कस्तो अचम्म, चालिस काटेका ५० छोएकाहरू बरु पर्खिन्छन्, सहन्छन्, कुर्छन् तर १८/२० लागेकाहरूलाई बिघ्न हतार छ किन हो कुन्नि? उनीहरूमा यो हताशपना, तनाव, व्यग्रता तथा तँछाडमछाड जसबाट दिनहुँ दुर्घटना परेको छ।
आज झटक्क मोबाइल खोल्दै थिएँ, एउटा रिल भेटेँ। जसमा भनिएको थियो कि वयस्क पाका उमेरका मानिसहरूलाई उद्देश्यका लागि भाग्नुस्, दबाबमा रहेर नभाग्नुस्, उमेरसँगै जीवनमा मज्जा लिनुस्।
हो जस्तै लाग्यो यो कुरा वास्तवमा किनकि यहाँ मानिसहरू भागिदौड छ। केको हतार हो थाहा छैन, सबैलाई ६०/७० को स्पिडमा भाग्नु परेको छ भलै पुग्ने गन्तव्य, स्थान थाहा पत्तो छैन। किन, कहाँ, केको लागि, कोसँग, कसरी जाँदैछ जानेलाई पत्ता थाहा छैन तैपनि कुद्दै छ, भाग्दै छ।
अनगिन्ती अवसरहरू, शक्ति तथा समय नभएका वयस्कहरू त्यति हतारिँदैनन् जति युवाहरू हतारिन्छन्। यही हतारिने क्रमसँगै ज्यान गुमाउने प्रशस्तै छन्। के हतारो हो उनैलाई पनि सायद थाहा नहोला।
हामीकहाँ कुराउने, पर्खाउने कुरालाई सामान्य लिइन्छ। कहिले मट्टितेल, कहिले ग्यास, कहिले चिनी, कहिले राहत, कहिले पासपोर्ट, कहिले फाराम भर्न, कहिले सिंहदरबार पस्न, कहिले मलको लाइन, कहिले पैसा साट्न, कहिले कतै न कतै लाइन, कहिले मालपोतमा,कहिले सेयर किन्न आदि हामी नेपालीको दिनचर्या बनेको छ। यसैले लाग्छ नेपालीको केही जीवन कालखण्ड पर्खँदा नै जान्छ।
बस चढ्यो लाग्छ सबै यात्री फुर्सद भएर बस चढेका जस्तो। बसवाला जति ढिलो गरे पनि कोही चुक्क बोल्दैन। सबैलाई ठिकै जस्तो लागिरहेको छ। कोही यात्रुले छिटो गरौँ भन्यो कि ऊ बसबाट गलहत्ती लगाएर झारिन पनि सक्छ।
अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीले भने अनुसार ‘समयलाई पाठ भन्दा पनि साधनको रूपमा लिऊँ, प्रयोग गरौँ।’ हामी भन्दछौँ नि समयले सिकाउँछ; जान्न र बुझ्न समय खर्चिनु पर्छ।
उता कृष्ण भगवानका अनुसार समयभन्दा पहिला कसैलाई केही पनि प्राप्त हुँदैन, सबै कुराको लागि उपयुक्त समय आउँछ। त्यो पर्खनु हाम्रो नियति हो। आजको दुनियाँ यो दर्शन, चिन्तन, सोच सायदै मनासिब होला तर हामी पूर्वीय दर्शनमा विश्वास गर्नेले बढी नै धैर्य, सहन, पखाई र कुराई सबै कुरा ग्रहण गर्दै जिइरहेका छौँ।
पर्खन नसकेर बिग्रेका दर्जनौँ विषयहरू पनि छन्। आखिर पर्खनु उचित या हतारिनु अनुचित दुबिधा छ। कुरा ठाउँ, समय विशेषमा पनि फरक पर्छ। पर्खन त एउटा बिउ रोपेपछि फल लाग्न कम्तीमा पनि दुई/तीन महिना त लाग्छ नै।
नेपालमा अन्दाजी पनि ४० लाखको हाराहारीमा दुई पाङग्रे पुग्यो होला। अब भनौँ यो सबै हतारको उपज हो। हुन त कतिपयले राम्रै फाइदा लिएको पनि छन्, यो संख्या न्यून छ।
युवाहरूमा सबै कुरा गर्ने हतारिने मनस्थिति भनौँ या हुटहुटी भनौँ त्यो छ। उनीहरूलाई सायद थाहा छैन। दुई डुङ्गा चढेर गन्तव्य पुगिँदैन तर उनीहरू प्रयास र दुस्साहस गर्दछन्। कतिपय ज्यान पनि गुमाइरहेछन्।
जो जवान, सक्ने, ताकतवार, हट्टाकट्टा, मजबुत छ, यसैलाई धेरै हतार छ। धकेलेर, पेलेर, मिचेर ऊ हिरो बन्न चाहन्छ। ऊ छिट्टो काम गराएकोमा गर्व गर्छ जबकि उसैको लाइनमा बसेका ज्येष्ठहरू अझै लाइनमा छन्।
अन्त्यमा, हतार यति पनि नगरौँ कि हामी समयभन्दा पनि छिटो पुग्न प्रयासमा। समयको महत्त्व बुझौँ, जानौँ तर हतार नगरौँ। समयलाई चिन्नुको अर्थ हतार गर्नु कदापि होइन। हतार हुनेहरू कतै फास्ट ट्र्याकबाट आउँछन्। बढी रकम तिर्छन् त्यो बरु ठिकै छ।
यसर्थ हतार गर्ने युवाहरूले बुझौँ कि दिन हतार गरे पनि नगरे पनि चौबिस घण्टा नै हो। हतारिएर दिन बढाउ समय फेर्न सकिन्न, मनन गरौँ हतारिएर ज्यान नफालौँ।