अमेरिकाको वासिङ्टन डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अगुवाइमा भोटेकोशी बाढीपीडितको सहयोगका लागि २० हजार अमेरिकी डलर संकलन गरिएको छ।
संकलित रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
गत सोमबार, अक्टोबर ५ मा वासिङ्टन डिसीस्थित अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा उक्त रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको थियो।
अमेरिकामा रहेको यूएस–नेपाल ग्यास्ट्रोनोमीका अध्यक्ष तथा मास्टर अफ सुस भिड (मास्टर अफ सोस भाइड) अर्जुन रानाभाटको नेतृत्वमा उक्त कोष संकलन अभियान सञ्चालन गरिएको थियो।
नेपालमा बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले रानाभाटले नेपाली डायस्पोरा तथा नेपालप्रति सद्भाव राख्ने अन्य व्यक्तिहरूलाई अभियानमा सहभागी गराएका थिए।
रकम हस्तान्तरण कार्यक्रममा रानाभाटसँगै यूएस–नेपाल ग्यास्ट्रोनोमीकी चिफ स्ट्राटेजिक अफिसर निशा कार्की, संस्थापक तथा ब्रान्ड एम्बासडर सेफ ब्रुनो बर्टिन, उपाध्यक्ष तथा संस्थापक राम थापालगायत अभियानका अन्य सदस्यहरूको उपस्थिति थियो।
अमेरिकामा नेपाली परिकार, ग्यास्ट्रोनोमी तथा सामुदायिक गतिविधिमा सक्रिय रानाभाटले विभिन्न समुदायलाई साझा उद्देश्यका लागि एकजुट गराउँदै आएका छन्। उनको नेतृत्वमा सञ्चालित यस अभियानले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न दाताहरूलाई एकै ठाउँमा ल्याउन सफल भएको हो।
रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले अभियानका आयोजक, सहयोगदाता तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरे।
बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले समुदायले देखाएको उदारता, पहल र सामूहिक प्रतिबद्धताको प्रशंसा गर्दै उनले रानाभाटसहित सम्पूर्ण टोलीलाई धन्यवाद दिए।
साथै, संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोगका लागि उपलब्ध गराउने पहलको पनि सराहना गरे।
भोटेकोशी बाढीबाट प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला सञ्चालन गरिएको यस अभियानले अमेरिकामा रहेका नेपालीहरूलाई मातृभूमिप्रतिको साझा जिम्मेवारीका लागि एकजुट बनाएको रानाभाटले बताए।
अभियानको नेतृत्व गरेका रानाभाटले नेपालमा विपत्ति आइपर्दा विदेशमा रहेका नेपालीहरू पनि पीडितको साथमा उभिनुपर्ने बताए। उनले अभियानमा सहयोग गर्ने सबै दाता, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे।