्थ्यो, रमाउनुहुन्थ्यो। कहिलेकाहीँ बालाई पनि हाम्रो खेलमा समावेश गर्थ्यौँ, खुसी हुनुहुन्थ्यो। बाको कुरा गर्दै हामी तास खेल्न थाल्यौँ।
‘स्यान्दिदी तपाईं बालाई हेर्नु, हामी तास खेल्छम् है,’ सुत्न जान लागेकी दिदीलाई भनेँ।
‘म हिजो राति बसेकी थिएँ, आज चाँडै सुत्छु, बिहान उठ्छु’ भन्दै दिदी माथिल्लो तलामा सुत्न जानुभयो। हामीले केही भनेनौँ।
तास बाँड्यौँ। तास खेल्न थाल्यौँ तर तास त समय बिताउने मेलो मात्र भएको थियो। ध्यान बा तिरै थियो। बा कोठाको दक्षिणतिर हुनुहुन्थ्यो। म बा को विपरीत दिशामा बसेर तास खेल्दै थिएँ।
बाको मुखमा खकार आउँथ्यो। बाले संकेतले बोलाउनुहुन्थ्यो। म उठ्थेँ, टिस्यु पेपर च्यात्थेँ। बाको छेउमा जान्थेँ। बाले जिब्रो निकाल्नुहुन्थ्यो। उहाँको जिब्रोमा रहेको सेतो खकार टिस्युले पुछिदिन्थेँ। बाले फेरि मुख बन्द गर्नुहुन्थ्यो। बा दक्षिणतिर कोल्टे फर्केर सुत्नु भएको थियो। सलानी पानी तपतप चुहिरहेको थियो। मूत्रथैलीबाट उसैगरी पिसाब आइरहेको थियो। सायद इनपुट र आउटपुटको प्रमाण थियो त्यो।
तास खेल्दै गर्दा बाको मुखमा खकार आउने र पुछ्ने क्रम पनि चलिरह्यो। घडीको सुई पनि एकनासले घुमिरहेको थियो। दस बज्दै गर्दा कल ब्रेकको एक राउन्ड सकियो। थप खेल्ने कुरा भएन। माइला दाइ बासँगै बस्छु भन्नुभयो। मध्यरातपछि ठूल्दाइ उठ्ने कुरा भयो, त्यसपछिको पालो साइला दाइ र मेरो थियो। हामी तीन भाइ आ-आफ्नो ठाउँमा सुत्न गयौँ। आमा र भाउजू सुतिसक्नु भएको थियो। माइला दाइ बासँगै बस्नुभयो।
दस बजिसकेको थियो। निद्रा लागेन। मोबाइल चलाएँ। कोल्टे फेर्दै सुत्न खोजेँ। यता उता फर्कँदा फर्कँदै आँखा झ्याप्प भएछन्। निदाएँछु।
मोबाइलमा फोन बज्यो। माइला दाइको थियो। दस बजेर ४८ मिनेट गएको थियो। फोन उठाएर भनेँ हेलो।
‘बालाई ट्वाइलेट आयो, तल आइज त’ दाइले भन्नुभयो।
‘हुन्छ’ भन्दै बा भएको बैठक कोठातिर झरेँ।
बालाई ट्वाइलेट गराउन सजिलो थिएन। बालाई सलानी पानी लगाइरहेको हुन्थ्यो। सलानी पानी नलगाए बालाई पिसाबमा समस्या हुन्थ्यो। बाको पिसाबबाट रगत बगिरहेको हुन्थ्यो। सलानी नदिए रगत जम्ने समस्या हुन्थ्यो। ट्वाइलेट गराउँदा सलानीको पाइप निकाल्नु पर्थ्यो। मूत्रथैलीमा जोडिएको प्लास्टिकको झोलाको समेत ख्याल गर्नुपर्थ्यो। ट्वाइलेटमा बसाउँदा समाउनु पर्थ्यो। यी सबै काम एक्लै गर्न गाह्रो हुन्थ्यो।
बैठक कोठामा आउँदा बा उठिरहनु भएको थियो। ट्वाइलेटमा बसाऊ भन्ने संकेत गर्दै हुनुहुन्थ्यो। दाजुभाइ भएर बालाई पटमा बसाल्यौँ। बाले अलिकति दिसा गर्नुभयो। माइला दाइले पुछिदिनु भयो। डाइपर निकै फोहोर भएको थियो, निकालिदिनुभयो। बालाई दुई भाइले उठाएर बिस्तारै खाटमै बसाल्यौँ। डाइपर चेन्ज गरिदिन थाल्यौँ। डाइपर चेन्ज गर्न पनि सहज थिएन।
डाइपर चेन्ज गरिदिन हामीलाई कुनै हतार भएन। बा पल्टिरहनु भएको थियो। डाइपर लगाइदिनु भन्दा अघि बाको पछितिर बिस्तारै वाइप्सले सफा गरिदियौँ, कति वटा वाइप्सले सफा गरियो, यकिन भएन तर थुप्रै वाइप्सको प्रयोग भयो। त्यो बेला बालाई यति मायाले, यति जतनले ख्याल गर्यौँ कि सम्झँदा पनि अचम्म लाग्छ। सबैतिर सहज तवरले निकै सफा राखिदियौँ। लाग्छ, फोहोर भन्ने कहीँ कतै रहेन। नयाँ डाइपर बिस्तारै जतनसँग लगाइदियौँ।
सलानी पानीको पाइप उसैगरी जोडिदियौँ। मूत्रथैलीमा जोडिएको पाइप पनि सहज हुने गरी मिलाइदियौँ। बा आनन्दसँग बेडमा पल्टिनुभयो।
म बाको खुट्टातिर बसेँ। बालाई हेरेँ।
‘बा कस्तो हुनुहुन्थ्यो, कस्तो भइसक्नु भयो है,’ बालाई हेर्दै बिस्तारै भनेँ।
‘अम्’ दाइले मुख नखोली भन्नुभयो।
बाका खुट्टा छुन मन लाग्यो। बाका खुट्टा छोएँ। पैतालादेखि बिस्तारै तिघ्रासम्म छोएँ। ती खुट्टामा ताप थिएन, निकै चिसा थिए।
‘बा का खुट्टा त चिसा छन् त,’ मैले अत्तालिँदै भनेँ।
‘बाले भर्खर ट्वाइलेट गर्नु भएको थियो। सिरक ओढ्नु भएको थिएन। त्यही भएर होला। जीउ तातै छ,’ दाइले भन्नुभयो।
मैले बालाई हेरेँ। स्वास फेरिरहनु भएको छ। आराम गरिरहनु भएको छ। ठीक हुनुहुन्छ। यी सबै काम गर्दा झण्डै आधा घण्टा लाग्यो कि। सवा एघार बज्यो होला। ‘केही भयो भने मलाई उठाउनु है’ भन्दै सुत्न जान्छु भनेँ। दाइले हुन्छ भन्नुभयो। म कोठामा उक्लिएँ।
मध्यरातमा कोठा बाहिर कोही जोडले चिच्यायो। को बोलेको प्रष्ट सुनिनँ। बुवालाई गाह्रो भइसक्यो, बुबा गइसक्नु भयो यस्तै केही शब्द कानमा पर्यो। नारायण भन्दै कसैले बोलाए जस्तो पनि लाग्यो।
झ्याकझुरुक उठेँ। कट्टु र गञ्जी मात्र लाएर सुतेको थिएँ, सोही अवस्थामा बा सुतेको कोठामा दौडेर पुगेँ। माइला दाइको काखमा बा पल्टिनु भएको थियो। मुख खुला नै थियो। स्वास चलेको देखिँदैन। त्यसपछि त के भनौँ, के लेखौँ, दिमाग शून्य, मन अस्थिर। के गर्ने, कसो गर्ने न दिमागले काम गर्छ न मनले।
भित्तामा रहेको घडी हेरेँ। बाह्र बजेर बीस मिनेट गएको थियो। घडी केही छिटो बनाइएको थियो, सायद दश मिनेट छिटो थियो। वास्तविक समय त सवा बाह्र बजे हो। सवा एघारसम्म त म बासँगै थिएँ। बाले फेरेको श्वास हेरेको थिएँ, बाको शरीरमा बग्दै गरेको सलानी पानी हेरेको थिएँ, मूत्रनलीबाट झर्दै गरेका पिसाबका थोपाहरू हेरेको थिएँ। सबै ठीक थिए तर एक घण्टापछि त सबै सकिएछ।
बग्दै गरेको सलानी पानी बन्द छ, मूत्रनलीबाट पिसाब चुहिएको छैन, आँखा बन्द छन्, हात पाउ केही चलेका छैनन्। बा त शिशिरको वृक्ष जस्तै पो भइसक्नु भएछ। अवस्था उजाड, उजाड छ। बा आँखै अगाडि हुनुहुन्छ तर उहाँमा जीवन छैन। जीवन सकिन कति बेर लाग्दो रहेछ र? जीवन सकिएको त पत्तै नहुने रहेछ।
‘गङ्गा जल खुवाइ दे,’ माइला दाइले भन्नुभयो।
बा सुत्ने गरेको बेडमुनि गङ्गाजल थियो, चम्चाले खुवाइ दिएँ। बाले निल्नु भयो कि भएन, थाहा छैन। जे भए पनि बाको शरीरभित्र गङ्गा जल पर्यो। साइला दाइ, ठूल्दाइ पनि सँगसँगै बैठक कोठामा झरिसक्नु भएको थियो। उहाँ कतिखेर झर्नु भयो पत्तै पाइनँ।
‘साइला भागवत पाठ गर,’ माइला दाइले भन्नुभयो।
भागवतको कुन अध्याय हो? मलाई थाहा भएन। साइला दाइ पाठ गर्न थाल्नुभयो। बाँकी के भयो थाहा भएन।
भाउजू हतारिँदै यता उता गर्दै हुनुहुन्थ्यो। ‘कान्छी दिदीलाई बोलाउनु’ मैले भनेँ। केही छिनमै कान्छी दिदी आउनुभयो। त्यतिन्जेल पूजा कोठामा सुत्नु भएको आमा उठिसक्नु भएको थियो। आमा बाको शिर छेउमा उभिनुभयो। दिदी आमासँगै हुनुहुन्थ्यो।
आमा बर्बराउन थाल्नुभयो, सायद राम, राम भन्दै हुनुहुन्थ्यो कि? माहोल शोकाकुल बन्यो। आमाका ओठ लुगलुग कापिरहेका थिए। दाह्रा किटे जस्तै गरी माथिल्लो ओठले तल्लो ओठलाई टोक्नु भएको थियो। दिदीको मुहार कालो भएको थियो।
‘शारदा, जाऊ सुनको प्रतिमा लिएर आऊ,’ माइला दाइले भाउजूलाई भन्नुभयो। भाउजू सुनको प्रतिमा लिन कोठामा छिर्नु भयो। खोज्नुभयो तर भेट्नु भएन। बालाई समात भन्दै सुनको प्रतिमा लिन माइला दाइ जानु भयो।
ओहो कस्तो भाग्य, बाको शिरलाई मैले मेरो काखमा राखेँ। बालाई हेरेँ, हेरिरहेँ। एक घण्टा अगाडिसम्म सुस्त गतिमा सास फेरिरहनु भएका बाको स्वास थिएन। मुख खुला थियो, आ गरिराखेको। दुई हातले बाको मुख बन्द गरिदिन खोजेँ, तर बन्द भएन। बा चिर निद्रामा गइसक्नु भएको थियो। बा मेरै काखमा हुनुहुन्थ्यो। माइला दाइले सुनको प्रतिमा मुखमा हालिदिनु भयो। दही खुवाइदिनु भयो।
बाको शरीर त तातो नै थियो। पक्कै हर्ट अट्याक आएको हुनुपर्छ। मैले मुटुको छेउमा थिचिदिएँ। तर शरीर केही हलचल भएन। हंस वायु हो यो। माइला दाइले भन्नुभयो। मूत्रथैलीमा पाइप जोडिराखेको थियो। पाइप निकाल भन्नु भयो। मैले निकाल्न खोजेँ तर आँट आएन। जोडले निकाल्न सकिनँ।
ओहो, बालाई दुख्ला भन्ने कत्रो पीर? साँच्चै त्यो निकाल्दा बालाई दुख्यो होला कि दुखेन होला, थाहा छैन। मूत्रथैलीको पाइप यताउता बनाउँदा समेत दुख्यो दुख्यो भन्नुहुन्थ्यो तर माइला दाइले मूत्रथैलीमा जोडेको पाइप निकाल्दा बा बोल्नु भएन, नदुखेरै होला। सलानी पानीको पाइप त अघि नै निकालिसकेको थियो।
बाले महाप्रस्थान गरिसक्नु भएको थियो। उहाँको शरीर हामीसँगै थियो तर उहाँको सास थिएन। सास नै त रहेछ, सबै थोक। सास हुँदा शरीर हुने रहेछ, सास बिनाको शरीर त शव बन्दो रहेछ। कठै मानिसको चोला, सासमा अड्किएकोछ।
बाको महाप्रस्थान भयो। बाले हामीलाई छोडेर जानुभयो। हामीले बालाई हाम्रो साथमा राख्न सकेनौँ। हामी सबैका मुहार मलिन भए। मेरै छेउमा उभिएका माइला दाइका खुट्टा काप्न थाले, सुकसुकाउन थाल्नु भयो। उहाँ रुन थाल्नु भयो।
‘नरुनु’ उहाँलाई च्याप्प समाउँदै मनलाई दह्रो पारी मैले भनेँ। उहाँ रुनुभयो तर मेरा आँखाबाट अहँ कुनै आँसु झरेनन्। रुँदा-रुँदा सकिसकेका आँसु कहाँबाट झर्नु? आँसु झारेर बा फर्कने पनि त होइन।