उनी कीर्तिपुर मैदानमा दिनभरि चौका-छक्का हान्दै थाकेर लखतरान होटल फर्केका थिए।
त्यस दिनको आफ्नो प्रदर्शनबाट सन्तुष्ट थिए।
त्योभन्दा बढी सन्तुष्टि त्यति बेला भयो, जब होटलमा आराम गरिरहँदा मोबाइलको घन्टी बज्यो।
उनी मोबाइलसम्म हात लम्काउनधरि नसक्ने हालतमा थिए; तै मन नलागी नलागी हेरे।
स्क्रिनमा साथीको सन्देश पिलिक पिलिक गर्दै थियो।
उनले आँखा झिमझिम गर्दै पढे —
'तैंले आज झन्डै विश्व कीर्तिमान बनाइस् यार!'
आधा सन्देश पढ्नासाथ थकाइ छुमन्तर भयो। उनी आफैंले पनि यसको कल्पना गरेका थिएनन्। अगाडि पढे —
'थप २ बलमा ५० रन पूरा गरेको भए एबी डिभिलियर्सको विश्व कीर्तिमान भंग गर्थिस्!'
सन् २०१६ को एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका डिभिलियर्सले वेस्ट इन्डिजविरूद्ध १६ बलमा अर्धशतक पूरा गरेर विश्व कीर्तिमान बनाएका थिए। आफू झन्डै झन्डै त्यो स्थानमा पुग्न आँटेको खयालले नै उनको तन-मन एकैचोटि बाउन्ड्री-पार भयो!
एउटै सन्देश दोहोर्याइ-तेहर्याइ पढे। जबाफ लेख्न भने सकेनन्।
उनको सोच यति सुन्न थियो, तत्काल जबाफ फुर्दा पनि फुरेन। आँखासामु दिनभरिको प्रदर्शन फनफनी नाचिरह्यो।
त्यो माघ २७ को दिन थियो। उनले क्यानडाविरूद्ध १३ बलमा ४३ रन बनाएका थिए। त्यसपछि केही थामिए र १९ बलमा ५० रन हाने। त्यो आफैंमा राष्ट्रिय कीर्तिमान थियो। उनले नेपालका अन्य खेलाडीको दाँजोमा सबभन्दा कम बलमा अर्धशतक पूरा गरेका थिए। तर यति नै रन १५ बलमा पूरा गरेका भए डिभिलियर्सको विश्व कीर्तिमान तोडिन्थ्यो!
उनी अबेरसम्म निदाउन सकेनन्। मनमा खुसी र दु:खको हुन्डरी चलिरह्यो।
एउटै तर्कना घरिघरि मनमा आइरह्यो —
जम्मा २ बल कुरा थियो! १३ बलपछि नथामिएको भए विश्व रेकर्ड तोडिन्थ्यो! सँगसँगै, विगत पाँच वर्षको गुमनाम जीवनलाई भर्पाइ पनि हुन्थ्यो!

अनिलकुमार साहले सन् २०१८ मा राष्ट्रिय टिममा 'डेब्यू' गरेका थिए।
त्यसपछि केही समय विभिन्न अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गरे, उज्ज्वल भविष्यको संकेत देखाए; अनि एकाएक गुमनाम भए।
जसरी चम्चमाउँदो तारा आकाशबाट फुत्त झरेर अन्धकारमा विलिन हुन्छ, अनिल पनि शून्यबाट सफलताको शिखरमा पुगे र अलप भए!
पाँच वर्षको गुमनामीपछि यसपालि राष्ट्रिय टिममा शानदार 'कमब्याक' गरेका अनिलसँग हामीले जीवनको उतारचढावबारे लामो कुराकानी गरेका छौं।
संयोग के भने, जब हामी कुराकानीको समय मिलाउँदै थियौं, अनिलले सफलताको अर्को झन्डा गाडिसकेका थिए। कीर्तिमानी अर्धशतक बनाएको दुई दिनपछि नै क्यानडाविरूद्ध तेस्रो एकदिवसीय खेलमा उनले नटआउट ११२ रन हाने। नेपालले सिरिज क्लिनस्विप गर्यो।
अनिल अहिले राष्ट्रिय टिमसहित सोल्टीमोडको हायात प्लेस होटलमा बसिरहेका छन्। उनलाई हामीले होटलको कोठामा भेट्ने भनेका थियौं। त्यहाँ फोटो खिच्न अप्ठ्यारो देखेपछि उनी लबीमै झरे। त्यहाँ पनि मान्छेको निरन्तर आउजाउले कुराकानी गर्न असुविधा भयो। त्यसपछि हामीले होटलको दोस्रो तलामा रहेको स्विमिङ पुलबाहिर एकान्तमा जाने निधो गर्यौं।
झ्याप्प दारीजुँगा पालेका अनिल राष्ट्रिय टिमको निलो जर्सीमा थिए। स्विमिङ पुलको स्थिर निलो पानीतिर हेर्दै उनले टेनिस बल हुत्याउँदै क्रिकेट खेल्ने उमेरबाट कुराकानीको सिलसिला अघि बढाए।
बाराको कलैया-१८, पतौरामा जन्मे-हुर्केका २५ वर्षीय अनिलले खेतका गह्रामा पिच बनाएर क्रिकेट खेल्न सिकेका हुन्। उनको निम्ति क्रिकेट खेल्नु सजिलो सोख थिएन।
परिवारको आर्थिक हैसियत अत्यन्तै सामान्य थियो। गाउँमा उनीहरूको एउटा सानो पसल थियो। साँझपख पसलमा ग्राहकको भिड लाग्थ्यो। त्यो बेला अनिलले पसलको काममा हात बाँडे हुन्थ्यो भन्ने उनका बुबा र काकाको चाहना थियो।
अनिललाई भने पसलमा बसेर सामान बेच्न वा हिसाब गर्नमा कुनै रूचि थिएन।
उनी स्कुलको अन्तिम घन्टी लाग्नासाथ गुर्रर घर आइपुग्थे र हातमुख नधोई खुर्रर खेतको गह्रामा पुगिहाल्थे — क्रिकेट नै उनको एक मात्र ध्याउन्न थियो!
क्रिकेटमा मन बसेको भए पनि उनले धेरै समयसम्म खेल्न भने पाएनन्।
उनी दौडिँदै खेतको गह्रासम्म त पुग्थे, तर पिचमा प्रवेश गर्न पाउँथेनन्। उनलाई दाइहरूले खेल्नै दिन्थेनन्। उनी ब्राउन्ड्री नजिक बसेर दाइहरूले बल हुत्याएको र ब्याट घुमाएको टुलुटुलु हेरेर बस्थे। रन गन्थे; बल ब्राउन्ड्री पार हुँदा जोसिँदै लिन पनि जान्थे। मैदानमा उनको काम दर्शकको भन्दा बढ्ता थिएन!
जसै उमेर बढ्दै गयो, उनले 'जुगाड' खेलाडीका रूपमा आफ्नो स्थान बनाए। उनले त्यति बेला मात्र खेल्न पाउँथे, जब कुनै कारणवश खेलाडी नपुग हुन्थ्यो।
जुगाड खेलाडीको हैसियतमा मैदान छिर्दा पनि अनिल आफ्नो जीउज्यान अर्पण गर्थे।
उनलाई प्राय: ओभर सकिन लागेका बेला ब्याटिङ गर्न दिइन्थ्यो। अन्तिम समयमा अनिल यस्तरी ब्याट घुमाउँथे, धडाधड चौका र छक्का उनको खातामा जम्मा हुन्थ्यो। उसै परे अन्तिम घडीमा मैदान छिरेर टिमलाई ट्रफी पनि दिलाउँथे।
चार कक्षादेखि नौ कक्षा पढ्दासम्म उनको खेल यात्रा यसरी नै चल्यो।
खेलेर फर्केपछि बुबा र काकाको गाली खाने क्रम पनि जारी रह्यो।
'घर फर्केपछि सबभन्दा पहिला गाली खान्थेँ, अनि भात खान्थेँ,' अनिलले हाँस्दै भने, 'तर क्रिकेटको रनाहा कस्तो थियो भने, जतिसुकै गाली खानुपरे पनि मेरो बानी बदलिएन।'
'रन बनाउने, फिल्डिङ गर्दा डाइभ हान्ने र विकेट लिएपछि गुटुटुटु दौडिँदै, उफ्री उफ्री सेलिब्रेसन गर्दाको आनन्द म बयान गर्न सक्दिनँ,' उनले अगाडि भने, 'मैले क्रिकेट खेलेको बुबालाई फिटिक्कै मनपरेको छैन भन्ने थाहा थियो, तर मलाई खेल्नुजत्तिको आनन्द अरू कुनै कुराले दिएन।'
उनी पाँच कक्षा पढ्दाको कुरा हो। कलैया बजारमा पहिलोपटक भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनीको सात नम्बरको जर्सी आइपुग्यो। धोनीले त्यो समय तहल्का पिटेका थिए। उनले चौका-छक्का हानेको दृश्य टेलिभिजनमा देख्दा अनिलको मनमा हलचल मच्चिन्थ्यो।
अनिलले बुबासँग भने, 'मलाई धोनीको जर्सी लाउन मन छ, किनिदिनू न!'
छोराले क्रिकेट खेलेको त मन नपराउने बुबाले जर्सी किनिदिने त कुरै भएन!
अनिलले विकल्प खोजे।
उनले आफ्नो सेतो गन्जीमा रंगीन मार्करले धोनीको नाम कोरे र त्यसको ठ्याक्कै मुनि अंग्रेजीमा '७' अंक लेखे।
अरू साथीहरू बजारमा किनेको टिलिक्क नयाँ जर्सी लगाएर मैदानमा ओर्लिँदा अनिल भने आफ्नै हातले घरमा बनाएको जर्सी लगाएर खेल्न आउँथे।
'त्यसो गर्दा पनि मनमा हिनताबोध पटक्कै भएन,' उनले भने, 'सधैं यही लाग्यो, मेरो आङमा साँच्चिकै धोनीले लाउने जर्सी छ र यो जर्सी लगाएपछि अब मैले धोनीले जस्तै खेल्नुपर्छ!'
नेपाली खेलाडीहरूमा भने उनी विनोद दास, रामनरेश गिरी र हासिम अन्सारीका फ्यान थिए। तीमध्ये हेटौंडा बस्ने रामनरेश बारामा क्रिकेट खेल्न गइरहन्थे। उनको शैली देखेर अनिल प्रभावित भएका थिए।
'रामनरेशलाई खेलेको देखेपछि ममा भित्रैबाट जोस भरिएर आउँथ्यो,' उनले भने, 'उनीजस्तै खेल्नुपर्छ भन्ने भावना पलाउँथ्यो।'
अनिलमा क्रिकेटको रनाहा कति गहिरो थियो भने, उनले खेल्न मात्र होइन, क्रिकेटका बारेमा कुरा सुन्ने मौकासमेत कहिल्यै गुमाएनन्।
उनको गाउँमा मुन्ना दाइ भन्ने व्यक्ति थिए, जो संसारभरका क्रिकेट खेलाडीसँग जोडिएका अनेक किस्सा सुनाउँथे। सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग लगायत भारतीय क्रिकेटरका कुरा त उनलाई कन्ठस्थै थियो। ती खेलाडीले खेल्ने सटको बखान लगाएर उनी कहिल्यै थाक्थेनन्। उनीहरू कसरी खेल्छन् भनेर बुझाउन बेला बेला आफ्नो घर पनि लैजान्थे र टिभी देखाउँथे।
'भारतको खेल हुँदा त मेरो बासै मुन्ना दाइको घरमा हुन्थ्यो,' अनिलले भने, 'मुन्ना दाइले मलाई क्रिकेटको रोमाञ्चक कथा मात्र सुनाउनुभएन, आफ्नो घरको टिभीमा क्रिकेट देखाएर सिक्ने मौका पनि दिनुभयो।'
'मेरो जिन्दगीको पहिलो क्रिकेट पाठशाला भन्नु मुन्ना दाइको घर नै हो, जहाँ मैले भारतीय स्टार क्रिकेटरहरूले खेलेको हेर्न पाएँ,' उनले भने।
त्यो समय अनिललाई वीरेन्द्र सेहवागको एउटा खुबी खुब मन पर्थ्यो। सेहवाग ब्याटिङ गर्दा विपक्षी फिल्डरहरू बीचको खाली ठाउँबाट खुसुक्क बल छिराउँथे। त्यो शैली पछ्याउन आफूले खुब प्रयास गरेको उनी बताउँछन्।
अनिलले पहिलोपटक कुनै औपचारिक प्रतियोगिता खेलेको नौ कक्षा पढ्दा हो। त्यति बेला उनले कलैया बाल एकता स्कुलका लागि छनोट खेल खेल्न पाएका थिए। टेनिस बलको क्रिकेट खेल्दै हुर्केका उनले छालाको वास्तविक बल देखेको त्यही बेला हो।
त्यो बल खेल्न यति गाह्रो भयो, उनी ब्याटिङ र बलिङ दुवैमा फेल भए। फिल्डिङमा भने चोटको कुनै वास्ता नगरी च्याप्प च्याप्प बल समाते।
प्रतियोगिताको अन्तिममा उनलाई फेरि ब्याटिङको मौका दिइयो।
अनिलले मौका गुमाएनन्; दुई चौका प्रहार गरे।
उनको स्कुल एक रनले पराजित भयो।
टिमले हारेको दु:खभन्दा अन्तिममा आफूले दुई चौका हानेको खुसी उनलाई कयौं गुणा ज्यादा थियो।
अनिल त्यो प्रतियोगितालाई आफ्नो जिन्दगीको पहिलो 'टर्निङ प्वाइन्ट' मान्छन्। किनभने, त्यो खेल हेरेका धेरैले उनलाई कलैया क्रिकेट क्लबमा प्रशिक्षण लिन सुझाव दिए।
यसले अनिलको हौसला बढ्यो। क्लबमा प्रशिक्षण लिन भने गएनन्।

एसइई दिएपछि उनी प्लस-टू पढ्न हेटौंडा गए। विज्ञान विषय पढ्न थाले। परिवारले क्रिकेटको चस्का घटोस् र पढाइमा मन बसोस् भनेर उनलाई हेटौंडा पठाएको थियो। छोरा क्रिकेटर होइन, इञ्जिनियर वा डाक्टर बनोस् भन्ने आमाबुबाको चाहना थियो।
तर जहाँ गए पनि क्रिकेटबाट अनिलको मन हटेन।
झन् आफूले सानैदेखि मन पराएका क्रिकेटर रामनरेश गिरी आफ्नै कलेजमा पढ्ने कुरा थाहा पाएपछि त उनको भुइँमा खुट्टा भएन।
उनले रामनरेशलाई धुइँपत्ताल खोजे। तर भेटेनन्।
एकदिन गाउँका एक जना साथीले भने, 'तँ हुप्राचउर जा; क्रिकेट पनि खेल्न पाउँछस्, रामनरेशसँग पनि भेट हुनसक्छ।'
नभन्दै त्यहाँ रामनरेशसँग भेट भयो, उनको क्रिकेट खेल्ने हुटहुटीले निरन्तरता पनि पायो।
उनको कलेज साँझ साढे ५ बजे छुट्टी हुन्थ्यो। उनी गाउँमा जस्तै कक्षा सकिनासाथ हुर्रिएर पन्ध्र मिनेटमै मैदान पुगिसक्थे। त्यहाँ उनले रविन गुरूङ र सञ्जय महर्जनबाट क्रिकेट सिके।
हेटौंडामा बस्दा नै उनको भेट निरज वाइबासँग भयो, जसले उनलाई जिन्दगीको पहिलो किट र ब्याट उपहार दिए।
र, एकदिन नेपाली टिमबाट खेल्नुपर्छ भन्ने सपना पनि देखाए।
'निरज र मेरो दोस्ती कति गहिरो थियो भने, ऊ आफ्नो लागि ब्याट किन्ने भनेर बुबासँग पैसा माग्थ्यो र त्यो ब्याट मलाई ल्याएर दिन्थ्यो,' अनिलले भने।
त्यसै क्रममा एकदिन परीक्षा छाडेर क्रिकेट खेल्न चितवन पुगेको उनी सम्झन्छन्।
कलेजबाट यसको खबर पाएपछि बुबाले उनलाई तुरून्तै घर डाके।
उनको मुटुमा ढ्यांग्रो ठोक्न थालिसकेको थियो। उनी बुबाको गाली खान ठिक्क परेर घर पुगे।
अपराधीलाई प्रहरीले केरकार गरेझैं बुबाले उनको केरकार गरे र भने, 'तँ पढ्ने कि खेल्ने? एउटा कुरा रोज्।'
बुबाले फ्याट्टै यस्तो प्रश्न सोध्दा उनलाई के जबाफ दिऊँ भन्ने अलमल भयो। उनको रूचि पढाइभन्दा खेलमै थियो, तर बुबाको अगाडि खुलस्त भन्न सकेनन्। छोराले राम्ररी पढोस् भन्ने बुबाको चाहना उनले बुझेका थिए।
त्यसैले डराई डराई भने, 'म खेल्छु पनि, पढ्छु पनि।'
बुबाले प्रतिप्रश्न गरेनन्।
अनिल त्यसै दिन साँझ घरबाट निस्किए।
बुबा उनलाई पछ्याउँदै आइरहेका रहेछन्; एकठाउँ पुगेपछि अनिलको हात च्याप्प समातेर भने, 'प्लस-टू पास गर्दे। बाँकी तेरो मर्जी!'
'त्यो समय बुबाको अनुहार देखेर मेरो मन भरियो,' अनिलले भावुक हुँदै भने।
त्यसको केही समयपछि नै १२ कक्षाको प्रि-बोर्ड परीक्षा थियो। अनिल भने यसपालि पनि परीक्षा छाडेर वीरगन्जको टिमबाट खेल्न भारतको कोलकाता जाने भए।
उनले घरमा फोन गरेर यो कुरा सुनाए।
'पढाइ के गर्छस्?' बुबाले सोधे।
जबाफमा उनले भने, 'थाहा छैन।'
कोलकातामा क्लबस्तरीय प्रतियोगिता खेलेपछि त अनिलको क्रिकेट मोह झनै बढ्यो। क्रिकेटबाहेक अरू कुनै कुरा उनले सोच्नै सकेनन्।
आखिरमा अनिलले पढाइ छाडे; र क्रिकेट रोजे।
पढाइ सँगसँगै उनले हेटौंडा बसाइ पनि छाडे; र बारा जिल्लाबाट खेल्न थाले।
मैदानमा विलक्षण प्रतिभा देखाउँदै उनी सन् २०१४ मा क्षेत्रीय टिममा छनोट भए। सानै उमेरमा टी-२० राष्ट्रिय प्रतियोगिताका लागि मधेसको टिममा पनि परे। राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि उनी बाराका मुख्य खेलाडी मात्र भएनन्, कलैया क्रिकेट क्लबको कप्तानसमेत चुनिए।
टी-२० राष्ट्रिय टिममा पर्नु उनको जिन्दगीको दोस्रो 'टर्निङ प्वाइन्ट' हो।
उनी राष्ट्रिय टिमको सपना बुन्दै काठमाडौं आए र कीर्तिपुरको क्रिकेट एकेडेमीमा अभ्यास गर्न थाले। टिममा परे पनि खेल्न भने पाएनन्।
त्यति बेला एभरेस्ट प्रिमियर लिग टिम 'कान्तिपुर गोर्खाज' को क्याम्प सँगै थियो। त्यसका कप्तान वसन्त रेग्मी थिए। वसन्तसँग अनिलको भेट कलैयामै भइसकेको थियो।
कलैयाले सांसद कप प्रतियोगितामा भाग लिँदा वसन्तसहित विनोद दास, अभिनाष कर्ण, आरिफ शेख, सुनील धमला, सुशील कँडेल लगायत चर्चित खेलाडीको कप्तानी अनिलले गरिसकेका थिए। त्यो प्रतियोगितामा अनिलको फिल्डिङ र ब्याटिङको वसन्तले खुब तारिफ गरेका थिए।
त्यही सम्बन्धका कारण वसन्तले कान्तिपुर गोर्खाजका तर्फबाट खेल्न अनिललाई प्रस्ताव गरे र अभ्यासमा बोलाए।
'कान्तिपुर गोर्खाजबाट खेल्दा मैले ४० हजार रूपैयाँ पाएको थिएँ,' अनिलले भने, 'त्यो मेरो लागि लाख बराबर थियो।'
त्यसैबीच देशका विभिन्न स्थानमा यू-१९ टिम छनोटका लागि परीक्षण सुरू भयो। बीस वर्ष लाग्दै गरेका अनिलको निम्ति राष्ट्रिय जर्सी पहिरिने त्यो सुनौलो अवसर थियो। यसअघि यू-१९ टिममा परे पनि उनले खेल्न पाएका थिएनन्।
परीक्षणमा अनिलले जम्मा चार बल खेले। कप्तान विनोद दास उनकै अगाडि थिए। विनोदलाई देखेपछि उनी नर्भस भए। डराउँदै ब्याटिङ गरे।
'त्यो बेला मैले एउटा बल डिफेन्स गरेको थिएँ। एउटा बाउन्सर थियो। अर्को वाइड भयो। चौथो बल के गरेँ सम्झना छैन,' अनिलले भने, 'त्यसपछि विनोद दासले अर्का ब्याटरलाई बोलाइहाले।'
परीक्षणबाट बाहिर आएपछि उनले हासिम अन्सारीसँग आफू छनोट हुने सम्भावनाबारे सोधे।
'तिमीले सिनियरबाट खेलिसकेका छौ,' अन्सारीले भने, 'टेन्सन लिनुपर्दैन।'
नभन्दै अनिल छनोट भए।
सन् २०१६ डिसेम्बरमा भएको यू-१९ एसिया कप अनिलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो।
उक्त प्रतियोगितामा नेपालको पहिलो खेल भारतविरूद्ध थियो। रोहित पौडेलले नटआउट ६८ रन जोडे पनि नेपाल ६ विकेटले पराजित भयो। अनिल टिममा भए पनि खेल्न पाएनन्।
दोस्रो खेल श्रीलंकाविरूद्ध थियो। दीपेन्द्रसिंह ऐरीले ९० रन जोडेका थिए। यसपालि पनि नेपाल १ रनले पराजित भयो। अनिलले यो खेल पनि खेल्न पाएनन्।
तेस्रो खेल मलेसियासँग थियो। भारत र श्रीलंकाविरूद्ध खेल्न नपाएपछि उनलाई मलेसियासँग खेल्ने मन थिएन। प्रशिक्षक विनोद दासले हप्काउँदै भने, 'जे पाइरहेको छस्, त्यसमै खुसी हुन सिक्। दुई खेल नेपालले हारेको छ, यो जिताएर देखा।'
विनोद दासको भनाइ अनिलको निम्ति 'गुरूमन्त्र' पनि थियो, चुनौती पनि।
मलेसियाविरूद्धको खेलमा नेपालले १५४ रनको लक्ष्य पछ्याउनुपरेको थियो। तीव्र दबाबबीच अनिल छैठौं नम्बरमा ब्याटिङ गर्न आए।
उनले पवन सर्राफसँग नवौं विकेटका लागि ३८ रनको साझेदारी गरेर नेपाललाई जित दिलाए। टिमका लागि सर्वाधिक ३२ रन बनाएर 'प्लेयर अफ दि म्याच' पनि भए।
यू-१९ एसिया कपको प्रदर्शन अनिलको निम्ति जिन्दगीको तेस्रो र सबभन्दा महत्वपूर्ण 'टर्निङ प्वाइन्ट' साबित भयो।
लगत्तै उनले सन् २०१७ मा मलेसियामा भएको यू-१९ इस्टर्न रिजन प्रतियोगिता खेल्ने अवसर पाए।
त्यति बेला नेपाली टिमको कन्सल्ट्यान्ट प्रशिक्षक मोन्टी देसाइ थिए। मोन्टी खेलाडीहरूलाई बारम्बार भन्थे, 'धेरै नसोच, ब्याटिङ गर।'
मोन्टीको भनाइलाई अनिलले आफ्नो मनमा गाँठो बाँधे। उनले थाइल्यान्डविरूद्ध ९१ रन प्रहार गरे।
त्यसपछि अनिलको रफ्तार हावाको वेगमा अघि बढ्यो।
उनले सन् २०१७ को यू-१९ एसिया कपमा अझ प्रभावशाली प्रदर्शन गर्दै अफगानिस्तानविरूद्ध अर्धशतक हाने। त्यति बेला अफगानिस्तानको टिममा मुजिब उर रहमान, नवीन उल हक लगायतका विश्वस्तरीय खेलाडी थिए। उनीहरूविरूद्ध हानेको त्यो अर्धशतकलाई अनिल आफ्नो करिअरको 'गोल्डेन मोमेन्ट' (सुनौलो क्षण) मान्छन्।
उक्त एसिया कपमा नेपालले भारतलाई पराजित गर्न सफल भयो। भारतको कुनै पनि क्रिकेट टिमलाई नेपालले हराएको त्यो पहिलोपटक थियो। दीपेन्द्रसिंह ऐरीले ८८ रन जोड्दै चार विकेट लिएका थिए। अनिलले भने धेरै रन बनाउन सकेनन्। उनी ६ रनमै सीमित भए।
त्यो अनिलको अन्तिम यू-१९ प्रतियोगिता थियो। यू-१९ एसिया कपको प्रदर्शनकै आधारमा उनलाई सिनियर टिमको बन्द प्रशिक्षणमा मौका दिइयो। उनी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईविरूद्धको पहिलो खेलमा वैकल्पिक खेलाडीमा परे। दोस्रो खेलमा भने नियमित टिममै राखियो। दीपेन्द्रसिंह ऐरी अभ्यास क्रममा घाइते भएपछि अनिललाई स्थान दिइएको थियो। उनी मैदानमा भने ओर्लिन पाएनन्।
त्यसअघि अमेरिकासँगको अभ्यास खेलमा अनिलले पहिलोपटक राष्ट्रिय टिमबाट खेलेका थिए। कुनै चमत्कार भने देखाउन सकेनन्; शून्य रनमै आउट भए।
सन् २०१८ को विश्वकप डिभिजन-टू खेल्न नामिबिया जाँदा पनि उनी राष्ट्रिय टिममा थिए। केन्याविरूद्ध खेल्ने मौका पाए, तर पहिलो बलमै आउट भए।
त्यसपछि जिम्बावेमा भएको विश्वकप छनोटमा अफगानिस्तानविरूद्ध खेल्दा उनी जम्मा ७ रन हानेर मुजिबको बलमा आउट भए। त्यही प्रतियोगितामा नेपालले पहिला हङकङ र पछि पिएनजीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो। नेपाली क्रिकेटले लय समातेको र निरन्तर सफलताको यात्रा तय गरेको त्यसपछि नै हो।
राष्ट्रिय टिमको सफलताका बाबजुद अनिलले आफूलाई जमाउन सकेका थिएनन्। उनको प्रदर्शन लगातार निराशाजनक रह्यो।
त्यसपछि आयो इङ्ल्यान्डको लर्ड्समा भएको एमसिसीसँगको सिरिज, जुन नेपालले एकदिवसीय मान्यता पाएको केही महिनापछि नै भएको थियो।
निरन्तर खराब प्रदर्शनपछि पनि राष्ट्रिय टिममा परेका अनिलले यसपालि भने चमत्कार देखाए। उनले लर्डसमा भएको एउटा खेलमा १३१ रन हाने।
लामो समयपछि लयमा फर्किएका अनिलले त्यसलगत्तै नेदरल्यान्ड्ससँगको पहिलो तथा ऐतिहासिक खेलमा ओपनिङ गर्ने मौका पाए। उनले त्यो मौका चुकाएनन्; ज्ञानेन्द्र मल्लसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै २१ रन जोडे।
यी दुइटा खेलमा राम्रो प्रदर्शन गरे पनि उनले आफ्नो लय कायम राख्न सकेनन्। पोखरामा आयोजित प्रिमियर लिग र त्यसपछिको एभरेस्ट प्रिमियर लिगमा उनको प्रदर्शन खराब रह्यो।
यहाँबाट उनको करिअरमा ग्रहण लाग्यो।

दुई घरेलु प्रतियोगितामा खराब प्रदर्शनपछि नेपालको प्रारम्भिक राष्ट्रिय टिम घोषणा हुँदा उनको नाम परेन।
युएईविरूद्ध टी-२० टिममा नपरे पनि एकदिवसीय टिममा पर्छु भन्नेमा अनिल ढुक्क थिए। तर सोचेजस्तो भएन। उनलाई टिममा नपर्नेबारे कसैले जानकारी पनि दिएको थिएन।
एक्कासि सुनेको निर्णयले अनिल स्तब्ध भए।
उनलाई आफ्नो करिअरमा घनघोर अन्धकार छाएको अनुभूति भयो।
सफलताको सिँढी चढ्दै शिखरमा पुग्न जति गाह्रो हुन्छ, त्योभन्दा बढी गाह्रो शिखरमा आफ्नो स्थान कायम राख्न हुन्छ। अनिलको हालत त्यो आरोहीको जस्तो थियो; जो आधारशिविरबाट ज्यानको जोखिम मोल्दै सगरमाथा त चढ्छ, तर शिखरमा पाइला टेक्न एकाध मिटर बाँकी छँदा अप्रत्यासित रूपले तल झर्नुपर्छ।
राष्ट्रिय टिमबाट बाहिरिएपछि उनलाई सबभन्दा ठूलो समस्या आर्थिक अभावको भयो। राष्ट्रिय टिममा हुँदा थोरबहुत पैसा आइरहेको थियो, उनको दैनिक जीवन चलेको थियो। टिममा नपरेपछि पैसा आउन छाड्यो। उनी आबद्ध सशस्त्र प्रहरी टिम (एपिएफ) ले पनि जागिर नदिने भन्यो। यसले उनको आर्थिक संकट झनै चुलियो।
आर्थिक हन्डरबाट बच्न उनी करारमा नेपाल प्रहरी टिमसँग जोडिए। एउटा प्रतियोगितामा ओपनिङ पनि गरे। तर रन बनाउन सकेनन्।
अर्को प्रतियोगिता खेले; त्यसमा पनि त्यस्तै भयो।
ओपनिङ ब्याट्सम्यानको हैसियतमा पुगेका अनिल बिस्तारै तल्लो क्रमको ब्याटिङमा झर्दै गए। तल्लो क्रममा पनि खासै गतिलो प्रदर्शन गर्न सकेनन्।
यसबीच उनले केही महत्वपूर्ण प्रतियोगिता खेल्ने अवसर नपाएका होइनन्, तर कुनैमा पनि आफ्नो उपस्थितिको अनुभूति गराउन सकेनन्।
उदाहरणका लागि — टी-२० विश्वकपको एसिया क्षेत्र छनोटअन्तर्गत उनले सिंगापुरविरूद्ध खेलेका थिए। वर्षाले बिथोलिएको उक्त खेलमा नेपाल अंकका आधारमा एसियाको अन्तिम छनोटमा पुग्यो। वर्षाले खेल रोकिनुभन्दा ठिक अघिल्लो बलमा अनिल आउट भएका थिए। उनी भारी वर्षाबीच छक्का हानेर रन बढाउन चाहन्थे, तर दुर्भाग्यवश आउट भए।
'जति बेला ब्याटरले रन बनाउन सक्दैन, उसको दिमाग ब्याटभन्दा बढी चल्छ। यस्तो भएको भए रन बन्थ्यो, उस्तो भएको भए राम्रो हुन्थ्यो भन्ने तर्कना मात्र मनमा आइरहन्छ। नकारात्मक सोचले घेर्न थाल्छ,' अनिलले आफ्नो करिअरको अन्धकार क्षण सम्झँदै भने, 'खेल्ने तरिका नै मिलेन कि भन्ने खेलाडीलाई लाग्छ।'
अनिललाई पनि त्यस्तै भयो।
उनी कहिले ब्याट, कहिले खुट्टा त कहिले टाउकोको पोजिसन मिलेन कि भन्ने उल्झनमा अल्झिन थाले।
मनको गाँठो फुकाइदिने कोही पनि उनले पाएनन्। न प्रशिक्षकले सिकाए, न साथीहरूले भने।
मान्छेलाई जब नकारात्मक सोचले घेर्छ, ऊ निरन्तर त्यसैको पासोमा पर्दै जान्छ। उसलाई आफू अन्धकार र गहिरो इनारभित्र फसेको आभाष हुन्छ। घटना खासै ठूलो हुँदैन, तर त्यो घटनाले निम्त्याउने सोच यति भयंकर भइदिन्छ, ऊ त्यही भयंकर सोचको भारीले थिचिन थाल्छ। र, बिग्रेको रिल घरिघरि एकै ठाउँमा अड्केझैं त्यही नकारात्मक सोच निरन्तर मनमा घुमिरहन्छ।
र, अन्तत: मनको भय र हिनताबोधले मान्छेलाई भित्रभित्रै खान्छ; खोक्रो बनाइदिन्छ।
सफलताले सफलता पछ्याउँछ भनेजस्तै असफलताले पनि असफलता पछ्याउँछ। अनिलको असफलताले पनि एकपछि अर्को असफलता पछ्याउन थाल्यो।
उनले त्यसपछि कुनै पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेनन्। प्रहरी टिममा पनि स्थान गुम्यो। उनी मुख्य ब्याटरमा गनिन छाडे। चिन्तामाथि चिन्ता थपियो, उनको करिअर निरन्तर खिइँदै गयो।
'ओरालो लागेको मृगलाई जसले पनि खेद्छ! त्यो समय मैले आफ्नै साथीभाइ र आफन्तको नमिठो बचन सहनुपर्यो,' अनिल गम्भीर सुनिए, 'सबैले आ-आफ्नै ढंगले प्रतिक्रिया दिए। कसैले तँ ठूलो मान्छे भइस् भनेर व्यंग्य कसे। कसैले राष्ट्रिय टिममा परेपछि एटिच्युड बढ्योसम्म भने। आफ्नै ठानेको मान्छेले पनि मेरो साथ छाडे। कुरा काट्न थाले।'
'मेरो मनको चोट मैसँग थियो,' उनले भने।
यसबीच एउटा अर्को समस्याले अनिललाई घेर्यो। उनी १६ जनाको संयुक्त परिवारमा जेठा छोरा थिए। उनको काँधमा पारिवारिक जिम्मेवारी थपियो।
उनका भाइहरू अजय र सुवास एकदमै राम्रो क्रिकेट खेल्थे। अनिलको करिअर उँधो झरेपछि दुवै भाइको क्रिकेट यात्रा अघि बढ्न सकेन। उनीहरू विदेश लागे। अहिले अजय कतारमा छन् भने सुवास अस्ट्रेलियामा।
दुवै भाइले विदेश जानुअघि अनिललाई भनेका थिए, 'तपाईं क्रिकेट खेल्नू, हामी विदेश गएर परिवार सम्हाल्छौं।'
भाइहरूको यो बचनले अनिलको मनमा महको काम गर्यो।
'आफूभन्दा राम्रो क्रिकेट खेल्ने भाइहरूले त्यसो भनेर विदेश गएपछि मेरो निम्ति गर या मरको स्थिति बन्यो,' उनले भावुक हुँदै भने, 'आफू नेपालमा बसेर भाइहरूलाई विदेश पठाउन मलाई सजिलो भएन। तर उनीहरूले मेरो निम्ति आफ्नो सपना त्यागे। परिवारको जिम्मेवारी बोकेर मलाई फेरि मैदानमा ओर्लिन हौसला दिए। भाइहरूको त्यो गुण म जिन्दगीभरि बिर्सन सक्दिनँ।'
तर अनिल निराशा, हिनताबोध र नकारात्मक सोचको कति ठूलो चक्रमा फसेका थिए भने, भाइहरू विदेश गएपछि पनि उनी खेलमा जम्न सकेनन्।
जति कोसिस गर्दा पनि उनको ध्यान क्रिकेटमा फर्कँदै फर्केन।
उनले प्रहरीको टिम छाडेर गाउँ फर्कने र फेरि शून्यबाट करिअर सुरू गर्ने निधो गरे।
निधो त गरे, तर शून्यबाट सुरू गर्नु सजिलो काम थिएन। उनले अब क्लब, जिल्ला र प्रदेशस्तरीय खेल खेल्नुपर्थ्यो। ती खेलमा नवउदीयमान कुशल खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्थ्यो। अवसर त थियो, तर छनोटमा पर्न कठिन चरण पार गर्नुपर्थ्यो।
अनिलले भाइहरूको बचन सम्झे र आफ्नो मन दह्रो पारे।
सुरूदेखि राम्रो प्रदर्शन गरेर जिल्ला हुँदै प्रदेश टिममा पर्नुपर्छ भन्ने उनलाई लाग्यो। यही सोच पछ्याउँदै उनले धेरै खेल खेले। जिल्लाको कप्तान हुँदै मधेस प्रदेश टिममा परे र ब्याटिङ युनिटको नेतृत्व गरे।
तर अझै पनि राष्ट्रिय टिममा पुनरागमनको लक्षण दूर दूरसम्म उनले देखेका थिएनन्।
त्यो समय उनको कामै टेलिभिजनमा क्रिकेट हेर्नु थियो। विश्वस्तरीय खेलाडीहरूले कसरी खेल्छन् भनेर सिक्नु थियो। नेपालका खेल त उनी एउटा पनि नछुटाई हेर्थे।
एकदिन टिभीमा क्रिकेट हेरेर बसिरहेका बेला हजुरआमा नजिक आइन् र भनिन्, 'खाली अर्काले खेलेको हेरेर बस्छस्, तैंले खेलेको चाहिँ कहिले हेर्न पाउने?'
अनिलले जबाफ दिए, 'एकदिन अवश्य खेल्छु आमा!'
'हजुरआमाले मप्रति जुन आशा राख्नुभएको थियो, त्यसले पनि मलाई धेरै हौसला दियो। मेरो गलिसकेको मनलाई सहारा दियो,' अनिलले भने, 'मैले मनमनै ठानेँ- म हजुरआमाको इच्छा पूरा गर्न मात्र भए पनि एकचोटि फेरि नेपालको निलो जर्सी लगाएर मैदानमा फर्किन्छु।'
यसो भन्दै गर्दा अनिल आफूले लगाइरहेको उही निलो जर्सी मुसार्दै थिए।
'यो जर्सीको शान मैले त्यति बेला थाहा पाएँ, जब म यो जर्सी लगाउने हकबाट वञ्चित भएँ,' उनले भने।
त्यो शान फिर्ता ल्याउन र हजुरआमाको 'अन्तिम इच्छा' पूरा गर्न अनिलले राष्ट्रिय टिममा पुनरागमनलाई आफ्नो जिन्दगीको एक मात्र लक्ष्य बनाए। यसको निम्ति मधेस टिम नै उनको दरिलो खुड्किलो थियो।
उनले मधेस टिमलाई उकास्न कुनै कसर छाडेनन्। टिममा युवा र सिनियर खेलाडीबीच राम्रो समन्वय कायम गराए। प्रतिभाशाली खेलाडी भएको टिम एकजुट भएर खेल्यो भने जसलाई पनि हराउन सकिन्छ भन्ने विश्वास साथीहरूमा भरे। त्यसमाथि मधेस टिममा पवन सर्राफ फर्किएपछि माहोल झनै बढ्यो।
सन् २०२३ मा मधेस प्रदेश टिमबाट प्रधानमन्त्री कप खेलेपछि अनिलको करिअरमा नयाँ अध्याय सुरू भयो।
यसै वर्ष भएको केपी ओली कपमा त झन मधेसले उपाधि जित्दा अनिलको महत्वपूर्ण योगदान छ। प्रतियोगिताको पहिलो खेलमा प्रहरी टिमसँग मधेस पराजित भयो। दोस्रोमा मधेसले सुदूरपश्चिमलाई ४ ओभरमै हरायो।
अब प्रहरी टिम हार्यो भने मात्र मधेस अघि बढ्न सक्थ्यो। संयोगवश प्रहरी पराजित भयो र मधेस सेमिफाइनल पुग्यो।
मधेसले सेमिफाइनल एपिएफसँग खेल्यो। एपिएफ लयमा थिएन। मधेस उसलाई हराएर फाइनल पुग्यो।
फाइनलमा नेपाली सेनासँग भएको भिडन्तमा मधेस टिमले सुरूमै विकेट लिएर जितको आधार तयार पार्यो। यो खेलमा मधेसले ऐतिहासिक उपाधि जित्यो, जसको श्रेय अनिलले पाए।
त्यसलगत्तै प्रधानमन्त्री कप नयाँ ढाँचामा हुने घोषणा भयो, जहाँ चार शीर्ष टिमले एलिट कप र एउटा टिमले नौ खेल खेल्न पाउँथ्यो।
यो सुनेर अनिल उत्साहित भए।
उनी मधेस टिमको हरेक खेलअघि रणनीतिक बैठक गर्थे र बाँकी सबै टिमका ब्याटर र बलरविरूद्ध रणनीति तयार पार्थे। प्रधानमन्त्री कपको प्रत्येक खेलमा कम्तीमा ४० रन बनाउने र नेपालको 'ए' टिममा पर्ने उनको लक्ष्य थियो। उनले नौ खेलमा ३६० रन बनाउने लक्ष्य पनि लिएका थिए।
नभन्दै प्रतियोगिताको सर्वाधिक रन बनाउने क्रममा अनिलले ३८६ रन जोडे। दुई अर्धशतक र एक शतक हानेर प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान भए।
अनिलको करिअरमा लागेको ग्रहणमा चाँदीको उज्यालो घेरा देखियो। मनमा गाँठो परेको नकारात्मक सोचलाई सकारात्मक ऊर्जाले जित्यो। अनिलले आफ्नो पुरानो लय फेरि समाते।
'त्यो बेला म हरेक खेलअगाडि तनावमा हुन्थेँ,' अनिलले गण्डकीविरूद्धको खेल सम्झे।
त्यो खेलअघि उनले आफ्नो टिमलाई भनेका थिए, 'आज म शतक हान्छु!'
खेलको बीचमा जब उनले ७५ रन बनाए, उनी हड्बडाए। शतकसम्म पुग्न सकिँदैन कि भनेर मनमा खलबली मच्चियो। उनको दिमागमा त्यसअघि खेलेका नराम्रा सट र इनिङ फनफनी घुम्न थाले।
त्यो बेला पवन सर्राफ क्रिजमा सँगै थिए। अनिलले उनलाई भने, 'म अब चार छक्का हानेर शतक पूरा गर्छु।'
पवनले त्यसो नगर्न सुझाए र भने, 'एक-एक रनका लागि लड्नुपर्छ।'
पवनको यो भनाइले अनिलको आत्मबल बढ्यो। उनले सम्हालिएर खेल्न थाले।
र, टिमलाई गरेको बाचाअनुसार शतक पूरा गरे। अनिलले हानेको १२७ रन प्रतियोगितामा एकै इनिङको सर्वाधिक स्कोर बन्यो।
'म आफ्नो असफलताबाट प्राविधिक रूपमा भन्दा मानसिक रूपमा बलियो भएको छु,' उनले भने, 'खेलमा ध्यान लगाउन सिकेको छु।'
'असफलताले सुरूका दिनमा धेरै समय मेरो मन खहरे खोलाझैं अस्थिर भयो। मनमा सधैं हलचल मच्चियो। आफ्नै क्षमतामाथि विश्वास लाग्न छाड्यो,' उनले आफ्नो अगाडि रहेको स्विमिङ पुलको निलो पानीतिर देखाउँदै भने, 'अहिले मेरो मन यो स्विमिङ पुलको पानीझैं स्थिर छ। मन काबुमा छ। ममा क्षमता छ, म गर्न सक्छु भन्ने भावना बलियो भएको छ।'
यही विश्वास, ध्यान, लगन र स्थिरताले पाँच वर्षको गुमनामीपछि राष्ट्रिय टिममा 'कमब्याक' गर्न उनी सफल भए।
प्रधानमन्त्री कपमा गरेको उत्कृष्ट ब्याटिङले उनी फेरि निलो जर्सीका हकदार भए।
हजुरआमाको सपना पूरा भयो।
'राष्ट्रिय टिममा परेको खबर पाउँदा मेरो मुटु थर्रर कामेको थियो। पहिलेभन्दा कयौं गुणा बढी खुसी म यसपालि भएको थिएँ,' उनले भने।
मान्छे पहिलोचोटि शिखरमा पुग्दा खुसी हुन्छ, तर एकचोटि शिखरबाट झरेर फेरि त्यो मुकाम छुँदा ऊ झनै खुसी हुन्छ। अनिल साहको अवस्था त्यस्तै थियो।
'मैले विगतको असफलता सम्झिएँ। भविष्यको खेल सम्झिएँ। दुवै सम्झेर कहिले डर लाग्थ्यो, कहिले मनमा उत्साह भरिएर आउँथ्यो,' उनले भने, 'राम्रो प्रदर्शन गर्न नसके टिममा टिक्न गाह्रो छ भन्नेमा म सचेत थिएँ।'

राष्ट्रिय टिममा पुनरागमन गर्दै होटल पुग्दा प्रशिक्षक मोन्टी देसाइले अनिललाई भनेका थिए, 'तिमी जे गरेर यहाँ आइपुग्यौ, अब पनि त्यही गर।'
अनिल क्यानडाविरूद्ध पछिल्लो सिरिजको पहिलो खेलमा टिममा थिएनन्। पहिलो खेल नखेल्दा विपक्षीको रणनीति नियाल्न र टिमको वातावरण थाहा पाउन सहज भयो।
यही माघ २७ गते क्यानडाविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनी निलो जर्सी लगाएर मैदानमा ओर्ले।
आफ्नो पहिलो 'कमब्याक' खेलमा अनिलले १९ बलमा अर्धशतक पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए।
'कीर्तिमान बनाएँ भन्ने त मेरो मनमा छँदै थिएन,' उनले गर्विलो भावमा हामीसँग भने, 'आफ्नो ठाउँमा आएको बल लगातार हानेँ र रन बनाइरहेँ।'
'त्यति बेला राष्ट्रिय कीर्तिमान बन्दैछ वा १६ बलमा अर्धशतक पूरा गरे विश्व कीर्तिमानै बन्छ भन्ने मनमा भइदिएको भए सायद मेरो लय गुम्न सक्थ्यो!' उनले अगाडि भने, 'म हडबडाएर आउट पनि हुन सक्थेँ!'
'मान्छेले जति लेखिएको हुन्छ, त्यति मात्र पाउँछ।'
पहिलो कमब्याक खेलमा शानदार प्रदर्शन गरेपछि मनको दबाब हलुंगो भइसकेको थियो। त्यसैले माघ २९ गते क्यानडाविरूद्ध तेस्रो एकदिवसीय खेलमा उनले बिनादबाब खेले। कुशल भुर्तेल आउट भएपछि भीम सार्कीसँग उनको राम्रो साझेदारी बन्यो। दुवैले एकअर्कालाई सपोर्ट गरे। अनिलले नटआउट ११२ रन हाने। नेपालले सिरिज क्लिनस्विप गर्यो।
'बीच-बीचमा केही बल मिस भए। यहाँसम्म आउनुभएको छ, अझ धेरै गर्नुछ भनेर भीमले सम्झाएको थियो,' अनिलले त्यो खेल सम्झिँदै भने।
त्यो दिन होटल फर्केपछि अनिलले परिवारसँग भिडिओ कुराकानी गरे।
परिवारका सबै उनको सफलताले खुसी थिए। उनले क्रिकेट खेलेको मन नपराउने बुबा पनि प्रसन्न देखिए।
राम्ररी कान नसुन्ने हजुरआमाले मुख उज्यालो पार्दै भनिन्, 'बाबु, आज तेरो खेल टिभीमा हेरेँ! राम्रो खेलिस्! स्याबास्!'
अनिललाई लाग्यो — जिन्दगीमा छाएको ग्रहण हट्यो!
तर ग्रहण हो; आकाशको होस् या जीवनको, आउनेजाने क्रम चलिरहन्छ।
ग्रहण भनेको लय हो, लय कहिल्यै रोकिँदैन। मान्छेको जीवन पनि लय नै हो, निरन्तर चलिरहनुपर्छ। अँध्यारो आओस् या उज्यालो, लय थामिनुहुन्न।
जिन्दगीको यो 'गुरूमन्त्र' अनिल साहले मनमा गाँठो बाँधिसके!
***