जापानको राजधानी टोकियोस्थित ओदाइबामा जुलाई १८, देखि २० गतेसम्म नेपाल फेस्टिभल आयोजना हुने भएको छ।
जुलाई १८,१८ र २० तरिकामा हुने महोत्सवमा नेपाली कला संस्कृतिको प्रदर्शन सांस्कृतिक कार्यक्रम,व्यापार तथा खाना मेला लगायतका कार्यक्रम हुँदैछन्।
नेपाल दूतावास जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा आदिवासी जनजाति महासंघ, जापान को संयुक्त आयोजनामा हुन लागेको यो १५औं नेपाल फेस्टिभलमा १ लाखको सहभागिता रहने आयोजकको अपेक्षा छ।
विगतमा दुई दिन महोत्सव हुने भए पनि नेपालीको बढ्दो उपस्थितिका कारण तीन दिन पुर्याइएको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले सेतोपाटीलाई बताए।
'नेपाली उत्पादनको प्रवर्धन तथा प्रचार प्रसारका लागि नेपालबाट समेत व्यवसायीहरु आउँदै हुनुहुन्छ। त्यस्तै सांस्कृतिक कार्यक्रमका लागि पनि कलाकारहरु बोलाएका छौं,' उनले भने,' जापानमा हुर्किएको दोस्रो पुस्तालाई नेपाल चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ। त्यस्तै पर्यटन प्रवर्द्धनका लागि पनि यो कार्यक्रम नेपाल सरकार र पर्यटन बोर्डका लागि बोनस जस्तै हो।'
महोत्सवले जापानसँगै जापानमा रहेका अन्य देशका नागरिकलाई पनि नेपालको कला संस्कृति र पहिचानबारे जानकारी गराउन मद्धत गर्ने आयोजकको दाबी छ।