गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिमी अस्ट्रेलियाको पर्थस्थित वेलिङ्गटन स्क्वायरमा आयोजित 'नेपाल फेस्टिभल पर्थ २०२६' सम्पन्न भएको छ।
नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा १० हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ।
फेस्टिभलमा अस्ट्रेलियाली सरकारी अधिकारी, विभिन्न मन्त्री, सांसद तथा बहुसांस्कृतिक समुदायका प्रतिनिधि र अगुवाहरूको उपस्थिति थियो।
नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परालाई अस्ट्रेलियाली समुदायमाझ प्रस्तुत गरिएको थियो।
फेस्टिभलमा नेपाली मौलिक संस्कृति र परम्परागत खानाका परिकार प्रमुख आकर्षणका रूपमा रहेका थिए।
नेपाली खानाका विभिन्न परिकारको स्वाद लिन पाउनुका साथै बालबालिकाका लागि विशेष रूपमा तयार गरिएको 'किड्स जोन' ले पनि कार्यक्रममा सहभागी परिवारको ध्यान खिचेको थियो।
सांगीतिक प्रस्तुतितर्फ नेपालका चर्चित गायक प्रमोद खरेल, गायिका रचना रिमाल तथा परम्परा ब्यान्डले प्रस्तुति दिएका थिए।
उनीहरूको जोसिलो सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शकलाई दिनभर मनोरञ्जन प्रदान गरेको थियो।
नेपाली गीतसंगीतमार्फत कलाकारहरूले दर्शकलाई नेपाली सांगीतिक वातावरणमा रमाउने अवसर दिएका थिए।
अस्ट्रेलियामा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार १० हजारभन्दा बढी दर्शकको सहभागिताले नेपाली संस्कृति र परम्पराप्रति समुदायको चासो र उत्साहलाई प्रतिबिम्बित गरेको छ।
फेस्टिभलले अस्ट्रेलियामा नेपाली संस्कृति चिनाउने र बहुसांस्कृतिक समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काम गरेको आयोजकको भनाइ छ।