काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ।
बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।
काठमाडौंमा बिहीबार रातिदेखि नै पानी पर्ने र रोकिने क्रम सुरू भएको थियो। शुक्रबार बिहानदेखि भने लगातारजसो परिरहेको छ।
काठमाडौंसहित कोशीदेखि गण्डकी प्रदेशसम्म गएरातिदेखि वर्षा भइरहेको छ। शुक्रबार दिउँसो वर्षा गण्डकीबाट सुदूरपश्चिमसम्म विस्तार भएको छ। पश्चिमी भूभागमा भने छिटपुटदेखि हल्का वर्षा भएको छ।
बंगालको खाडीमा बनेको चक्रवात 'अर्नब' कमजोर भएर न्यूनचापीय क्षेत्रका रूपमा भारतको उत्तरप्रदेश आसपास आइपुगेको र पश्चिमी वायुको समेत प्रभाव रहेकाले नेपालमा वर्षा भइरहेको मौसमविदहरूले बताएका छन्।
मौसमविद रोजन लामिछानेका अनुसार उक्त प्रणाली नेपाल नजिकिँदै जाँदा साँझ र राति वर्षा थप बढ्न सक्छ।
'नेपालको अझै नजिक आउँदा रातितिर पानी पर्ने क्रम थप बढ्ने देखिन्छ,' उनले सेतोपाटीसँग भने, 'भारी भनेर त्यस्तो भारी वर्षा होइन। झरी नै पर्ने हो। एक-दुई ठाउँमा भारी वर्षा हुन सक्छ।'
विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली भूभागमा बढी वर्षा हुन सक्ने उनले बताए।
विभागका अनुसार शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ।













