गाउँमा बिहे भोजको दिन थियो। मेरा अरू केही साथीहरू थिए, जोसँग मेरो निकै राम्रो दोस्ती थियो। केही दिन अघि बिहे भोजको निम्तो मेरो घरमा पनि आइपुगेको थियो। सानैदेखि म बिहे, व्रतबन्ध जस्ता भोजहरूमा खासै हिँड्न डुल्न नरुचाउने स्वभावको थिए।
त्यो दिन पनि म आफ्नै पढाइमा व्यस्त थिएँ। मेरा केही साथीहरू मलाई भोजमा सँगै लैजाने सोचले घर अगाडि उभिएर चिच्याउँदै थिए, ‘ओइ! जाम भोज खान। लुगा लगा। पहिला भोज खाम अनि यतै खेल्न आउँला।’
मैले धेरै पल्ट भोजमा जान इन्कार गर्दा पनि उनीहरूको बारम्बारको करकापलाई टार्न नसकेर गुलाफी रङको जामा लगाएर तयार भएँ र उनीहरूसँगै केही पाइला चालेर हामी भोज घरमा पुग्यौँ। त्यहाँ पुग्दा घरको पिँढीमा भोज लगभग सुरु भइसकेको थियो। धेरै परिकारहरूको स्वादिलो बास्ना बिहे घर छेउको बाटोसम्म आइपुगेको थियो।
अघिल्लो साँझ त्यही पिँढीमा बसेर गाउँका महिला पुरुषहरू मिलेर खुब मीठो भाकामा रत्यौली खेलेका थिए। अघिल्लो साँझ पनि रत्यौलीमा जम्मा भएकाहरूले गाएको र नाचेको हेर्नलाई मेरा काकीहरूसँग म बिहे घरको आँगनको डिलसम्म पुगेको थिएँ। भोजको दिन म सिधै भोज खान पिँढीमा गइहाल्न सकिनँ। साथीहरूको निरन्तरको ‘हिँड् न, हिँड्’ भन्ने आवाजले मलाई उत्साहित बनायो र हामी भोज थाप्नलाई पिँढीमा लाइन लाग्यौँ।
त्यतिकैमा दुलाहाकी आमा एक्कासि मतिर हतारमा हानिँदै आइन् र उनले आफ्नो हात म तिर तेर्स्याउँदै मेरा कलिला हातलाई च्याप्प समातेर आँगनको डिलमा लगेर मलाई थचार्न खोज्दै भनिन्, ‘तँ यही बस्, म तँलाई यही लेराइदिन्छु।’
म एकैछिन अवाक् भएर उभिइरहेँ। केही बेरसम्म मेरो कलिलो मस्तिष्कले केही सोच्न सकेन। मेरा साथीहरू पनि ट्वाल्ल परेर परैबाटै मलाई हेरिरहे।
उता दुलाहाकी आमा मेरा लागि भोज लिन गइन्, यता आँखाका धाराहरू चुहाउँदै साथीहरूतिर नहेरी म त्यहाँबाट ओरालो झरेर घर आइपुगेको थिएँ। त्यति बेला म करिब १० वर्षको हुँदी हुँ। यतिको उमेर भइसक्दा यो समाजको केही सामाजिक कुराहरू मेसो पाउने भइसकेको थिएँ। मलाई त्यो घटनाले त्यहाँ भएका मानिसहरू बिच लज्जित भएको भान भएको थियो।
बाल्यकालमा मेरो कलिलो मन र मस्तिष्कमा त्यो घटनाले पारेको नकारात्मक असरले लामो समयसम्म कब्जा जमायो। धेरै समयसम्म कहीँ कतै जाँदा, कसैलाई भेट्दा, कुराकानीको क्रममा सोही घटनाको झझल्कोले मैले मेरो आत्मविश्वास गुमाएको थिएँ। म झट्टै बोलिहाल्न हिचकिचाउन थालेको थिएँ, कहीँकतै सहभागी हुन मैले धेरै पल्ट सोच्नु पर्ने अवस्था सिर्जना भयो।
विद्यालयमा धेरै चुलबुले, निडर, प्रश्न उत्तरका क्रममा अब्बल भएता पनि केही शिक्षकहरूको जातियताको व्यङ्ग्यात्मक शैलीका कुराले धेरै पल्ट मेरो मन भय र आक्रोशले भरिएको थियो। शिक्षकहरू कहिलेकाहीँ विद्यार्थीसँग गफिने क्रममा भन्ने गर्थे, ‘जस्तो जात, त्यस्तै सोच।’ हो ठ्याक्कै यही वाक्य एउटा शिक्षकले भनेको मलाई अझै याद छ।
त्यति बेला मेरो मगजले ठ्याक्कै भेउ पाएन तर केही अप्ठेरो भने लागेको। तर समाजका रीति, कुरीति बुझ्ने भएपछि विद्यालयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातीय विभेद भएको रहेछ भन्ने कुरा चाल पाएको थिएँ। उति बेला नै बुझेको हुन्थेँ भने यो छुच्चो मुख र निडर मनले जानेको जवाफ फर्काउने थिएँ।
वास्तवमा मानिसका यस्ता वाक्यहरूले मेरो दमदार बोलीलाई सुस्त गराइदिन्थ्यो। यी वाक्यहरू बोल्नु उनीहरूका लागि सामान्य जस्तो थियो होला। यस्ता शब्दहरू प्रयोग गरिराख्दा सायद उनीहरू आफूलाई वर्चस्वशाली भएको महसुस पनि गर्थे होलान्। तर आफूलाई सामान्य लाग्ने शब्द र गहन विषयमा मारिएका चुट्किला सबैका लागि हास्यास्पद हुन्छ भन्ने कुरा सोच्नु एक सचेत व्यक्तिका लागि कतिको उचित हुन्छ होला?
त्यस्तो चुट्किला मार्दै गर्दा कलिला मस्तिष्क भएका विद्यार्थीहरूमा के बितिरहेको हुन्छ भन्ने प्रत्येक शिक्षक, अभिभावक, जेठा बाठा र आफूलाई निकै जान्ने सम्झिने प्रत्येकले याद गरिदिनुपर्ने होइन र? झन् शिक्षण पेसामा जीवन समर्पण गरेकाहरूले गफिने क्रममा सोच विचार नै नगरी यस्ता खाले व्यङ्ग गर्नु कत्तिको पाच्य हुन्छ होला?
विद्यालयमा मैले सबैभन्दा नजिक मानेको, विद्यालय सँगै आउने जाने साथीले विद्यालयमा अरू साथीहरूसँग ‘त्यो तल्लो जातको हो’ भनेर हल्ला फिँजाउँदै गरेको कुरा मेरो कानसम्म परेपछि कलिलो मेरो मस्तिष्कले बेइज्जत भएको महसुस भएर शौचालयको एक कुनामा भक्कानिँदै रोएको आज जस्तो लाग्छ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुना मदनमा लेखिए जस्तै ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने सबैतिर प्रयोग भएको प्रख्यात लाइन होइन र? तर मैले त्यही कुरा रटाउने विद्यालयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातीय विभेद घरीघरी भोग्नु परेको थियो। जात कामको आधारमा यही समाजले नै बनाएको हो भनेर विद्यालयमा निरन्तर घोकाउने शिक्षक आफैले पहिले आफ्नो दैनिक जीवनमा यस्ता कुरीतिमाथि प्रहार नगरेसम्म विद्यार्थीलाई रटाएर मात्र केही हुँदैन भन्ने कुरा उनीहरू आफैले बुझ्न जरुरी छ।
अलि सानो छँदा कहिलेकाहीँ म मेरा काकीहरू र आमाको पछि लागेर घर नजिकैको चिया पसल पुग्ने गर्थेँ। चिया पिएपछि उहाँहरू आफूले चिया पिएको जुठो कप माझ्न पसलेसँग पानी माग्नुहुन्थ्यो र पखालिएका कपहरूलाई ढोका छेउमा घोप्टाएर चियाको पैसा तिरेर घर फर्किनुहुन्थ्यो।
त्यस्तो दृश्य देखेपछि म उहाँहरूलाई प्रश्न गर्थेँ, ‘चियाको पैसा तिरेर कप किन माझ्या?’
काकी जवाफमा भन्ने गर्नुहुन्थ्यो, ‘हाम्रो जेठानी पर्ने भएर, ठुलालाई किन भाँडा मझाउनु भनेर हो।’
यति सुनिरहँदा ‘ठुलालाई भाँडा मझाउन नहुने भए चिया पिउन आफूभन्दा सानोकोमा गए पनि हुने’ भन्ने सोच आउँथ्यो। तर जब म बुझ्ने भएँ, मैले थाहा पाएँ मेरा काकीहरू र आमाले झुट बोल्नुभएको थियो। आफूमाथि विभेद भएको जान्दा जान्दै त्यस विरुद्ध आवाज उठाउन डराएर हो वा कसैले आवाज दबाएर हो वा आवाज उठाउने अवसर नभेटाएर त्यो झुटले अवस्था सम्हाल्न खोज्नुभएको थियो सायद।
आज ती सबै कुराहरू सोची ल्याउँदा त्यस्तै भोगाइहरूले मलाई दरिलो बनाएको छ भन्ने लाग्छ। यस्तै भोगाइले म निखारिएको छु। हिजोआज ‘म दलित समुदायबाट हुँ’ भन्न म हिचकिचाइदिनँ, म डराउँदिनँ, म आत्तिन्नँ अनि मलाई म बेइज्जतीमा परेको महसुस पनि हुँदैन। बरु यस्ता कुराले म उत्साहित हुन्छु र यस्ता खराब आचरण र समाजका कुरीतिहरू माथि निरन्तर प्रहार गरिरहन्छु।
केही कलाकार र ख्याति पाएका व्यक्तिले आफ्नो जातियता लुकाएर थर परिवर्तन पनि गर्ने गर्दा रहेछन्। हुन त यो आफ्नो व्यक्तिगत कुरातिर जान्छ। तर यस्ता कुरा सुनिरहँदा मनमा प्रश्न अङ्कुराउँछ, ‘ख्याति कमाउन जातियता लुकाउनुपर्ने बाध्यता के होला?’
भर्खरै एसइई दिएको मेरो काकाको छोराको कलेज भर्ना गर्न जाने क्रममा म कलंकी नजिकको कलेजमा पुगेको थिएँ। रिसेप्सनमा एक शिक्षिकाले विद्यार्थी भर्ना फारम भर्न सघाउँदै गर्दा ‘सुर्खेती! यो कुन जात हो?’ भन्दै अचम्मित मुद्रामा प्रश्न तेर्स्याएकी थिइन्।
जवाफमा मैले ‘दलित’ भनिनसक्दै उनले यसरी स्पष्टीकरण दिन थालिन्, मानौँ उनीबाट ठुलै भुल भयो, जुन क्षमा योग्य छैन झैँ ‘सरी है, म त नयाँ थर जस्तो सुनेर सोधेको’ भनेर कम्तीमा तीन पल्ट जस्तो स्पष्टीकरण दिइन्।
उहाँले यस्तो प्रश्न सोध्नुमा माफी माग्नुपर्ने कुरा के छ? मेरो उत्तर सुनेर अपराधबोध किन महसुस गर्नुभयो? के समाजले दलित ठहराएको जातिमा हुर्कनु अपराध हो? स्कुले बाल बच्चाले म दलित समुदायबाट हुँ भन्न किन लजाउनु पर्ने?
आमाबुवा र अभिभावककत्व निभाउनेहरू होसियार हुनुहोस्, आफ्ना बालबालिकालाई मनोवैज्ञानिक रोगबाट बचाउनु छ भने यो एउटा राम्रो अभ्यास हुनेछ। यदि तपाई दलित समुदायबाट हुनुहुन्छ भने आफ्ना बालबच्चालाई निर्धक्क रूपमा हामी दलित समुदायबाट हौ भन्न सिकाउनुहोस्। दलित हुनु पाप वा अपराध होइन भन्ने जानकारी दिनुहोस्। नत्र तपाईंले चाल नपाउँदै तपाईंको छोराछोरी हीनता बोध र लाजको रोगले ग्रसित हुनेछन्।
सानैमा मेरो बच्चाले जात थाहा पाउला र लाज महसुस गर्ला भन्ने गलत विचार त्याग्नुहोस्। ब्राह्मण, क्षेत्री, मङ्गोलियन जस्ता समुदाय र जातलाई जसरी सामान्य रूपमा लिइन्छ, दलित समुदाय र जातलाई पनि सामान्य बनाउनलाई मद्दत गर्नुहोस्। होइन भने तपाईं आफैले लाजको रोगलाई पाल्नुहुनेछ र यो दीर्घ रोग जस्तै बन्नेछ।
अधिकांश मानिसहरू पहिलो भेटमा पहिलो प्रश्न मेरो नामभन्दा अघि नानी के थरीको? कुन जातको हो भन्ने प्रश्न तेर्स्याउँछन्।
यस्ता प्रश्नको उत्तरमा मैले उनीहरूलाई नै उल्टो प्रति प्रश्न गर्ने गरेको छु, ‘म कुन जाति समूहको जस्तो देखिन्छु?’
नानी नेवार जस्तो देखिनुहुन्छ, कहिले गुरुङ जस्तो देखिने कुरा पनि भन्छन्। अनुहारको बनोटले जात छुटिने तर्क कतिको जायज होला?
यस्ता उत्तरहरू सुनिसकेपछि म सधैँ मुसुक्क मुस्कुराएर भन्ने गर्छु ‘म दलित समुदायभित्र पर्छु।’
उनीहरू भन्छन्, ‘तर तपाईं त त्यस्तो देखिनुहुन्न।’
मेरो प्रश्न तपाई प्रत्येकलाई, ‘दलित कस्ता देखिन्छन्?’
यसको उत्तर छ भने पक्कै पनि भन्नुहोला।
मुस्कान सहितको मेरो उत्तर पाएपछि उनीहरू मेरो जात पक्का गर्न पुनः प्रश्न गर्छन् ‘हो र?’
उत्तरमा ‘कुनै शंका छ?’ भन्ने अर्को प्रश्नले उनीहरूको उत्तर प्रस्ट्याइदिन्छु।
यो समाजले खाने परिकारमा, लगाउने शैलीमा, हिँड्ने मार्गमा, बस्ने स्थानमा, बोल्ने बोली र शब्दमा, हरेक कुरालाई जातमा अड्काएर अघि बढ्नका लागि बाधाहरू खडा गरिदिने क्रम रोकिएको छैन। यो समाजले त जातियताको आधारमा सम्बन्धको नाप तौल गरिदिने ठेक्का लिएको छ। मनले चाहेका सम्बन्धहरू जातकै कारण तोडिएको थुप्रै उदाहरणहरू यही समाजमा व्याप्त छन्।
दलित हुनुमा मलाई कुनै लाज, सर्म वा धक छैन। म निर्धक्क मेरो जात खुलाइदिन्छु। मलाई कुन जातको भनेर सोधिने प्रश्नमा कसैको ढाकछोप पनि म चाहँदिनँ। म मेरो जात निर्धक्कले आफै बताउन सक्छु।
हामी केका लागि सधैँ बिचराको पात्र बनाइएका हौँ? यो प्रश्नको उत्तर मैले आजसम्म चित्त बुझ्दो उत्तर पाउन सकेको छैन।
हातेमालो गर्दै विकासको गतिमा अग्रसर हुने बाचा यी नै सामाजिक प्राणीले गर्छन्, फेरि जातियताको माला लगाएर ती सबै बाचाहरूलाई श्रद्धाञ्जली पनि यिनैले दिने गरेका छन्। कति लाचारीपनमा घस्रिरहेको छ यो समाज, जसले यस्ता कुरीतिलाई तोडफोड गरेर नयाँ विचार र सम्बन्धको समाज स्थापित गर्न सकिरहेको छैन। फेरी सामाजिक प्राणी घरीघरी आफै बरबराइ रहन्छ, फुसफुसाइरहन्छ र नारा लगाउँछ, ‘बद्लिँदो समाज हाम्रो आवश्यकता।’