झमक्क साँझ पर्दै थियो। दरबारमार्गस्थित हिमालयन जाभाबाट दरबारतिर फर्किँदै, हातमा कालो कफीको कप लिएर कान्तिपुर फर्मास्युटिकल्सका डाइरेक्टर भाइ अनिश बडालसँग गफिँदै थियौँ।
दिनभरिका व्यावसायिक कुरा, बजारका चुनौती र भविष्यका योजनाबारे हाम्रो कुराकानी चलिरहेको थियो। त्यत्तिकैमा उसको मोबाइलमा एउटा मेसेज आयो। मोबाइलको स्क्रिनमा नजर लगाउँदै उसले भन्यो—
'दाइ, यार! यो नेपाल सरकारले फसाउँछ कि क्या हो! हेर्नुस् त।'
उसले पश्चिम नेपालस्थित एउटा पालिकाको पशु सेवा शाखाले निकालेको औषधि खरिद सम्बन्धी टेन्डर सूची देखायो।
मैले पनि उक्त सूची तलदेखि माथिसम्म ध्यान दिएर हेरेँ। सूचीमा जम्मा ३३ वटा औषधि थिए। तीमध्ये १८ वटा पशु स्वास्थ्यमा प्रयोग हुने इन्जेक्सन रहेछन्। सूचीमा उल्लेख भएका ती इन्जेक्सनमध्ये केहीको औषधि दर्ता नभएको वा दर्ता नवीकरणको अवस्था शंकास्पद रहेको देखियो।
औषधिको आयात–निर्यात, दर्ता र नवीकरणसम्बन्धी प्रक्रिया बुझेका व्यक्तिले त कुनै औषधि वैधानिक रूपमा आयात गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा बुझ्न सक्छन्। तर देशभरका डिलर र खुद्रा भेटेरिनरी पसल सञ्चालन गर्ने सामान्य व्यवसायीले प्रत्येक औषधिको दर्ता अवस्था र नवीकरणको वैधता कसरी थाहा पाउने?
नेपालको कानुनी झन्झट, जटिल दर्ता प्रक्रिया र सीमित बजारका कारण बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा पशु स्वास्थ्य सम्बन्धी औषधि दर्ता गर्न र बजार विस्तार गर्न खासै चासो नदेखाउने जोखिम बढ्दै गएको छ।
अहिले पनि पशु आहारपूरक सामग्रीको आयातका लागि औषधि व्यवस्था विभागका अस्फाक शेखले उपलब्ध गराएको चिर्कटोको भरमा, जसोतसो पशु सेवा विभागबाट प्रक्रिया अगाडि बढाउँदै आएका छौँ। तर दिनप्रतिदिन यस्ता सामग्रीको आयात र उपलब्धताका विकल्पहरू साँघुरिँदै गएका छन्।
विश्वप्रसिद्ध कम्पनीका MSD को एभिल (Avil), Vetoquinol को थाइकल (Thycal) र Alembic को मेलोक्सिक्याम (Meloxicam) जस्ता औषधिहरू बजारमा आउन छाड्नुले पनि यस क्षेत्रका चुनौतीलाई उजागर गर्छ।
मूल्य र गुणस्तरका दृष्टिले प्रतिस्पर्धी यस्ता औषधिको उपलब्धता घट्दा व्यवसायी मात्र होइन, पशु चिकित्सक, पशुपालक र समग्र पशु स्वास्थ्य क्षेत्रमा समेत असर पर्न सक्छ। तर पनि विडम्बना के छ भने, यस्ता औषधि आयात हुन छाडेको वर्षौँ भइसक्यो, तर सरकारी टेन्डरमा भने अझै पनि तिनै औषधि समावेश हुन छाडेका छैनन्।
अब व्यवसायीले के गर्ने? कि भारतबाट अभिलेखबाहिर वा अनौपचारिक रूपमा ल्याउनुपर्ने बाध्यता स्वीकार गर्ने, नत्र सरकारी निकायबाट भुक्तानी रोक्का हुने जोखिम मोल्ने?
आयात गर्न नपाइने तर टेन्डरमा माग्न नछाड्ने यस्तो व्यवस्था कहिलेसम्म हो सरकार?
नेपालको औषधि ऐन, २०३५ (Drugs act 2035) को दफा २(क) ले मानिस, पशु वा पंक्षीको रोगको निदान, उपचार तथा रोकथाममा प्रयोग हुने पदार्थलाई औषधिको परिभाषाभित्र समेटेको छ।
त्यस्तै, दफा ५ ले औषधि व्यवस्था विभागको व्यवस्था गरेको छ भने दफा ८क(२) ले औषधि पैठारी गर्नुअघि विभागमा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ।
यसबाट पशु औषधि पनि औषधि ऐन २०३५ को नियमनको दायरामा पर्ने स्पष्ट हुन्छ। त्यसैले पशु औषधिको दर्ता तथा आयात सम्बन्धी विषयमा औषधि व्यवस्था विभागको भूमिका महत्त्वपूर्ण छ।
तर व्यवहारमा समस्या कहाँ छ?
औषधि व्यवस्था विभागमा कार्यरत कर्मचारीहरूको मुख्य कार्यक्षेत्र मानव स्वास्थ्यमा प्रयोग हुने औषधि, औषधि दर्ता तथा फार्मास्युटिकल उत्पादनसम्बन्धी नियमनसँग सम्बन्धित छ।
यस्तो अवस्थामा पशु औषधिको गुणस्तर, प्रभावकारिता, पशु रोगको प्रकृति, रोगको प्रकोपअनुसार औषधिको आवश्यकता र अन्तर्राष्ट्रिय पशु स्वास्थ्य WOAH (World Organization for Animal Health - विश्व पशु स्वास्थ्य संग) सम्बन्धी मापदण्डबारे छुट्टै विशेषज्ञता आवश्यक हुन्छ।
मुख्य प्रश्न नियमन गर्ने अधिकार कससँग छ भन्ने मात्र होइन, त्यसका लागि आवश्यक पशु स्वास्थ्य सम्बन्धी प्राविधिक क्षमता र संस्थागत व्यवस्था छ कि छैन भन्ने पनि हो।
औषधि व्यवस्था विभागमा समर्पित पशु औषधि नियमन शाखा र पर्याप्त पशु स्वास्थ्य विशेषज्ञको व्यवस्था नहुँदा पशु औषधिको दर्ता, प्राविधिक मूल्याङ्कन तथा आयात सहजीकरणमा व्यावहारिक कठिनाइ उत्पन्न हुन सक्छ।
विशेषगरी नेपालमा नयाँ पशु रोग देखिँदा वा कुनै संक्रामक रोग फैलिँदा त्यसको नियन्त्रणका लागि आवश्यक औषधि तथा खोप समयमै उपलब्ध गराउनु महत्त्वपूर्ण हुन्छ।
यदि रोगको प्रकोपबारे सम्बन्धित पशु स्वास्थ्य निकायबाट समयमै जानकारी प्राप्त भए पनि त्यसअनुसार आवश्यक औषधि वा खोपको दर्ता तथा आयात प्रक्रिया छिटो अघि बढ्न सकेन भने त्यसको प्रत्यक्ष असर पशुपालक, पशु स्वास्थ्य सेवा र समग्र पशुजन्य उत्पादनमा पर्न सक्छ।
कोभिड–१९ महामारीको समयमा रेम्डेसिभिर (Remdesivir injection) जस्ता औषधिको प्रयोगलाई शीघ्र सहजीकरण गर्ने प्रयास गरियो। त्यसबेला औषधि व्यवस्था विभागले औषधिको नियमन तथा आवश्यक स्वीकृति प्रक्रियामा भूमिका निर्वाह गर्यो। यसले आपतकालीन अवस्थामा नियामक निकायको सक्रियता कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ।
अब प्रश्न उठ्छ—के नेपालमा पशु स्वास्थ्यका लागि पनि यस्तै वैज्ञानिक आधारमा निर्णय गर्ने, आपतकालीन सिफारिस गर्ने र आवश्यक औषधि तथा खोपको आयातलाई समयमै सहजीकरण गर्ने व्यवस्था छ?
नेपालमा लम्पी स्किन डिजिज फैलिँदा हजारौँ पशुपालकले ठूलो क्षति बेहोर्नुपर्यो। सन् २०२३ जुन १६ सम्मको तथ्याङ्कलाई उद्धृत गर्दै प्रकाशित एक वैज्ञानिक लेखअनुसार त्यसबेलासम्म करिब ५ लाख ५० हजार पशु प्रभावित भएका र २१ हजार पशुको मृत्यु भएको अनुमान थियो। यसले पशु रोगको संकट कति गम्भीर हुन सक्छ भन्ने देखाउँछ।
यसको असर पशुको मृत्युसम्म मात्र सीमित हुँदैन। दूध उत्पादन, किसानको आम्दानी, पशुजन्य उद्योग र निर्यात व्यापारसमेत प्रभावित हुन सक्छन्।
उदाहरणका लागि, नेपालमा उत्पादित छुर्पी अमेरिकी बजारमा निर्यात हुने महत्त्वपूर्ण वस्तु बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सारबाट मात्रै करिब रु. १ अर्ब ७९ करोड मूल्यको छुर्पी निर्यात भएको विवरण सार्वजनिक भएको छ।
त्यसैले पशु स्वास्थ्यलाई केवल कृषि क्षेत्रको सामान्य विषयका रूपमा हेर्न मिल्दैन। यो किसानको जीविकोपार्जन, राष्ट्रिय अर्थतन्त्र, निर्यात प्रवर्द्धन र जनस्वास्थ्यसँग जोडिएको विषय हो।
पशु सेवा विभागसँग कानुन नै नभएको होइन। नेपालमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ छ। यही ऐनअन्तर्गत भेटेरिनरी औषधि, जैविक पदार्थ तथा पशु स्वास्थ्यसँग सम्बन्धित सामग्रीको गुणस्तर नियमन गर्न कानुनी आधार व्यवस्था गरिएको छ। यससम्बन्धी कामका लागि बूढानीलकण्ठ, काठमाडौंमा राष्ट्रिय भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला पनि सञ्चालनमा छ।
ऐन आयो, नियमावली बन्यो र नियमन गर्ने निकाय पनि स्थापना भयो। तर पशु औषधिको दर्ता, आयात, गुणस्तर परीक्षण, उत्पादनस्थलको निरीक्षण, औषधिको प्रभावकारिता, क्लिनिकल परीक्षण, भण्डारण, बजार अनुगमन र प्रतिकूल असरको निगरानी जस्ता विषयमा प्रणाली कति प्रभावकारी छ? यही प्रश्नको जबाफ खोज्न आवश्यक छ।
हुन त पशु स्वास्थ्य तथा पशु सेवा ऐन कार्यान्वयन र निर्माणको प्रक्रियामा निजी क्षेत्रको पहल नभएको होइन।
तत्कालीन नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष हेमराज बडाल (ऋषि) को पहलमा संस्थाका महासचिव दिनेश मिश्र तथा संघका प्रतिनिधिहरूको उपस्थितिमा संसदीय समितिमा ऐनलाई संसद्सम्म पुर्याउने विषयमा छलफलसमेत भएको थियो।
तर उक्त समयपश्चात् पशु सेवा विभाग र सरोकारवाला निजी क्षेत्र बीचको सहकार्य तथा निजी क्षेत्रको त्यो गर्विलो पहल क्रमशः ओझेलमा परेको देखिन्छ। कानुन निर्माणमा निजी क्षेत्रले देखाएको योगदानलाई कार्यान्वयन र परिमार्जनको चरणमा पनि स्मरण गर्दै सहकार्यलाई निरन्तरता दिन आवश्यक छ।
धन्न, पशु स्वास्थ्य तथा पशु सेवा ऐनमा जैविक पदार्थसम्बन्धी व्यवस्था भएकाले पशु खोपको आयात तथा गुणस्तर नियमनका लागि कानुनी आधार छ। पशु सेवा विभागको सिफारिसमा खोप आयात हुने विद्यमान अभ्यासलाई अझ व्यवस्थित र वैज्ञानिक बनाउन सकिन्छ। तर आयातको सिफारिस हुनु र सम्पूर्ण नियामक प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी हुनु एउटै कुरा होइन।
मानव औषधि र पशु औषधिमा केही नियामक सिद्धान्त समान भए पनि दुवै क्षेत्रका प्राविधिक आवश्यकता पूर्ण रूपमा समान छैनन्। पशु औषधिमा प्रजातिअनुसार औषधिको प्रभाव, दूध तथा मासुमा औषधिको अवशेष, withdrawal period, पशु खोपको प्रभावकारिता, रोगको अवस्था, पशु आहारमा प्रयोग हुने औषधि तथा एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) जस्ता विशिष्ट विषय आउँछन्।
त्यसैले प्रश्न औषधि व्यवस्था विभागसँग विशेषज्ञता छ कि छैन भनेर मात्र होइन; त्यहाँ पशु औषधि नियमनका लागि आवश्यक विशेषज्ञ टोली, प्रयोगशाला क्षमता, प्रजाति-विशेष ज्ञान र छुट्टै कार्यविधि उपलब्ध छन् कि छैनन् भन्ने हो। कुनै निकायको कानुनी अधिकार र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने प्राविधिक क्षमतालाई अलग-अलग मूल्याङ्कन गर्नुपर्छ।
नेपालले अब व्यक्ति वा कार्यालयको क्षेत्राधिकारको विवादमा अल्झिनुभन्दा स्पष्ट जिम्मेवारी, वैज्ञानिक मूल्याङ्कन, पारदर्शी दर्ता प्रक्रिया र जोखिममा आधारित नियमन प्रणाली विकास गर्नुपर्छ। पशु सेवा विभाग, राष्ट्रिय भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र औषधि व्यवस्था विभागबीच आवश्यक समन्वय तथा जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्छ।
नेपालमा खाद्य पदार्थ, मानव औषधि, पशु औषधि, मेडिकल सर्जिकल सामग्री तथा कस्मेटिक उत्पादनको गुणस्तर र सुरक्षालाई एउटै छातामुनि समेट्ने 'खाद्य तथा औषधि व्यवस्था प्राधिकरण–नेपाल' जस्तो एकीकृत नियामक निकाय आवश्यक छ। विदेशी मोडेलको नक्कल मात्र होइन, नेपालको आवश्यकता, जनशक्ति, बजार र विद्यमान कानुनअनुसार मौलिक नियामक संरचना निर्माण गरौँ।
अमेरिकाको Food and Drug Administration (FDA) अन्तर्गतको Center for Veterinary Medicine (CVM) ले पशु औषधि तथा पशु आहारमा प्रयोग हुने केही नियमनाधीन उत्पादनको वैज्ञानिक मूल्याङ्कन र स्वीकृतिमा काम गर्छ। औषधिको सुरक्षा, प्रभावकारिता, गुणस्तर र उत्पादनसम्बन्धी मापदण्ड यस प्रणालीका महत्वपूर्ण पक्ष हुन्।
तर एउटा तथ्य स्पष्ट हुनुपर्छ: अमेरिकामा सबै पशु औषधि र खोप एउटै निकायले नियमन गर्दैन। धेरै पशु औषधिको नियमन FDA अन्तर्गत हुन्छ भने पशुका लागि प्रयोग हुने धेरै खोप तथा जैविक पदार्थको नियमन United States Department of Agriculture (USDA) अन्तर्गतको Animal and Plant Health Inspection Service (APHIS), विशेषगरी Center for Veterinary Biologics (CVB) ले गर्छ।
खाद्य तथा औषधि व्यवस्था प्राधिकरण–नेपाल स्थापना गर्दा अहिलेका सरकारी निकाय र प्रयोगशालालाई विस्थापित गर्नुभन्दा तिनलाई एकीकृत नियामक संरचनाअन्तर्गत स्याटेलाइट कार्यालय का रूपमा जोड्न सकिन्छ।
मानव औषधिका लागि औषधि व्यवस्था विभाग र त्यसअन्तर्गतका प्रयोगशाला, पशु औषधिका लागि पशु सेवा विभागअन्तर्गतको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला (VSDRL) तथा खाद्य पदार्थका लागि सम्बन्धित नियामक निकाय र प्रयोगशालालाई विशेषज्ञ इकाइका रूपमा समेट्न सकिन्छ।
यसरी प्रत्येक क्षेत्रको विद्यमान विशेषज्ञता र प्राविधिक क्षमतालाई उपयोग गर्दै एउटै प्राधिकरण मार्फत दर्ता, गुणस्तर परीक्षण, सिफारिस, अनुगमन र नियमनलाई समन्वित बनाउन सकिन्छ।
यसले नयाँ संरचना बनाउँदा लाग्ने खर्च र दोहोरोपन घटाउन, जिम्मेवारी स्पष्ट गर्न तथा नियमनलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्न सक्छ। यसको कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधन, अधिकार बाँडफाँट र प्रयोगशालाको प्राविधिक स्वायत्तता भने स्पष्ट हुनुपर्छ।
नेपालबाहेक दक्षिण एसियाका विभिन्न मुलुकले पशु औषधि, खोप तथा जैविक पदार्थको नियमनका लागि आ–आफ्नै संस्थागत र कानुनी व्यवस्था विकास गरेका छन्। ती व्यवस्थाको अध्ययन गर्दा नेपालले पशु स्वास्थ्य क्षेत्रको नियमनलाई कसरी प्रभावकारी, वैज्ञानिक र व्यावहारिक बनाउन सक्छ भन्ने विषयमा महत्त्वपूर्ण आधार प्राप्त हुन्छ।
भारतमा Central Drugs Standard Control Organization (CDSCO) ले औषधि नियमनमा केन्द्रीय भूमिका निर्वाह गर्छ। पशु औषधि तथा जैविक पदार्थसम्बन्धी विषयमा औषधि नियमन निकायसँगै पशु स्वास्थ्य क्षेत्रका प्राविधिक निकाय र विज्ञहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। सन् २०२६ मा पशु स्वास्थ्यसम्बन्धी नियामक विषयमा CDSCO लाई प्राविधिक सुझाव दिन Empowered Committee on Animal Health-Regulatory गठन गरिएको विवरणलाई यस क्षेत्रको संस्थागत विकासका रूपमा लिन सकिन्छ। यसबाट पशु औषधि नियमनमा औषधि विज्ञान, पशु चिकित्सा र जैविक उत्पादनसम्बन्धी विशेषज्ञतालाई एकीकृत गर्ने अवधारणा बुझ्न सकिन्छ।
बंगलादेशमा Directorate General of Drug Administration (DGDA) ले औषधि नियमन गर्छ। पशु खोप दर्तासम्बन्धी निर्देशिकामा आवेदन प्रक्रिया, उत्पादकको Good Manufacturing Practice (GMP) प्रमाण, परीक्षण र गुणस्तर मूल्याङ्कनजस्ता पक्ष समेटिएका छन्। यसले पशु खोपलाई सामान्य व्यापारिक वस्तुका रूपमा मात्र नभई वैज्ञानिक प्रमाण र गुणस्तर सुनिश्चितताका आधारमा नियमन गर्नुपर्ने कुरा स्पष्ट पार्छ।
श्रीलंकामा Department of Animal Production and Health अन्तर्गत Drug Registrar Office र Veterinary Drug Control Authority (VDCA) सम्बन्धी व्यवस्था रहेको छ। यसको नियामक कार्यक्षेत्रमा पशु औषधि तथा जैविक पदार्थको उत्पादन, आयात, निर्यात, पुनःप्याकिङ, बिक्री र प्रयोगको नियन्त्रण समावेश हुन्छ। यसले पशु स्वास्थ्य क्षेत्रको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न छुट्टै नियामक संरचना वा विशेषज्ञ निकायको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाउँछ।
यी मुलुकहरूको अनुभवलाई आधार मान्दा नेपालले पशु औषधि नियमनका लागि अनिवार्य रूपमा नयाँ र ठूलो सरकारी संरचना निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्न आवश्यक छैन। बरू, विद्यमान निकायहरूको विशेषज्ञता, प्रयोगशाला, कानुनी अधिकार र प्रशासनिक क्षमतालाई एकीकृत गरेर प्रभावकारी नियामक प्रणाली विकास गर्न सकिन्छ।
यसका लागि औषधि व्यवस्था विभाग, पशु सेवा विभाग तथा पशु रोग अनुसन्धान र निदानसम्बन्धी प्रयोगशालाहरू, खाद्य गुणस्तरसम्बन्धी निकाय र तिनका प्रयोगशालाबीच स्पष्ट कार्यविभाजन र संस्थागत समन्वय आवश्यक हुन्छ। आवश्यकताअनुसार यी निकायलाई केन्द्रीय नियामक संरचनासँग आबद्ध स्याटेलाइट कार्यालय वा प्राविधिक एकाइका रूपमा परिचालन गर्न सकिन्छ।
यस प्रणालीमा औषधि दर्ता, उत्पादकको GMP मूल्याङ्कन, आयात अनुमति, गुणस्तर परीक्षण, खोपको प्रभावकारिता मूल्याङ्कन, बजार अनुगमन र प्रतिकूल असरको अभिलेखीकरणका लागि स्पष्ट मापदण्ड तोकिनुपर्छ। पशु औषधि र खोपको प्रकृतिअनुसार सम्बन्धित विषयका विशेषज्ञलाई निर्णय प्रक्रियामा सहभागी गराउनु पनि उत्तिकै आवश्यक हुन्छ।
(लेखक नुवाकोट, नेपाल, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सदस्य एवं नेपाल पशुपन्छी औषधी आयातकर्ता संघ सदस्य तथा पूर्व कोषाध्यक्ष हुन्।)