जीवनको एक दशक जेलमै बित्यो, थाहा छैन अझै कति वर्ष यसरी नै बिताउनु पर्नेछ। यहाँसम्मको यात्रामा उनले राम्रोसँग अनुभूति गरिन् कि खुकुरीले भन्दा पनि भाग्यले रेटेको पीडा झन् सहिनसक्नु हुँदो रहेछ।
विपनाले कैद सजाय धेरै काटिसकेकी थिइन् तर छुटेर जाने उनमा कुनै उत्साह थिएन। सधैं मनमा एकतमासको खिन्नता रहन्थ्यो। भोगाइका कष्टकर सम्झनाहरूले असैह्य पीडा लिएर आउँथे। 
मुसुक्क हाँसेको बालक छोराको अनुहार आँखा अगाडि आउँथ्यो र व्यथाको सागरमा चुर्लुम्म डुबाएर जान्थ्यो। आफैंले देखेका आफ्नै सपनाहरूले पनि उनलाई बाँच्नै नसकिने बनाउँथे।  
केही वर्षदेखि मानसिक तनावले सीमा नाघेको थियो। उनी घरिघरि आफ्नै कपाल लुछ्ने, रूँने, चिच्याउने र दारा किट्ने गर्दथिन्। न चासो राख्ने कोही थियो, न कतैबाट सहानुभूति पाउँथिन्। वर्षौंदेखि गम्भीर डिप्रेसनसँग पनि लडिरहेकी थिइन्। 
कुनै रहरहरू थिएनन्, कुनै सपनाहरू थिएनन् र जीवनकै मोह पनि थिएन तै पनि उनी कैदी भएर बाँचिरहेकी थिइन्।  
समय बित्दै थियो एकदिन उनले आफ्नै घाँटीमा पासो लगाइन्। फरियाको त्यो पासो फुस्क्यो र उनी शौचालयमा बजारिइन्। 
सुरक्षाकर्मीहरूले थाहा पाए र हत्तपत्त उठाएर अस्पताल दौडाए। अस्पताल पुग्दा नपुग्दै बाटैमा उनको होस फिर्यो। स्लाइन चढ्दै गएपछि अनुहार उज्यालो पनि देखियो। डाक्टरले जाँच्दै उनलाई सहानुभूतिपूर्वक सोधे
‘किन आत्महत्या गर्न खोज्नु भ’को दिदी?’ 
मनमा मृत्युको आतंक थियो र अनुहारमा विस्मयभाव! उनले एकोहोरो सिलिङतिर हेरिन्। केही बोलिनन् तर मन मनै सोचिन्। 
‘कसरी बाँच्नु त डाक्टर साब? बाँच्ने कुनै बहाना नै नभएपछि ! के को आशले बाँच्नु र!’ 
उनी केही बोलिनन् र डाक्टरले अरू कुरा नसोधी हिँडे। मनमा तर्कनाको आँधिबेहरी रोकिएकै थिएन, उनले फेरि सोचिन्, ‘सुखले बाँच्न त पाइनँ, पाइनँ तर आरामले मर्ने भाग्य पनि रहेनछ मेरो!’  
मृत्युले पनि बाटो भुलेको देखेर अचम्म लाग्यो, बाँचेका जिन्दगीका नमिठा सम्झनाहरूले कक्रक्क पारे। ओसिला आँखाहरू पुन: रसाउँदै गए र चाउरी परेका गालाबाट आँसुका भल बग्न थाले। अस्पतालमा चार पाच घण्टा बित्यो र फेरि उनलाई जेलमै फिर्ता लगियो। 
त्यो दिन जेलमा अर्की एउटी युवती पनि थपिएकी रहिछन्। विपनाको मन ज्यादै नै अस्थिर थियो, उनले ती युवतिको कुनै मतलब गरिनन्। तर ती यवतीका आँखाहरू भने विपनाको घाँटीमा लागेको पासोको डाममा पुगिरहे। निकैबेर उकुसमुकुसमा बित्यो। पछि युवतीले डराई डराई विपनालाई सोधिन्।
‘किन त्यस्तो गर्नु भयो दिदी? मरे पछि त सक्की’गो नि, फेरि कहाँबाट पाउनु यो जीवन !’
विपनाले सुनेको नसुनेझैं गरिन्। कोठामा फेरि सन्नाटा छायो। युवतीको मन मानेन र पुन: मसिनो आवाजमा सोधिन्, ‘घरमा आफन्तहरू पनि छन् होला, माया लागेन तिनको?’ 
प्रश्न सुनेर विपना आक्रोसित भइन् र आँखा तरेर खाइदिउँला जसरी उनलाई हेरिन्। त्यसपछि दुबै जनाको कुनै कुराकानी भएन। निकै बोझिलो भएर रात बित्यो। बिहानी मिर्मिरे उज्यालो भएपछि खोइ विपनाको मनमा के आयो ! उनले चिया बसालिन्। स्टिलको गिलासमा चिया दिँदै उनले ती युवतीसँग सोधिन्। 
‘के नाम हो तिम्रो? के कसुरमा आइपुग्यौ यहाँ?’ 
 त्यसपछि उनीहरूबीचको संवादहीनता तोडियो। ती युवतीले भन्न थालिन्।
 ‘मेरो नाम कृशला खड्का हो दिदी। जीवनमा कति रहर थिए! तर भाग्यमा जेल पर्न लेखेको रहेछ, आकाश छुने सपना देखेको थिएँ, भुइँमा बजारिएँ!’ 
बोल्दा बोल्दै उनका आँखाहरू जलमग्न भइसकेका थिए, असिम पीडाले दबेको आवाजमा उनले विपनालाई सोधिन्, ‘सुन्नुहुन्छ र दिदी मेरो कथा?’ 
विपनाले जिज्ञासु नजरले उनलाई हेरिरहिन् र आँसु पुछ्दै कृशलाले आफ्ना कुरा सुनाउँदै गइन्।
‘बुबाआमाले काठमाडौं पढाउन पठाउनु भयो तर कलेजमा खराब संगतमा परेँ। पढाइबाट ध्यान अन्तैतिर मोडियो। ब्रान्डेड कपडा, महंगो मोबाइल, नाइट क्लबको लत लाग्यो। जीवन एकदम महंगो हुँदै गयो।घरबाट आउने पैसाले छोपै लागेन!’ 
उनी एकछिन अडिइन्, लामो सास फेरेर भनिन्। 
‘हेर्दाहेर्दै हामी लागुऔषध, मदिरा र यौनको दास भइसकेछु। फर्किन सक्ने कुनै बाटो भएन पैसाको बन्दोबस्त कसरी गर्ने भन्ने मात्रै ध्याउन्न हुन थाल्यो। 
मैले सामाजिक संजालमा धनाढ्यहरूलाई फसाउन थालें। धेरै लिभइन रिलेसनहरू जोडिए र फेरि छुट्दै गए।  नक्कली डेटिङको त झन् हिसाबै भएन।  धेरै नै पाप गरे दिदी मैले ! पैसाको लागि मैले कतिका घर उजाडिदिएँ! कतिका सम्बन्ध बिच्छेद भए ! 
पछि काठमाडौैंमा सुइँ पाउन गाह्रो हुन थाल्यो।  त्यसैले रमेश र म रक्सौल गयौं, छ महिनालाई पुग्ने गरी  इन्जेक्सन  किन्यौं।  रमेश उतै पक्राउ पर्यो, म नागढुंगाबाट समाति ।  हिरासतमा  एक हप्ता त  ज्यानै जालाजस्तो गरी सकस भयो। तर विस्तारै अहिले इन्जेक्सनको सिकनेस कम हुन थाल्यो’  
उनी भन्दै गइन्,  ‘एक्लो सन्तान म! बाबा आमाका कति सपना थिए...। मैले सबै खरानी बनाइदिएँ। जिन्दगीलाई बुझ्नै बाँकी थियो, आफ्नै उत्ताउलो रहरले आफैं सखाप भएँ ।  आफू त खत्तम  भएँ, भँए  बुबाआमाका ती  निर्दोष सपनाहरू  सम्झेर ठूलो पीडा हुन्छ दिदी !’ 
 कृशला  घुडामाथि  टाउको राखेर  रूँन थालिन्।  विपना पनि निकै भावुक भइन् र उनले मनमनै सोचिन्।
‘बर्बाद हुन के अरू चाहिने रहेछ र! कच्चा उमेर,  केही भड्किला रहरहरू  र केही पलको विवेकशून्यता !’ पीडाले उनको पनि छाती भारी भयो,  लामो श्वास लिँदै दुखी मनले विपनाले उनलाई आश्वस्त पार्दै  भनिन्। 
‘चिन्ता नगर  नानी, अब सम्हालिएर अघि बढ्नुपर्छ। जिन्दगी यतिकैमा सकिएको छै,  भोलिका दिनहरू योभन्दा फरक र सुन्दर हुँदै जाने छन्।’   
मनको बह पोखेपछि कृशलाले निकै  हलुका महसुस गरिन्।  
छोटो अवधिमा उनीहरूको आत्मीयता पनि बढ्दै गयो। कृशलालाई भेटेपछि विपनाको त्यो बोझिलो शून्यता हरायो। त्यसपछि विस्तारै आत्महत्याको सोच  आउन छोड्यो। पहिलेभन्दा सजिलो गरी  दिनहरू बित्दै थिए , एक दिन कृशलाले उनलाई आग्रह गरिन्। 
‘मिल्ने भए दिदी आफ्नो  बारेमा पनि बताउनुस् न !’  
विपना केहीबेर मौन रहिन्। लामो सुस्केरा हालिन् र  सविस्तार आफ्ना  मनका व्यथाहरू पोख्दै गइन्।
‘छोरा विपुलको सातौं जन्म दिन थियो, तर बाबुको कुनै अत्तोपत्तो थिएन,  ऊ नआएपछि  म र छोरामात्रै भएर  केक काट्यौं। उसलाई  पर्खिंदा पर्खिंदै १०\११\१२ बज्यो तर  ऊ आएन। आँखा लाग्नै लागेका थिए, ढोकाको घण्टी बज्यो, घडी हेरें  १२:४५ बजेको  रहेछ ,  हत्तपत्त तल गएर ढोका खोलें।
रक्सीले ऊ खुट्टै टेक्न नसक्ने भएको रहेछ, मैले समातेर बेडमा सुताइदिएँ। एकैछिनमा ऊ घुर्न थाल्यो।  चुपचाप अर्को बेडमा गएर पल्टिएँ, आफ्नो भाग्य सम्झेर त्यसदिन पनि खुब रोएँ।  भोलिपल्ट बिहान चिया पिउने बेलामा आफैं साँचिलो हुँदै विनयले  कुरा निकाल्यो। 
‘सरी विपना !  हिजो अफिसमा पार्टी थियो। टन्नै खाइएछ’  
उसले  त्यसै भन्छ भन्ने  कुराको  मलाई पहिल्यै  अनुमान  थियो ,  त्यसैले मैले कुनै प्रतिक्रिया जनाइनँ। ऊ चिया पिउँदै पत्रिका पल्टाउँदै थियो। त्यहीबेला मैले उसलाई विस्तारै सोधें-  
‘निर्जला  र तिम्रो सम्बन्ध कस्तो हो विनय?’  
मेरो त्यो  अप्रत्यासित प्रश्न सुनेर ऊ झसंग भयो, पत्रिका टेबलमा राख्यो र  शान्त भएर जवाफ दियो।  
‘के सम्बन्ध हुनु  र?  पेशागत सम्बन्ध त  हो। उनी  विवाहित महिला  हुन् ...।’ 
‘झूट नबोल विनय।  मैले तिमीहरूका सबै सेल्फीहरू देखेँ ,  त्यस्तो त आफ्नै लोग्ने स्वास्नीको बीचमा खिचिँदैन। गजब रहेछ्न उसका भाइबर मेसेजहरू पनि ! तिमीलाई हजबेन्ड पो  लेखेकी छ त?  बिहे  पनि गरिसक्यौ उसँग?’ 
विनयको अनुहार निलोकालो भयो। ऊ हतास भएर मलाई  हेर्दैथियो,  मैले  झन् आक्रोसित हुँदै भनेँ - 
‘कसरी सकेको तिमीले हँ?  यत्रो घात गर्नुअघि एक पटक पनि हाम्रो बारेमा सोचेनौ? कतिसम्म  धोकेबाज तिमी?  कतिसम्मको चरित्रहीन तिमी।  अति भो विनय ! यसरी त हाम्रो सम्बन्ध चल्न सक्दैन’ 
बोल्दा बोल्दै उत्तेजनाले विपनाको  सास बढ्यो र खोक्न थालिन्।  कृशलाले डराउँदै  भनिन,  ‘आराम गर्नुस् दिदी हजुरलाई  गाह्रो भयो....’
अचानक विपना फेरि आफ्नै कपला लुछदै  चिच्याउन र  रूँन थालिन्। कृशलाको होस हवास उड्यो।  दौडेर चौकीदारलाई खबर गरिन्।  जेलकै मेडिकल टिम आयो र  इन्जेक्सन दिएर गयो। त्यसपछि विपना  निदाइन्। भोलिपल्ट  दिनभरि नै  विपना उदास र शिथिल देखिन्थिन्, उनीहरूको बीचमा अघिपछि जस्तो केही कुराकानी भएन। 
बेकारमा  उनको घाउ  कोट्याइदिए भन्ने सोचेर  कृशलालाई पनि दिनभरी नै आत्माग्लानी  भइरह्यो।   
अर्को दिन विपना केही फूर्तिली देखिइन्, उनीहरूले  सँगै खाना खाए। त्यसपछि विपना आफैंले सोधिन्- 
‘अस्तिको  मेरो कुरा त अधुरै रह्यो !  सुन्न मन छैन तिमीलाई?’ 
कृशलाले केही बोल्नै नपाई  उनले भनिन्- 
 ‘दश वर्षदेखि मेरो दु:ख सुनाउने एक जना  मानिस पनि कोही पाइनँ मैले! सबैले मलाई घृणामात्र गरे,  आज  कमसेकम तिमी त सुन !’
कृशला नाजवाफ भइन्  र विपनाले आफ्ना कुरा भन्दै गइन्-  
‘त्यो दिन मैले फोटो र मेसेजहरू देखेपछि ऊ हतास थियो। उसले सामाजिक बेइज्जतीको कुरा गर्यो , जागिर जाने डर देखायो, भगवानको कसम खायो, छोराको भविष्यको कुरा गरेर मसँग  माफी माग्यो र मैले उसलाई फेरि अर्को पटक माफीदिएँ।’ 
त्यसपछि उनले एक गिलास पानी पिइन्,  केहीबेर अडिइन्,  त्यहीबेला कृशलाले  उनलाई  विस्तारै सोधिन्-  
‘त्यसपछि उहाँ सुध्रिनुभयो त दिदी?’ 
‘केही दिन त सुध्रेकोजस्तै लागेको थियो।  तर न उसले रक्सी छोड्यो, न निर्जलासँगको सम्बन्ध!  म पटक पटक रोएँ , कराएँ र  छोडेर जाने धम्की पनि  दिएँ ।  जति गरे पनि ऊ पटक्कै सुध्रेन’
‘अनि दिदी ....’
‘एक पटक निर्जलालाई नै  सम्झाऊँ कि भन्ने लाग्यो र मैले उनलाई फोन पनि  गरेँ। तर उनले मलाई उल्टै चेतावनी दिँदै भनिन्-   
‘आफ्नो लोग्नेलाई  सम्हाल्नुस्, मलाई आधारहीन आरोप नलगाउनुस्। सांग्लाले बाँधेर बाँधिदैन मान्छे! आफ्नो कमजोरीहरू पनि  केलाउनुस्।’  
उनको कुरा सुनेर म  निकैबेर रन्थनिएँ। पछि गहिरिएर सोचेँ, कुरा हो किजस्तो पनि लाग्यो! त्यसपछि मैले  उसलाई  पटक/पटक  उसलाई सम्झाउने प्रयास गरेँ  तर जति गरे पनि ऊ सुध्रिएन।  म  भने खोई कुन आशले  चुपचाप सहँदै गएँ’  
विपनाले पानी  पिइन, एकछिन रोकिएर फेरि  फेरि बिस्तारै भन्न थालिन्-
‘केही दिनदेखि छोरो बिरामी थियो। मैले धेरै पटक  फोन गरेँ तर उसले उठाएन।  एउटा फ्याल्ट भाडामा पनि  लिएको छ भन्ने सुनेकी थिएँ, लोकेसन पत्ता लगाएँ र  छोरो बोकेर  त्यहीँ गएँ । साँझ  छ बजेको हुनुपर्छ।  ढोका ढक्ढकाएँ, विनयले ढोका खोल्यो, निर्जला  पलङ्गमा पल्टिरहेकै थिई, दुबै जनाको  ड्रेसअप हेर्नै नसकिने थियो , मदिराको नशामा दुबै जना चुर्लुम्म थिए।  
कुनै दु:खद् फिल्मको कहानीजस्ता विपनाका वेदना सुनेर कृशलाका आँसु थामिएनन् र भारी मनले  उनी सुन्दै गइन्।  
अचानक मलाई देखेर  दुबै जना आत्तिए।  निर्जलाले अगाडिको बियरको गिलासले मलाई झट्टी हानिन्। भित्तामा लागेर त्यो गिलास फुट्यो। मैले पनि रिस थाम्न  सकिनँ।  पालैपालो लछार पछार भयो।  विनय बच्चा लिएर बाहिर निस्क्यो।  
एकपटक मैले उनलाई पछारेँ। त्यही क्रममा उनको गर्दनमा फुटेको  गिलासको धारिलो शिशामा रोपिन पुग्यो।  ह्वाल ह्वाल्ती रगत बग्न थाल्यो। आत्तिँदै बाहिर गएर विनयलाई बोलाएँ र हत्तपत्त  हस्पिटल लग्यौं ।  केहीबेरमै उनलाई मृत घोषित गरियो  र  तत्कालै म पक्राउ परें। त्यसपछि  छोरालाई  विनयको जिम्मा लगाए र  हिरासतमा गएँ।
लामो सुस्केरा लिएर भनिन्,  ‘अहिले  हरेक पल  आत्माग्लानी हुन्छ।  यदि  मैले समयमै डिभोर्स गरेको भए, न निर्जला मर्नुपर्थ्यो, न मेरो बालक छोरोको मातृत्व  खोसिन्थ्यो, न म दश वर्षदेखि यसरी जेलमा कुहिन्थे !....  त्यसपछि म सबैतिरबाट तिरस्कृत भएँ, आजसम्म मलाई कसैले खोजी गरेन।  
उनको  कुरा सुनेर कृशलाले अवाक् भइन्। साँझ ५ बज्नै लागेको थियो, एक जना सुरक्षकर्मी आए।  
विपनालाई बोलाएर अफिसमा लगे। सोफामा बस्न इशारा गर्दै जेलर साबले भन्नुभयो, ‘बहिनी  भोलि तपाईं छुट्दै हुनुहुन्छ। कोही आफन्त भए भन्नुस्,  हामी बोलाइदिन्छौं’  
जेलरको  कुरा सुनेर पनि विपनाको मुहार कुनै परिवर्तन आएन। 
उनले चुपचाप  कुरा सुनिन् र  विस्तारै भनिन्-  
‘कोही छैनन् सर ! भएकाहरूले पनि उहिल्यै बाटो फेरि सके ! मेरा आफ्नो भन्ने कोही छैन।’  
उनको कुरा सुनेर जेलर पनि स्तब्ध भए। कोठामा बिल्कुल सन्नाटा छायो। उनी उठेर आफ्नै  कोठामा आइन् र जेलरले भनेका कुरा कृशलालाई पनि सुनाइन्।  
कृशला  निकै खुसी भइन् तर विपना  भावुक हुँदै भन्न थालिन्।  
‘मेरो जिन्दगीमा त सकिसक्यो कृशला!  तर अचेल मलाई अरू महिलाहरूको चिन्ता लाग्न थालेको छ।  हामीलाई त केबल भोग्ने  वस्तुमात्रै  ठान्दो रहेछ यो पितृसत्ताले!
सोच त तिमी,
विपनाहरूलाई अपराध देख्ने यो समाजले विनयहरूमाथि कहिल्यै औंलासम्म पनि उठाउँदैन। यसैगरी निर्जला र विपनाहरू बर्बाद हुँदै आएका छन् तर विनयहरूलाई कुनै कानुनले छुँदैन। म त छुटेर जान्छु तर अर्की विपनाले मेरै नियति व्यहोर्नु पर्नेछ’   
भोलिपल्ट बिहान उनी छुटेर जाने बेला भयो, कृशलाले जलमग्न आँखा लिएर अवरूद्ध आवाजमा उनलाई सोधिन्- 
 ‘अब कता जानु हुन्छ दिदी?’
 ‘मेरो जाने ठाउँ कहाँ छ र नानी?  हिँड्दै जान्छु  जहाँ  रात पर्छ,  त्यहीँ बास  बस्छु। भाग्यले जता घोक्रयाउँछ, त्यतै हुत्तिने छु।’ 
थोत्रा कपडाहरूको पोको बोकेर विपना बाहिर निस्किइन्। अलि पर पुगेर बाहिरी कम्पाउण्डबाट निस्किनुअघि उनले  पुन: जेलतर्फ नै फर्केर हेरिन् ,  त्यहाँ बिताएका जीवनका उर्वर दश  वर्षहरू आँखाभरि रसाए,  धमिलो दृष्टिले फलामे ढोकामा हेरिन्। आँखाभरी आँसु लिएर  कृशला उनलाई नै  हेरिरहेकी  थिइन्,  भावुक भएर उनले पनि बिदाईका हात हल्लाइन्।
त्यहीबेला उनलाई कसैले बोलाझैं लाग्यो, उनले पछाडि फर्केर हेरिन्। यतिका वर्षपछि पनि विनयको आवाज  चिन्न गाह्रो परेन। रोगी, पिलन्धरे र अस्थिपन्जर जस्तो शरीर लिएर ऊ विपनाको सामुन्ने उभिएको थियो, ऊ  हात जोडेर भन्दै थियो। 
‘वास्तविक अपराधी म हुँ, मलाई प्रायश्चित गर्ने मौका देऊ विपना’  
उनी आश्चर्यचकित र किकत्व्यमुढ भइन्।  छातीमा कुनै गह्रुंगो भारीले थिचेजस्तो भयो, भक्कानिँदै मनमनै  सोचिन् 
‘जब तिमी शारीरिक रूपले शिथिल भयौ। त्यसपछि बल्ल प्रायश्चित गर्न आयौ? निर्जलाको प्राण गएको दशकौंपछि  मेरो जीवन बर्बाद भइसकेपछि  र बाँच्ने सबै चाहना खरानी सकेपछि। अब कसरी प्रायश्चित हुन सक्छ विनय?  किन प्रायश्चित गर्छौ तिमी बरू समयमै डिभोर्स गरेको भए शायद निर्जला मर्ने थिइनन् , म ......... के को प्रायश्चित ? बरू भन अब फेरि कुन लालसाले आयौ तिमी?’ 
मनमा आक्रोशका ज्वारभाटा चल्दै थिए, अचानक एउटा किशोर आएर उनको खुट्टा समात्यो र तान्द्रा भंग गरिदियो। बाँसको मुनाजस्तै हलक्क बढेको त्यो  ठिटोले आफ्नो अवरूद्ध आवाजमा भन्यो-
‘हजुर जिउँदै हुनहुन्छ  भन्ने कुरा हिजैमात्र थाहा पाए ममी’ 
त्यहीबेला नजिकै उभिएका जेलरले भावुक हुँदै भने,  ‘हामीले अभिलेख हेरेर, नम्बर पत्ता लगायौं र उहाँलाई खबर गर्यौं’  
मनमा भावनाको मुश्लो उठ्यो! आँखामा सात वर्षे छोरा विपुलको मायालु अनुहार सलबलायो।  
उनको मुटुको टुक्रा त्यो रून्चे विपुल! आज लक्का जवान  भएर उनको अगाडि उभिएको  थियो।  मुहारमा हल्का दाह्री पलाएका थिए तर नाक नक्सा सबै उस्तै थिए। वर्षौंदेखि छट्पटाएको उनको मातृत्व पुन: कौलासियो। 
उनले लामो सुस्केरा लिइन् र अगाडि हेरिन्, सजल नेत्रले  निरिह भावमा विनय मूर्तिवत उभिइरहेको थियो। उसका  आँखाका आँसुले उनको मनको कोमलतालाई स्पर्श गर्यो। आँसु थामिएनन् ,  दृष्टि धमिलो भयो र उनी चेतनाशून्य भइन्।