बेइजिङ डायरी
विश्वको सबभन्दा ठूलो जलविद्युत आयोजना तीन घाटी बाँध परियोजना हो। यसलाई त्रिघाटी परियोजना पनि भनिन्छ।
यो चीनको हुपेई प्रान्तको यिचाङ सहरमा रहेको याङ्से नदीमा अवस्थित छ। बहुउद्देश्यीय जल नियन्त्रण प्रणालीका रूपमा विकास गरिएको यस परियोजनाले बाढी नियन्त्रण, जलविद्युत उत्पादन र जलयात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
जलविद्युत उत्पादनका हिसाबले यो विश्वकै सबैभन्दा ठूलो हो। यसमा २२,५०० मेगावाट क्षमताका ३४ वटा टर्बो–जेनेरेटर छन्। वार्षिक ८८.२ अर्ब किलोवाट–घण्टा विद्युत उत्पादन हुँदै आएको यस परियोजना निर्माणमा २,३०९ मिटर लम्बाइ र १८१ मिटर उचाइको छ।
विशाल बाँधमा कुल ३९.३ अर्ब घनमिटर पानी जम्मा हुन्छ, जसको बाढी नियन्त्रण क्षमता २२.१५ अर्ब घनमिटर छ।
यो परियोजनाको परिकल्पना चिनियाँ नेता माओ चतोङ (माओ त्सेतुङ) ले सन् १९७० को दशकमै गरेका थिए। औपचारिक रूपमा योजना बनाउने काम भने सन् १९९२ देखि भएको हो।
चीनको राष्ट्रिय जनकांग्रेसले सन् १९९२ मा निर्माण प्रस्ताव स्वीकृत गरेपछि मूर्त रूपमा परियोजना निर्माणको प्रक्रिया सुरू भएको थियो।
सन् १९९४ डिसेम्बर १४ मा यो परियोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरू भयो। निर्माण सुरू गरेको तीन वर्षपछि सन् १९९७ मा याङ्से नदीको धारलाई सफलतापूर्वक रोकेर पहिलो चरण सम्पन्न भयो। सन् २००३ मा पहिलो पटक पानी भण्डारण र विद्युत उत्पादन सुरू भयो। त्यसको तीन वर्षपछि सन् २००६ मा १८५ मिटर उचाइको बाँधको मुख्य संरचना पूर्ण भयो।
सन् २०२० नोभेम्बरमा सम्पूर्ण निर्माण कार्य औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरियो।
यो परियोजना सम्पन्न भएपछि यसले देखाएका तथ्यांकमा कैयौं विश्व रेकर्ड र आश्चर्यहरू समेटिएका छन्। सन् २०१२ मा यसले ब्राजिल–पाराग्वेको इटाइपू बाँधलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो जलविद्युत केन्द्रको स्थान हासिल गर्यो। सन् २०२० मा यसले एक वर्षमा १११.८ बिलियन किलोवाट–घण्टा विद्युत उत्पादन गरी विश्व कीर्तिमान कायम गर्यो।

सन् २०२५ सम्म कुल विद्युत उत्पादन १.८ ट्रिलियन किलोवाट–घण्टा नाघेको छ। यसले करिब ५४ करोड टन बराबरको कोइला बचत र १.४८ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएको छ।
यो परियोजनाको अर्को आश्चर्य भनेको जलयात्रा हो। यहाँ अनौठा दुई प्रकारका पानीजहाज यात्रा प्रणाली निर्माण गरिएका छन्। पहिलो पाँच खुड्किलाको पानीजहाज उकाल्ने तथा ओराल्ने प्रणाली हो भने दोस्रो पानीजहाज लिफ्टमार्फत सिँढी चढाउने र ओराल्ने अर्को प्रणाली हो।
यी प्रणालीमार्फत सन् २०२३ मा १७.४ करोड टन वार्षिक माल ढुवानी गरिएको थियो। नयाँ जलमार्ग आयोजनासँगै क्षमता ३३.६ करोड टन पुग्ने अपेक्षा गरिएको छ।
यो परियोजनाको अर्को मुख्य उद्देश्य बाढी नियन्त्रण हो। चिङचियाङ खण्डमा एक सय वर्षसम्मका लागि बाढी सुरक्षा प्रक्षेपण गरिएको छ र करिब ७० वटा बाढीका घटना रोकिएका छन्।
बाढी नियन्त्रणसँगै नदीको गति नियन्त्रण गरेर तल्लो तटीय क्षेत्रमा ७६ प्रतिशतले गति नियन्त्रण गरी उक्त क्षेत्रमा हुने खतरालाई कम गरेको छ। पहिले याङ्से नदीले यो बाँधभन्दा तल्लो क्षेत्रका लगभग ३५० किलोमिटर कटान गर्थ्यो। उक्त कटान पनि पूर्ण रूपमा नियन्त्रण गरिएको छ।
त्रिघाटी परियोजनाको प्रारम्भिक समयमा धेरै विवादित भएको र विरोध भएको विषय थियो विस्थापन र पुनर्वास। प्रारम्भिक चरणमा चिनियाँ राष्ट्रिय जनकंग्रेसमै पनि यो आयोजना उपयुक्त छैन भनेर आवाज उठेको थियो। पछि वैज्ञानिक ढंगले यसको पनि समाधान गरियो।
आयोजनाका लागि करिब १३ लाख मानिस विस्थापित गरिएको थियो। विस्थापितका हिसाबले यो हालसम्मकै सबैभन्दा ठूलो योजनाबद्ध विस्थापन हो। विस्थापितको पुनर्वासका लागि अनुदान र लगानीमार्फत नयाँ घर, विद्यालय, अस्पताल र उद्योगहरूको विकास गरिएको छ।
तीन घाटी परियोजना विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना मात्र नभई यो एक बहुउद्देश्यीय इन्जिनियरिङ चमत्कार पनि हो। यसले ऊर्जा, बाढी नियन्त्रण र जल–यातायातमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। यसमा हुने अनौठो जल–यातायात पनि आश्चर्यलाग्दो नै छ।
शाङ्हाईदेखि छोङछिङसम्म याङ्से नदी जल–यातायात एकै देशभित्र हुने सबैभन्दा लामो जल–यातायात हो। आरामदायी क्रुजमा शाङ्हाईबाट छोङछिङ पुग्न १२ दिन र ११ रात लाग्छ भने छोङछिङबाट शाङ्हाई फर्किँदा ११ दिन र १० रात लाग्छ।

फर्किँदा अलिक ओरालो पर्ने भएकाले एक दिन कम लाग्ने गरेको हो। यो जलमार्ग करिब २,३९९ किलोमिटर लामो छ र यसले चीनका पाँच वटा प्रान्त तथा दुई केन्द्रशासित नगरपालिकालाई पार गर्छ। जलयात्रीका भन्दा मालवाहक जहाजहरूका लागि यात्राको समय केही कम लाग्छ।
सन् २०१९ देखि यो लाइनमा सिधा एक्सप्रेस सेवा सुरू भएपछि उल्लिखित समयमा ४० प्रतिशतले कमी आएको चिनियाँ इन्टरनेटमा पाइन्छ।
यो जलमार्गको इतिहास धेरै पुरानो छ। सन् १८८३ मा बेलायती यात्री आर्चीबाल्ड लिटिलले स्थानीय जंक बोटमा चढेर शाङ्हाईबाट छोङछिङसम्मको यात्रा गरेका थिए। त्यस बेला यो यात्रा पूरा गर्न एक महिना लागेको थियो।
सन् १८९८ मा स्टिमसिपको सुरूआत भएपछि आर्चीबाल्ड लिटिलले नै याङ्से नदीको माथिल्लो भागमा पहिलो स्टिमसिप चलाएर इतिहास रचेका थिए। स्टिमसिपको प्रयोगले यात्राको समयलाई नाटकीय रूपमा घटाएर करिब ३६ घण्टा मात्र बनाएको थियो।
जल–यातायातमा त्रिघाटी परियोजना क्षेत्रमा अपनाइएका दुइटा रोचक प्रणाली यसप्रकार छन्।
पाँच–चरणीय जहाज लक प्रणाली अन्तर्गत विशाल सिँढीजस्तो संरचना निर्माण गरिएको छ। बाँधको उत्तरी किनारमा दुई समानान्तर लाइनमा यो प्रणाली बनाइएको छ। प्रत्येक लाइनमा पाँच वटा चेम्बर छन्, जहाँ जहाजले एक–एक चेम्बर पार गर्दै माथि वा तल यात्रा गर्छन्। यहाँ करिब २८० मिटर लामो, ३४ मिटर चौडा, ५ मिटर गहिरा चेम्बर छन्।
पानीजहाजलाई माथिल्लो तटमा उकाल्दा चेम्बरमा पानी भरिन्छ र जहाज उचालिएर माथिल्लो खुड्किलामा जान्छ। यसैगरी पाँच वटा चरण पार गरेर बाँधको माथिल्लो भागमा जहाज पुग्छ। ओराल्दा चाहिँ पानी खाली गरिन्छ र जहाज तल्लो सतहमा पुगेपछि अर्को चेम्बरमा प्रवेश गर्दै ओर्लन्छ। यहाँ दस हजार टनसम्मका पानीजहाज पार गर्न ३ देखि ४ घण्टा लाग्छ।
अर्को हो जहाज लिफ्ट प्रणाली। त्रिघाटी परियोजनाको सबैभन्दा विशेष र आधुनिक जल–यातायात प्रणाली पनि यही हो। यो विश्वको सबैभन्दा ठूलो ठाडो जहाज लिफ्ट हो।
यो बाँधको उत्तरी भागमा पाँच–चरणीय लकको समानान्तरमा अवस्थित छ।
यस प्रणाली अन्तर्गत जहाज पानीले भरिएको ठूलो चेम्बरमा प्रवेश गर्छ। प्रवेश गरेको जहाजलाई लिफ्टमार्फत माथि उचालिन्छ र पानीको सतह मिलेपछि अगाडि बढाइन्छ। ओराल्दा पनि यही तरिकाले काम गर्छ।
यस प्रणाली अन्तर्गत करिब १२० मिटर लामो, १८ मिटर चौडा, ३.५ मिटर गहिरो कक्षमा जहाज राखिन्छ। यसमा तीन हजार टन श्रेणीका यात्री तथा मालवाहक जहाज पार गर्न सक्छन्।

पहिलेको पाँच–चरणीय लक प्रणालीभन्दा यसमा समय कम लाग्छ। अर्थात्, लिफ्टिङमा करिब १० मिनेट लाग्छ र पूरा पार गर्न ३० देखि ४० मिनेट लाग्छ। पाँच–चरणीय लक प्रणाली परियोजनाको सुरूआतदेखि सञ्चालनमा आएको हो भने यो प्रणाली चाहिँ सन् २०१६ देखि सञ्चालनमा आएको हो।
त्रिघाटी परियोजनाको अर्को आश्चर्य भनेको यसमा भएको लगानी र यसको प्रतिफल पनि हो।
यस परियोजनामा करिब २४८.५ अर्ब चिनियाँ युआन अर्थात् ३७.५ अर्ब अमेरिकी डलर लगानी भएको छ। लगानीलाई विभाजन गरेर हेर्दा मुख्य बाँध तथा जलविद्युत संरचनामा करिब १२६.४ अर्ब युआन खर्च भएको छ भने विद्युत प्रसारण तथा ग्रिडमा करिब ३६.५ अर्ब युआन खर्च भएको छ।
त्यसैगरी बसाइँसराइ तथा पुनर्वासमा करिब ८५.७ अर्ब युआन खर्च भएको छ।
यस परियोजना निर्माणमा २५ हजार कामदार एकै पटक खटिएका थिए। कुनै चिनियाँ स्रोतले त ४० हजार कामदारलाई एकै पटक खटाएको पनि उल्लेख गरेको पाइन्छ। यसमा निर्माण, इन्जिनियरिङ, प्रसारण, पुनर्वास लगायत प्रत्यक्ष–अप्रत्यक्ष गरी लाखौं मानिस संलग्न भएका थिए। परियोजनाका कारण करिब १३ लाख मानिस विस्थापित भएका थिए।
यस परियोजनाबाट २२,५०० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। यो हालसम्मको विश्वको सबभन्दा ठूलो जलविद्युत परियोजना हो। यसको तीन गुणा ठूलो जलविद्युत परियोजना चीनको सिचाङ अर्थात् तिब्बतमा निर्माण सुरू भएको छ र तीन वर्षमा निर्माण सम्पन्न हुने बताइएको छ।
यस परियोजनाबाट उत्पादित विद्युतले चीनको कुल विद्युत उत्पादनमा करिब १ देखि १.५ प्रतिशत हिस्सा लिएको छ। चीनको जलविद्युत उत्पादनमा चाहिँ ८ देखि १० प्रतिशत हिस्सा लिएको छ।
त्रिघाटी परियोजना बहुउद्देश्यीय पूर्वाधार भएकाले यसबाट प्राप्त हुने फाइदालाई जलविद्युत उत्पादनबाहेक बाढी नियन्त्रण, जल–यातायात, पर्यटन र ऊर्जा सुरक्षामा पनि जोडिन्छ। चिनियाँ इन्टरनेटमा उपलब्ध तथ्यांक अनुसार विद्युत बिक्री तथा मूल्य अभिवृद्धिबाट वार्षिक २० देखि ३० अर्ब चिनियाँ युआन आम्दानी हुन्छ भने ३० देखि ४० मिलियन टन कोइला बचत गराएर वार्षिक एक सय मिलियन टन कार्बन–डाइअक्साइड ग्यासको उत्सर्जन घटाएको छ।

बाढी नियन्त्रणबाट क्षति हुनबाट जोगिएको आम्दानी वार्षिक ५ देखि १० अर्ब चिनियाँ युआन छ भने जल–यातायातबाट १० देखि २० अर्ब युआनको खर्च बचाएको छ। भनिन्छ, यो परियोजनापछि याङ्से नदीको ढुवानी क्षमता १ करोड टनबाट बढेर १७ करोड टन पुगेको छ।
पर्यटन, स्थानीय व्यापार र अन्य स्रोतबाट ३ अर्ब चिनियाँ युआन आम्दानी दिएको छ। सबै मिलाएर वार्षिक ६० देखि ९० अर्ब चिनियाँ युआन आम्दानी दिएको मानिन्छ। यो आम्दानी चिनियाँ कुल गार्हस्थ्य आम्दानीको करिब ०.०५ देखि ०.०७ प्रतिशत हो।
यसमा ३२ वटा ७०० मेगावाटका र २ वटा ५० मेगावाटका गरी ३४ जेनेरेटर जडान गरिएका छन्। परियोजना निर्माणमा २७.२ मिलियन घनमिटर कंक्रिट र ४,६३,००० टन स्टिल प्रयोग भएको छ। यति स्टिलले करिब ६३ वटा आइफल टावर बनाउन पुग्ने अनुमान गरिन्छ।
बाँधबाट एकै सेकेन्डमा १,१६,००० घनमिटर पानी बगाउन सक्छ, जुन याङ्सेको औसत बहावभन्दा करिब ८ गुणा बढी हो।
एउटा अपुष्ट कुरा पनि आश्चर्यलाग्दो नै छ।
त्रिघाटी बाँधमा जम्मा भएको विशाल पानीको भारले पृथ्वीको घुम्ने अक्षलाई करिब २ सेन्टिमिटर सारेको अनुमान गरिन्छ। फलस्वरूप यसले दिनको लम्बाइमा अत्यन्तै सुक्ष्म, करिब ०.०६ माइक्रोसेकेन्डको परिवर्तन ल्याएको भनिन्छ।
बाँधबाट बनेको जलाशय नै ६०० किलोमिटर लामो छ। जलाशयमा डुबेको प्राचीन जलविज्ञान शिलालेख पाइ हेलियाङलाई जोगाउन पानीमुनि संग्रहालय बनाइएको छ।

