ग्लोबल नेपाली
सन् २००६ तिर बागलुङको गलकोटका दिलीप कँडेल खाना पकाउने कला सिक्दै थिए। उनी कुक हुन चाहन्थे।
जापानको कोबेमा रेस्टुरेन्ट चलाएर बसेका आफ्ना दाजुले 'कुक भिसा' मा जापान ल्याउन सक्छु भनेपछि दिलीपले काठमाडौंमा कुकको तालिम लिए।
तालिमको निर्धारित कोर्स सकिएपछि भिसाको प्रक्रिया सुरू भयो। सोचे अनुसार नै भिसा पाएर उनी जापान गए।
जापान पुगेपछि भने उनी छक्क परे। उनी जापानी भाषामा पूरै अनभिज्ञ थिए; न आफू बोल्न सक्थे, न अर्काले बोलेको बुझ्थे।
भाषा नजान्दा पनि हातमा सीप भए धेरै कठिन नपर्ने रहेछ। काम सुरू भयो। कामका सिलसिलामा जापानीहरूसँग नजिकिए, अलिअलि गर्दै भाषा जाने।
कोबेमा भाषा सिकेपछि दिलीप टोकियोतिर बसाइ सरे। त्यहाँ पनि एउटा रेस्टुरेन्टमा कुक भएर काम गरे। एक वर्ष नपुग्दै फुकुओकाबाट कामको प्रस्ताव आयो।
'राम्रो कमाइ हुने पक्का भएपछि टोकियो छाडेर फुकुओका पुगेँ,' दिलीपले भने।
त्यसरी काम गर्दै गएपछि उनको आत्मविश्वास बलियो भयो। उनी काममा पोख्त भए। उनले आफ्नै रेस्टुरेन्ट चलाउने आँट गरे। त्यतिन्जेलमा पाँच वर्ष बितेको थियो।
उनले क्योटोमा एक जना आफन्तले चलाएको एउटा रेस्टुरेन्ट ४० लाख रूपैयाँमा किने।
क्योटोमा किनेको रेस्टुरेन्टको नाम 'नमस्ते ताजमहल' राखे। त्यसपछि रेस्टुरेन्ट खोल्ने क्रम अघि बढ्यो। उनी सन् २०१९ सम्ममा जापानका विभिन्न ठाउँमा १० वटा रेस्टुरेन्टका मालिक भए।
सन् २०१९ को अन्त्यमा कोभिड फैलियो। कोभिडका कारण व्यवसायमा गडबडी हुने अनुमान गरेर उनले सात वटा रेस्टुरेन्ट बेचे। त्यसयता उनले रेस्टुरेन्ट थपेका छैनन्, तीन वटा मात्र चलाएका छन्।
'कुक भिसामा जापान जानेलाई कामको अवसर छ तर कामको सीप र भाषा दुवै सिकेर जानुपर्छ,' उनले भने।
विद्यार्थी भिसामा जापान जाने नेपाली युवाको संख्या बढ्दो रहेको उनले बताए। विद्यार्थी भएर जानेलाई पढाइ पूरा गरेर मात्र काममा लाग्न पनि उनको सुझाव छ।
'पढ्न आउने विद्यार्थीको पहिलो ध्यान पढाइमै हुनुपर्छ। आउनासाथ काम गर्छु र घरमा पैसा पठाउँछु भनेर लाग्ने हो भने गाह्रो हुन्छ,' उनले भने, 'घरपरिवारले पनि जापान गएको एक महिनामै पैसा आशा गर्न हुँदैन। पढाइ राम्रो भयो भने अवसर पनि राम्रो पाइन्छ भन्ने सोच्नुपर्छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com