नेवा गुठी भिक्टोरियाले अस्ट्रेलियाको मेलबर्नमा आगामी सेप्टेम्बर २६ मा इन्द्र जात्रा–यँया पुन्हि मेलबर्न २०२६ आयोजना गर्ने भएको छ।
जात्रा अस्ट्रेलियन नेपालीज मल्टिकल्चरल सेन्टर, डिगर्स रेस्ट, भिक्टोरियामा हुनेछ।
जात्राको तयारी, ऐतिहासिक तथा सांस्कृतिक महत्व र अस्ट्रेलियामा नेपाली तथा नेवा संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका विषयमा जानकारी दिन नेवा गुठी भिक्टोरियाले शनिबार मेलबर्नमा पूर्व–प्रेस भेटघाटसमेत आयोजना गरेको थियो।
ग्लेनरोय सिनियर सिटिजन्स हलमा आयोजित कार्यक्रममा नेपाली समुदायका वरिष्ठ अगुवा, विभिन्न नेपाली तथा सामुदायिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शुभेच्छुक तथा समर्थकको सहभागिता थियो।
आयोजकका अनुसार गत वर्षको उल्लेखनीय सफलता र व्यापक सामुदायिक सहभागिताबाट उत्साहित हुँदै यस वर्षको इन्द्र जात्रालाई अझ ठूलो, प्रभावकारी र समावेशी बनाउने लक्ष्य राखिएको छ।
जात्रामा परम्परागत संगीत, नृत्य, सांस्कृतिक प्रस्तुति, रथ निर्माण तथा रथयात्रा, धार्मिक तथा सांस्कृतिक परम्परालगायत कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन्।
नेवा गुठी भिक्टोरियाका अध्यक्ष माया प्रसाद सवालले इन्द्र जात्रा नेपालको इतिहास र परम्पराको उत्सव मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई अस्ट्रेलियाको व्यापक समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएको बताए।
उनले जात्राले विभिन्न समुदायलाई एकै ठाउँमा ल्याउँदै सांस्कृतिक आदान–प्रदान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ सामुदायिक अगुवा तथा न्यवा गुठी मेलबर्नका सल्लाहकार राजन मास्के, वरिष्ठ सामुदायिक अगुवा पियुष कायस्थ, भिक्टोरियाका पूर्व नेपाली महावाणिज्यदूत प्रतिनिधि निराजन गौली, एनआरएनए भिक्टोरियाका संयोजक महादेव धनुक, कम्युनिटी चौतारी अफ एनएभीका अध्यक्ष राजीव वाग्ले, एमएनसिडब्ल्यूका अध्यक्ष बिक्रम शर्मापंगेनी तथा सामुदायिक अगुवा शंकर धरेललगायतले इन्द्र जात्राको सांस्कृतिक महत्व र अस्ट्रेलियामा नेपाली संस्कृति संरक्षणका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा सञ्चारकर्मी तथा सहभागीबीच इन्द्र जात्राको इतिहास, परम्परागत रथ निर्माण, सुरक्षा तथा कानुनी मापदण्ड, सामुदायिक सहभागिता र अस्ट्रेलियामा जात्राको दीर्घकालीन विकासका विषयमा अन्तरक्रियासमेत भएको थियो।
आयोजकले इन्द्र जात्रालाई एकदिने सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई सांस्कृतिक संरक्षण, पुस्तान्तरण, पहिचान संरक्षण र बहुसांस्कृतिक सहभागिताको दीर्घकालीन अभियानका रूपमा अघि बढाउने जनाएको छ।
नेवा गुठी भिक्टोरियाले इन्द्र जात्रा–यँया पुन्हि मेलबर्न २०२६ मा व्यक्ति, परिवार, सामुदायिक संस्था, स्वयंसेवक, सांस्कृतिक समूह, कलाकार, सञ्चारकर्मी तथा अस्ट्रेलियाका विभिन्न बहुसांस्कृतिक समुदायलाई सहभागिताका लागि आह्वान गरेको छ।