’माटो नचलाएर बस्नै सक्दिनँ, माटोसँग प्रेम छ,’ ९१ वर्षीय इयोङसु झार उखेल्दै भन्छन्। हामी बाक्लो ज्याकेटमा बस कुरिरहेका छौँ। उनी भने बिहानको चिसोको पर्बाह नगरी नाङ्गा हत्केलाहरूले माटो चलाइरहेका छन्।
दक्षिण कोरियाको ग्याङ्ग्वाओन प्रान्तस्थित वन्जु सहरको पश्चिमतर्फ, छाङयाङरी नजिक मुख्य सडकभन्दा माथि रहेको करिब दुई रोपनी बारीमा ८६ वर्षीय इयोङसु सबेरै आइपुग्छन्। बिहानको घामका किरणहरू डाँडाको टुप्पोमा पुग्नुअघि नै इयोङसुका पैतालाले माटो छोडिसकेका हुन्छन्।
बाटोमाथिको भिरालो बारीमा उनले काम गरिरहेको देखेपछि हाम्रो ध्यान उनीतर्फ गयो। झुकेको ढाड र उमेरले विश्राम खोजेजस्तो देखिने उनका हातहरूले माटो छोड्न मानेका छैनन्।
उनको बारीमा मकै, प्याज, लसुन, काँक्रो, फेछु (कोरियाली बन्दा), सखरखण्ड र सिमी लगायतका धेरै बाली छन्। बिहानैदेखि गोडमेलमा व्यस्त उनीसँग मैले सोधेँ, ‘हजुरबा, यो उमेरमा कति धेरै दुःख गर्नुभएको?’
उनी दाँत नभएका गिजा देखाउँदै मुस्कुराए र छोटो उत्तर दिए, ‘माटोसँग वर्षौँको प्रेम छ। माटो नचलाएर बस्नै सक्दिनँ।’
हामीलाई उनको कहानी सुन्न मन लाग्यो। अर्को बसमा जाने निधो गरेर उनीसँगै गफ गर्न थाल्यौँ।
’माटो भनेको त आमा हो,’ उनी भावुक हुँदै विगत सम्झन्छन्।
माटोसँगै जीवन सुरु गरेका उनका बाबुआमा पनि किसान थिए। उनीहरूको आफ्नै जमिन थियो। तर जापानी औपनिवेशिक कालमा लागू गरिएको भूमि व्यवस्थाका कारण लाखौँ कोरियाली किसानझैँ उनीहरूले पनि आफ्नो स्वामित्वको जमिन गुमाए।
’हामीले पनि सबैथोक गुमायौँ,’ उनले घाँटी तन्काउँदै निकै बेर लगाएर भने, ‘तर, हिम्मत नगुमाएकोले आजको दिन देख्न पाइयो।’
दोस्रो विश्वयुद्ध र कोरियाली युद्धका कारण लाखौँ मानिस विस्थापित भए र कृषियोग्य जमिनहरू नष्ट भए। युद्धपछि त्यसले निम्त्याएको भोक, गरिबी र विस्थापनका ती कहालीलाग्दा दृश्य उनले आफ्नै आँखाले देखेका छन्।
जीवन निर्वाहका सबै विकल्प सकिएपछि उनको परिवार पहाडतिर सरेर जङ्गल फडानी गर्दै आगो लगाएर खेती गर्न बाध्य भयो। त्यसबेला यसरी खेती गर्ने किसानहरू उल्लेख्य सङ्ख्यामा रहेको उनी बताउँछन्।
कोरियन भाषामा यस्ता किसानलाई ‘ह्वाजनमिन’ भनिन्थ्यो, जसको अर्थ आगो लगाएर खेती गर्ने किसान, वा नेपाली सन्दर्भमा ‘खोरिया किसान’ भन्ने हुन्छ।
खाङवोन क्षेत्रका पहाडी पाखाहरूमा यस्ता खोरिया किसानहरूको बाक्लो बस्ती थियो। खोरिया खेतीमा प्रायः मकै, कोदो र आलुजस्ता कम पानी चाहिने बाली लगाइन्थ्यो। एक–दुई वर्ष खेती गरेपछि जमिनको उर्वराशक्ति तीव्र रूपमा घट्ने भएकाले अर्को डाँडोमा सर्नुपर्थ्यो। खरले छाएका अस्थायी घर, सीमित भाँडाकुँडा र केही कपडा मात्र उनीहरूको सम्पूर्ण सम्पत्ति हुन्थ्यो। बारम्बार बसाइँ सर्नुपर्ने बाध्यताले बालबालिकाहरू औपचारिक शिक्षाबाट वञ्चित हुन्थे।
’म चाहेर पनि विद्यालय जान पाइनँ,’ इयोङसु सम्झन्छन्।
’तिमी कोरियन अक्षर बुझ्छौ?’ उनले मलाई सोधे।
’हजुर, बुझ्छु हजुरबा,’ मैले भनेँ।
त्यसपछि एउटा सानो छेस्को समातेर भुइँमा कोतार्दै आफ्नो नाम लेखिसकेर मुसुक्क हाँस्दै भने, ‘ठुलो भएपछि साथीहरूसँग कोरियन अक्षर पढ्न र लेख्न सिकेँ।’
सन् १९५० को दशकको युद्धोत्तर अवधि दक्षिण कोरियाको इतिहासमै सबैभन्दा चरम गरिबीको कालखण्ड थियो। त्यो समयमा कतिपयले भएको थोरै जमिनसमेत बेचेर छाक टार्न खोरिया किसान बन्नुपरेको थियो। यस्ता खोरिया किसानलाई पहाडी क्षेत्रमा खानेपानीको चरम अभाव हुन्थ्यो भने वर्षा याममा चुहिने घरले सधैँ दुःख दिन्थ्यो।
त्यसमाथि हिउँदको पीडा त वर्णन गरेर साध्य थिएन। बाँच्नकै लागि माइनस २५ डिग्रीसम्म झर्ने कठोर जाडो र बाक्लो हिउँसँग जुधिरहनुपर्थ्यो। यति ठुलो दुःखका बिच पनि उनी पुरानो समय सम्झेर हल्का मुस्कुराउँदै भन्छन्, ‘त्यो बेलाको आनन्द छुट्टै थियो। अहिलेजस्तो पैसाको तनाव थिएन नि।’
सन् १९७० को दशकको सुरुवातमा सेमाउल उन्दोङ (नयाँ गाउँ योजना) सुरु भयो, जसले ग्रामीण बस्तीहरूको रूपान्तरणको अभियान अघि बढायो। यसैबिच सरकारले वन संरक्षण नीतिअन्तर्गत सन् १९७० को दशकको मध्यतिर पहाडमा बसोबास गर्ने हजारौँ ‘ह्वाजनमिन’हरूलाई तलका बस्तीमा स्थानान्तरण गर्ने नीति लागू गर्यो।
कोरियाली सरकारका तथ्याङ्कअनुसार यस प्रकारको व्यवस्थित पुनर्स्थापना, औद्योगिकीकरण र सहरीकरणका कारण सन् १९७० को दशकमा लाखौँ ग्रामीण बासिन्दा रोजगारीको खोजीमा सहरतिर झरे। त्यससँगै परम्परागत खोरिया खेती पनि देशबाट लगभग लोप हुँदै गयो। इयोङसुको परिवार पनि त्यही ऐतिहासिक परिवर्तनको एउटा अंश बन्यो। उनीहरू पूर्वतर्फको पहाडी बस्ती छाडेर अहिलेको वन्जु क्षेत्रमा आए।
आफ्नो बारीको माथिल्लो भाग देखाउँदै उनी भन्छन्, ‘सरकारले सुरुमा यत्ति मात्रै जग्गा दिएको थियो। पछि अलिअलि किनेर बढाएँ। तर पछि सडक निर्माण हुँदा केही भाग सरकारले नै अधिग्रहण गर्यो।’
यो ठाउँमा आएपछि इयोङसुको परिवारले वरपरका खेत भाडामा लिएर खेती गर्यो। त्यसबाट आर्जित आम्दानीले छोराछोरीलाई उच्च शिक्षा दिलाउन सके। आज उनीहरू विभिन्न प्रतिष्ठित कम्पनीमा आबद्ध छन्।
अहिले उनी सडकपारिको आधुनिक अपार्टमेन्टमा छोराबुहारीसँग बस्छन्। दैनिक खर्चका लागि उनी सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ताका साथै आफ्नै बारीमा फलाएका अर्ग्यानिक तरकारी बेचेर केही आम्दानी पनि गर्छन्। तर पारिवारिक सम्पन्नता र आधुनिकताले पनि उनलाई माटोबाट टाढा राख्न सकेको छैन। नातिले बेला–बेला सम्झाउँछन्, ‘हजुरबा, अब उमेर ढल्कियो, खेती नगर्नुस्।’ तर उनी हाँस्दै टारिदिन्छन्।
’खेती गर्दागर्दै नौ दशक बितिसके,’ उनी भन्छन्, ‘माटो नछोए बिरामी भएजस्तो लाग्छ। माटो मेरो लागि औषधि हो।’
हामीसँग केहीबेर कुराकानी गरेर उनी फेरि झार उखेल्न सुरु गर्दै भने, ‘तिमी कुरा गर्दै गर है, म काम गर्छु।’
मैले उनको निधार हेरेँ। मुजा परेको छाला अब्बल कलाकारले कोरेको बुट्टाजस्तै देखिएको थियो।
इयोङसुको पुस्ताको अथक मेहनत र त्यागका कारण आज दक्षिण कोरिया अर्थतन्त्र र प्रविधिमा अग्रणी मुलुकमध्ये एक बनेको छ। पहाडका पुराना खोरिया बस्तीहरू कतै जङ्गलमा रूपान्तरण भएका छन् भने कतै आधुनिक गरा खेतीमा रूपान्तरण गरिएका छन्। समयसँगै जमिन परिवर्तन भयो, देश परिवर्तन भयो, तर इयोङसुको माटोप्रतिको प्रेम भने कति पनि परिवर्तन भएको छैन।
तसर्थ पनि कोरियाली समाजमा इयोङसु र उनको पुस्ताका ‘ह्वाजनमिन’हरूलाई केवल वन फडानी गर्ने किसानका रूपमा मात्र हेरिँदैन। खरानीको थुप्रोबाट उठेर गरिबी र भोकमरीले ग्रस्त कोरियालाई आजको समृद्ध कोरिया बनाउने कर्मवीरका रूपमा सम्मान गरिन्छ।
इयोङसु आफ्नै काममा व्यस्त भए। हामी भने बस आउने बेलासम्म उनलाई नै टुलुटुलु हेरिरह्यौँ। उनका हातहरूले मूला वरिपरिका झार उखेल्न थाले। उमेरले ढाड कुप्रो बनाएको छ, दाँतहरू झरेका छन्। तर खोरिया खेतीको इतिहास बोकेका ती हातहरू अझै रोकिएका छैनन्।

-1793615553.jpg)
-1793615553.jpg)