काठमाडौंका दिनेश बस्नेत र उनकी श्रीमती बिना खतिवडा अहिले अस्ट्रेलियाको पर्थमा व्यवसायमै व्यस्त छन्।
बस्नेत दम्पतीले ३ वटा रेस्टुरेन्ट, २ वटा ग्रोसरी पसल, एउटा होलसेल पसल र मःम कारखाना सञ्चालन गरिरहेको छ।
सन् २०१९ मा सानो मःम पसलबाट सुरू भएको उनीहरूको व्यवसाय अहिले उद्योग बनिसकेको छ।
दिनेश सन् २००८ मा विद्यार्थी भिसामा सिड्नी पुगेका थिए। सुरूआती दिनदेखि उनले विभिन्न कार्यालयका किचनमा काम गरे।
सन् २०१२ मा उनी पर्थ पुगे। त्यही साल बिहे पनि गरे।
उनको व्यवसायिक यात्रा भने सन् २०१७ देखि सुरू भएको हो।
पहिले उनले दुई जना साझेदारसँग मिलेर इटालियन रेस्टुरेन्ट चलाएका थिए। तर त्यो तीन वर्ष पनि चलेन। त्यसपछि उनले अस्पतालको किचनमा काम गर्दै मःम पसल सुरू गरे।
'सुरूआतको व्यवसाय सफल नभएपछि म फेरि काममै फर्किएको थिएँ। तर मेरी श्रीमतीलाई आफ्नै केही गर्ने हुटहुटी थियो। उनलाई नेपाली खानाको व्यवसाय गर्न मन थियो। मलाई चाहिँ चलाउन सकिन्छ भन्ने लागेको थिएन,' दिनेशले भने।
एक दशक इटालियन खाना बनाएर बितेकाले पनि उनलाई नेपाली खाना बेच्न सकिन्छ भन्ने विश्वास थिएन। तर श्रीमती बिनाको ढिपीले उनलाई मनायो।
अनि सन् २०१९ अगस्टमा उनीहरूले सानो कोठामा नेपाली रेस्टुरेन्ट 'लिटिल म्याजिक मःम' खोले।
'त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन,' उनले भने।


दिनेश नेपाल छँदा पनि रेस्टुरेन्टकै काममा थिए। उनले दरबारमार्गको एक रेस्टुरेन्टमा झन्डै पाँच वर्ष काम गरे।
सन् २००५ मा मुम्बई गएर पनि रेस्टुरेन्ट व्यवसायमै लागे। साझेदारीमा गरेको त्यो रेस्टुरेन्ट राम्रै चलेको थियो। तर उनी त्यहाँ रमाउन सकेनन्।
त्यसपछि नेपाल फर्किएर आफ्नै व्यवसाय सुरू गरे। उनले भारतबाट मःम पकाउने गाडा ल्याएर बेचेका थिए।
त्यसपछि आफैले सटर लिएर मःम बेच्न थाले जुन राम्रै चल्यो। उनी अस्ट्रेलिया गएपछि त्यो पसल बुबाले चलाए। बिहेपछि श्रीमती बिनाले पनि सम्हालेकी थिइन्।
'नेपालमा मःम पसल चलाएकै कारण बिनालाई मःम रेस्टुरेन्ट खोल्न मन थियो। उनलाई भित्रैदेखि यही गर्न मन लागेकाले गरेरै छोडिन्,' दिनेशले भने।
बिनाको अग्रसरता र दिनेशको साथले मःम पसल यति धेरै चल्यो, उनीहरूले सन् २०२३ मा शाखा खोले। रेस्टुरेन्टकै छेउमा एउटा ग्रोसरी पसल पनि सुरू गरे।
दिनेश जागिर छाडेरै आफ्नै व्यवसायमा लागे।
हाल उनीहरूको रेस्टुरेन्टमा मःम, चाउमिन, सेलरोटी, सेकुवा, सुकुटी, नेवारी खाजा सेट, नेपाली खाना र थकाली सेट पाइन्छ। खास भने मःम नै हो। अहिले पनि बिना आफै किमा र अचार बनाउँछिन्।
'सात वर्ष भयो बिनाले अचार नबनाएको दिन छैन। उनी नेपाल पनि गएकी छैनन्। उनकै मेहनतले हामीले अहिले तीन वटा रेस्टुरेन्ट चलाउन सकेका छौं,' दिनेशले भने।
मःम अझ विस्तार गर्न भनेर उनीहरूले एक वर्षअघि मःम फ्याक्ट्री पनि खोलेका छन्। रेस्टुरेन्ट र ग्रोसरीमा बिक्री गर्न फ्रोजन मःम तयार गर्छन्।

'हप्तामा ५ हजार प्लेट मःम बेचिरहेका छौं,' उनले भने।
त्यस्तै उनीहरू होलसेल पसलका लागि नेपालबाटै सामान ल्याउँछन्। यसका लागि उनले सगुन ग्रुपसँग मिलेर 'सगुन पर्थ' सुरू गरेका हुन्। यसमार्फत् आफ्ना दुइटा ग्रोसरी पसलसहित नेपालीले सञ्चालन गरेका ६ वटा र अन्य गरी कुल ३८ वटा ग्रोसरीमा सामान आपूर्ति गर्छन्।
नेपालबाट कोदोको पिठोदेखि मुस्ताङको दालसम्म मगाउने गरेको उनले बताए।
'हामीकहाँ नेपालमा पाइने सबै परिकार पाइन्छन्। नेपालको भन्दा गुणस्तरीय हुन्छ, किनकि यहाँ ल्याउँदा तोकिएको मापदण्ड पूरा गर्नैपर्छ,' उनले भने।
उनीहरूको अबको लक्ष्य भनेको मःम अस्ट्रेलियाभर पुर्याउने र त्यसपछि अन्य देशमा पनि विस्तार गर्ने हो।
बस्नेत दम्पतीको सबै व्यवसायमा कुल ३१ जना काम गर्छन्।
'वार्षिक ७० लाख अस्ट्रेलियन डलर (करिब ७२ करोड रूपैयाँ) सम्मको कारोबार हुन्छ,' दिनेशले भने।

