परदेशीको दसैं
२०४६ सालको दसैंताका बागलुङको गलकोटका बमबहादुर थापाको घरमा रौनक छाउन सुरू भइसकेको थियो।
दिदीबहिनीहरू दूधको कुराउनी घोट्दै (पकाउँदै) थिए।
अभावसँग जुध्दै पढिरहेका कलिलो उमेरका बमबहादुरको मनमा भविष्यका अनेकौं सपना खेलिरहेका थिए। साथीहरूले भारतमा काम गरेपछि खल्तीभरि पैसा हुने सुनाएका थिए।
उनको मनमा पनि त्यही सपना फक्रिन थालेको थियो।
बमबहादुरले बुबाको खल्तीबाट सुटुक्क २०० रूपैयाँ झिके र दिल्ली हिँडे।
दिल्ली गएर होटलमा हेल्परको काम गरे। पछि सेफका रूपमा पनि काम गरे। त्यसपछि जापान र चीन हुँदै उनको यात्रा अस्ट्रेलियातिर मोडियो।
अहिले उनी अस्ट्रेलियामा आफ्नै रेस्टुरेन्ट चलाउँछन्।
संघर्षले उनलाई व्यावसायिक रूपमा सफल त बनायो, तर चाडबाड नजिकिँदा उनको मनको घाउ फेरि बल्झिन थाल्छ।
'यो ३७ वर्षको अवधिमा, घर त गएँ, तर खै कसरी हो, दसैंको बेला कहिल्यै परेन। आजसम्म न बुबाआमाको हातबाट दसैंको टीका र जमरा थाप्न पाएँ, न दिदीबहिनीको हातबाट तिहारको भाइटीका लगाउन पाएँ,' उनले भावुक हुँदै सुनाए।
बमबहादुर चीनमै हुँदा उनका बुबाको निधन भइसकेको थियो। पछि अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पिआर) पाएपछि आमालाई उतै लैजाने प्रक्रिया सुरू गरेका थिए। तर आमा बितिन्।
'मैले पिआर पाइसकेपछि आमालाई यतै ल्याउन टिकट काट्ने कुरा भएको थियो। आमा बित्नुभएको खबर पो आयो। त्यो दिनदेखि म झन् रित्तो भएँ,' उनले भक्कानिँदै सुनाए।
अहिले उनी परिवारसँगै अस्ट्रेलियामा छन्। पर्थमा घर किनेका छन्। त्यहाँ पनि आफन्त र साथीभाइ जम्मा भएर दसैं मनाउँछन्।
उनी साथीभाइ, आफन्त र रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरूलाई टीका लगाइदिन्छन् र आशीर्वाद दिन्छन्। कहिलेकाहीँ कर्मचारीलाई दसैं मनाउन बिदा दिएर आफू भने काममै खट्छन्।
'अरूको खुसीका लागि आफू काममा खटिँदा पनि मनलाई सम्झाउँछु, यस्तै त रहेछ जिन्दगी,' उनले भने।
सबैलाई टीका लगाइदिँदा उनको निधार भने खाली हुन्छ। त्यति बेला उनलाई आमाबुबाको हातको टीका खुब याद आउँछ।
'आज न आमा यो संसारमा हुनुहुन्छ, न बुबा। अब चाहेर पनि बुबाआमाको हातबाट टीका लगाउन सक्दिनँ,' उनी भन्छन्, 'पैसा खर्च गरेर संसारको जुनसुकै ठाउँ पुग्न सकिएला, तर आमा–बुबाको काखमा फर्किने बाटो अब कहिल्यै भेटिँदैन रहेछ। त्यो आशीर्वाद, माया र हातको स्पर्श अब सम्झनामा मात्र बाँकी छ।'
आज पछाडि फर्केर हेर्दा उनलाई गर्व पनि लाग्छ, अनि मन पनि रून्छ।
'जिन्दगीले मलाई धेरै कुरा कमाउन सिकायो, तर आफ्नै आमा–बुबासँग चाडपर्व मनाउने समय भने सधैंका लागि गुमाइदिएछ,' उनी सुनाउँछन्।
उनी बस्ने ठाउँमा नेपालमा जस्तो माटो सहजै पाइँदैन। माटो किनेर जमरा राख्नुपर्छ। जमरा राख्न जौ, मकै र गहुँजस्ता अन्नका बीउ पनि पाइन्छन्।
'जमरा पनि कहिले पहेँलो बन्छ, कहिले हरियो। नेपालको जस्तो एकनासको र राम्रो पनि बन्दैन यहाँ त,' उनले भने।
बमबहादुरका अनुसार यस पटक त्यहाँ पनि दसैंको रौनक त्यति धेरै छैन। नेपालमा बाढीपहिरो लगायतका पछिल्ला घटनाका कारण रमाएर दसैं मनाउने वातावरण नभएको उनले बताए।
