जन्म, मृत्यु, पढाइ र बसाइँसराइ अहिलेकै चालमा चलिरह्यो भने नेपालको जनसंख्या सन् २०६० तिर करिब ३ करोड ५० लाख पुग्छ।
त्यो नै नेपालको जनसंख्याको शिखर हो। त्यसभन्दा माथि नेपाल कहिल्यै जाँदैन। त्यसपछि ओरालो सुरू हुन्छ।
यो मेरो नयाँ अध्ययनको एउटा निष्कर्ष हो।
अध्ययन २०८३ कात्तिक १४ (सन् २०२६ अक्टोबर ३०) मा 'पपुलेसन्स' जर्नलमा छापिएको छ। विश्वभरका जलवायु र वातावरण अनुसन्धानकर्ताले जुन जनसंख्या प्रक्षेपण प्रयोग गर्छन्, त्यो सन् २१०० मा सकिन्छ। यो अध्ययनले त्यही प्रक्षेपणलाई सन् २३०० सम्म पुर्याएको छ।
यो प्रक्षेपण भियनास्थित विट्गेन्स्टाइन सेन्टरमा बन्छ र सन् २०१३ देखि यसको नेतृत्व मैले गर्दै आएको छु।
यसले संसारका २०० देशको जनसंख्यालाई उमेर, लिंग र शैक्षिक योग्यता अनुसार छुट्ट्याएर देखाउँछ। यस्ता प्रक्षेपणलाई साझा सामाजिक–आर्थिक मार्ग, छोटकरीमा एसएसपी (SSP) भनिन्छ।
सन् २३०० सम्म किन जानुपर्यो?
किनभने जनसंख्याको कथा सन् २१०० मा सकिँदैन। तालिका मात्र त्यहाँ सकिन्छन्।
संसार फर्किँदैछ
दुई सय वर्षदेखि संसारको चिन्ता एउटै थियो– मानिस धेरै भए। जहाँ जनसंख्या अझै बढ्दैछ, त्यहाँ यो चिन्ता अझै छ। तर संसारलाई समग्रमा हेर्दा दिशा फेरिँदैछ।
एसएसपीका धेरै मार्गमध्ये एउटालाई मध्यम मार्ग भनिन्छ। यो अहिलेकै प्रवृत्ति जारी रहने मार्ग हो। यही मार्गमा संसारको जनसंख्या सन् २०८० तिर करिब १० अर्ब १० करोड पुगेर शिखरमा उभिन्छ।
सन् २१०० सम्म त्यो शिखरबाट जम्मा २.४ प्रतिशत झर्छ। सन् २१०० मा सकिने तालिका हेर्नेलाई रेखा समतल देखिन्छ। उसले सोच्छ, संसार अब स्थिर भयो।
होइन, भएको छैन। त्यही मार्ग अरू दुई सय वर्ष पछ्याउने हो भने सन् २३०० मा संसारमा ४ अर्ब २० करोड मानिस हुन्छन्।
सन् १९७० को दशकको अन्त्यमा पृथ्वीमा करिब यति नै मानिस थिए। घट्ने गति ढिलो छ, वर्षको हजारमा चार जना जति। तर घट्न छाड्दैन। अनि जो बाँकी रहन्छन्, ती बूढा हुन्छन्। हरेक पाँच जनामा एक जनाभन्दा बढी ८० वर्ष काटेका।
अरू मार्ग अर्कै ठाउँमा पुग्छन्। पढाइ छिटो फैलिए र परिवार साना रहे भने (एसएसपी १) सन् २३०० मा संसारको जनसंख्या १ अर्बको हाराहारीमा झर्छ। संसार गुटगुटमा बाँडिए र प्रजनन दर माथि नै रहे भने (एसएसपी ३) जनसंख्या सन् २२२५ तिरसम्म बढिरहन्छ र सन् २३०० मा पनि १५ अर्बभन्दा माथि रहन्छ।
सन् २१०० मा सबभन्दा ठूलो र सबभन्दा सानो मार्गबीच १.६ गुणाको फरक हुन्छ। सन् २३०० मा त्यो फरक १६ गुणा पुग्छ।
यी फरक भविष्यबीचको दुरी प्रायः सन् २१०० पछि मात्र खुल्छ, ठीक त्यही वर्षपछि जहाँ हाम्रा प्रक्षेपण रोकिन्छन्।
विश्वको जनसंख्या, सन् २०२०–२३००, तीन एसएसपी मार्गमा। स्रोत: केसी (२०२६), Populations २(४) २३।
नेपाल संसारभन्दा अगाडि
नेपाल यो मोडमा संसारभन्दा बीस वर्ष अगाडि पुग्छ।
मध्यम मार्गमा नेपालको जनसंख्या यस्तो देखिन्छ—
• सन् २०२० मा २ करोड ९० लाख
• सन् २०६० तिर शिखर, करिब ३ करोड ५० लाख
• सन् २१०० मा ३ करोड २५ लाख
• सन् २२०० मा करिब २ करोड
• सन् २३०० मा करिब १ करोड २० लाख
अन्तिम संख्या सम्झनलायक छ। सन् १९७१ को जनगणनाले नेपालमा करिब १ करोड १६ लाख मानिस गनेको थियो। सन् २३०० को नेपाल त्योभन्दा अलिकति मात्र ठूलो हुन्छ।
नेपालको जनसंख्या, सन् २०२०–२३००। खैरो पट्टी: मध्यम मार्गमा दीर्घकालीन प्रजनन दर १.७५ को सट्टा १.५ देखि २.० हुँदा।
छिमेकी पनि यही बाटोमा छन्, तर चाल फरक छ। भारत नेपालभन्दा अलि अगाडि, सन् २०५५ तिर, शिखरमा पुग्छ। समग्र दक्षिण एसिया सन् २०६५ तिर।
पाकिस्तान भने सन् २११० तिरसम्म बढिरहन्छ। सन् २०२० मा सय जना भएको ठाउँमा सन् २३०० मा कति हुन्छन्? नेपालमा ४२, भारतमा ४०, दक्षिण एसियामा ४७ र पाकिस्तानमा ९४।
नेपाल, भारत, पाकिस्तान, दक्षिण एसिया र विश्व: सन् २०२० को तुलनामा जनसंख्या (२०२० = १००), मध्यम मार्ग।
काम गर्ने उमेरका, अर्थात् २० देखि ६४ वर्षका, नेपाली सन् २०२० मा करिब १ करोड ५० लाख थिए। सन् २०५० तिर उनीहरू करिब २ करोड २० लाख पुग्छन्।
सन् २१०० मा फेरि करिब १ करोड ६० लाखमा फर्किन्छन्। सन् २३०० मा करिब ५० लाख मात्र रहन्छन्।
संख्याभन्दा ठूलो फेरबदल उमेरमा आउँछ। सन् २०२० मा नेपालीको मध्यक उमेर पच्चीसको आसपास थियो। अर्थात् आधा नेपाली पच्चीस वर्षमुनिका थिए।
यही मार्गमा मध्यक उमेर सन् २१०० मा ५१ र सन् २३०० मा करिब ५६ वर्ष पुग्छ। ८० वर्ष काटेका नेपाली सन् २०२० मा सयमा एक जना पनि थिएनन्। सन् २१०० मा सातमा एक हुन्छन्। सन् २३०० मा झन्डै चारमा एक। बीस वर्षमुनिका युवा सन् २०२० मा दसमा चार थिए। उनीहरू ६ मा एकमा झर्छन्।
उही संख्याभित्रको राम्रो खबर
तर भोलिका बूढा आजका बूढाजस्ता हुने छैनन्। सन् २०२० मा २५ वर्ष काटेका नेपालीमध्ये दसमा चारभन्दा बढी कहिल्यै विद्यालय गएका थिएनन्।
माध्यमिकभन्दा माथि पढेका बीसमा एक जना पनि थिएनन्। मध्यम मार्गमा सन् २१०० सम्म विद्यालय नटेकेका वयस्क लगभग रहँदैनन्। त्यति बेला झन्डै तीनमा एक वयस्कले माध्यमिकभन्दा माथि पढेको हुन्छ। सन् २२०० मा चारमा तीनले।
यो सानो कुरा होइन। पढेलेखेको मानिस बढी बाँच्छ, बढी वर्ष काम गर्छ, बढी कमाउँछ र संकट आउँदा बढी थेग्छ। पढेलेखेको सानो र बूढो देश नपढेको सानो र बूढो देशजस्तो हुँदैन। बुढ्यौली आउँछ, आउँछ। तर त्यसलाई धान्ने क्षमता पनि सँगसँगै बढ्दैछ।
उमेर, लिंग र शैक्षिक योग्यताअनुसार नेपालको जनसंख्या, मध्यम मार्ग, सन् २०२०, २१०० र २३००। बायाँ पुरुष, दायाँ महिला। गाढा रातो = शिक्षा नभएको, गाढा नीलो = उच्च शिक्षा, खैरो = १५ वर्षमुनि।
यति ठूलो फरक कहाँबाट?
नेपालका लागि पनि सम्भावनाको दायरा संसारकै जत्तिको फराकिलो छ। सन् २३०० मा कम प्रजननको मार्गले करिब २५ लाख नेपाली देखाउँछ। उच्च प्रजननको मार्गले ५ करोड ७० लाख, त्यो पनि सन् २२२५ तिर करिब ६ करोड १० लाखको शिखर छोएर आएपछि।
यो फरकको धेरैजसो भार एउटै अनुमानले बोकेको छ: लामो समयमा एउटी महिलाले औसत कति सन्तान जन्माउँछिन्।
यो संख्या २.० को सट्टा १.५ मा अडियो भने मध्यम मार्गले सन् २३०० मा करिब २ करोडको सट्टा करिब ७० लाख नेपाली देखाउँछ। प्रतिमहिला आधा सन्तानको फरक। दुई सय वर्ष जोड्दा त्यो फरक झन्डै तीन गुणा हुन्छ।
यो अध्ययनले के भन्दैन
यी परिदृश्य हुन्, भविष्यवाणी होइनन्।
हरेक परिदृश्यले एउटा प्रश्नको जबाफ दिन्छ — यी अनुमान वर्षौंसम्म यसरी नै लागू भइरहे भने कहाँ पुगिन्छ?
सन् २२०० मा प्रजनन दर कति हुन्छ भन्ने कसैलाई थाहा छैन, मलाई पनि छैन।
नेपालका लागि तीनवटा सरलीकरण मुख्य छन्।
पहिलो, सन् २१०० पछि हरेक देशमा खुद अन्तर्राष्ट्रिय बसाइँसराइ शून्य मानिएको छ। सन् २०२१ को जनगणनामा २१ लाखभन्दा बढी अनुपस्थित जनसंख्या भएको देशका लागि यो सानो अनुमान होइन।
दोस्रो, जलवायु परिवर्तनले जन्म, मृत्यु र बसाइँसराइमा पार्ने असर यहाँ समेटिएको छैन।
तेस्रो, औसत आयुलाई १०५ वर्षमा रोकिएको छ। आयु त्यति नबढे जनसंख्या देखाइएकोभन्दा सानो हुन्छ, ठूलो हुँदैन।
अहिले नै किन?
किनभने मोड टाढा छैन। यस वर्ष जन्मिएको बच्चा पैंतीस वर्षको हुँदा नेपाल आफ्नो शिखरमा हुन्छ। आज बनिरहेका विद्यालय, सडक, खानेपानी र अस्पतालले आफ्नो आयुको धेरैजसो भाग त्यस्तो देशको सेवा गर्नेछन्, जहाँ जनसंख्या बढ्न छाडिसकेको छ र घट्न थालेको छ।
साना बालबालिकाको संख्या त अहिले नै घट्न थालिसक्यो।
केही निर्णयको आयु अझ लामो हुन्छ।
जलविद्युत बाँध, सहरको खानेपानी, हिमताल फुट्ने जोखिम; यिनको हिसाब सन् २१०० भन्दा धेरै परसम्म पुग्छ।
अहिलेसम्म त्यति परको योजना बनाउनेसँग दुई विकल्प थिए— नेपालको जनसंख्या सन् २१०० मै अडिन्छ भनेर मान्नु, वा अड्कल काट्नु। अब हरेक देशका लागि सन् २३०० सम्मका संख्या छन्, विधिसहित, खुला, जसले चाह्यो उसले प्रयोग गर्न सक्ने।
र, एउटा कुरा नबिर्सौं। मानिस कम हुँदैमा वन, नदी र जलवायुमाथिको दबाब आफै घट्दैन।
त्यो हामी कसरी बाँच्छौं भन्नेमा भर पर्छ— के खान्छौं, कसरी बनाउँछौं, कुन ऊर्जा बाल्छौं। सानो तर धनी जनसंख्याले पनि पृथ्वीमाथि ठूलो भार पार्न सक्छ।
यस वर्ष वैशाखमा एउटा मन्त्रालयको नामबाट 'जनसंख्या' शब्द हट्यो। संख्याले भने उल्टो कुरा भन्छन्। आउँदो पैंतीस वर्षभित्र नेपाल आफ्नो जनसंख्या इतिहासकै सबैभन्दा ठूलो मोड पार गर्दैछ।
शिखरमा पुग्दै गरेको नेपालका लागि, र त्यसपछि आउने सानो, बूढो तर पढेलेखेको नेपालका लागि, योजना कसले बनाइरहेको छ?
एक्स @kcsamir