कारागार विभागले कारागार चलान भएका कैदी तथा थुनुवालाई रंगिन फोटोसहितको परिचयपत्र दिने भएको छ।
विभागका प्रवक्ता रामचन्द्र सिवाकोटीका अनुसार अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका कैदी र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी तथा थुनुवालाई व्यक्तिगत विवरण खुल्ने गरी रंगिन फोटोसहितको परिचयपत्र दिन लागिएको हो।
कारागारमा भएका कैदी तथा थुनुवालाई पहिलो पटक रंगिन परिचयपत्र दिन लागेको सिवाकोटीले बताए। यसअघि पनि कैदीपुर्जी हुने गरेको भए पनि त्यसमा फोटो भने राखिएको थिएन।
उनका अनुसार कारगारमा भएका सबै कैदीबन्दीलाई परिचयपत्र प्रदान गर्न अहिले फोटो खिच्ने काम भइरहेको छ। सबै परिचयपत्र नेपालको ७४ कारागारका सबै कैदी तथा थुनुवालाई दिइनेछ।
‘हाल सबै ठाउँमा कैदी तथा थुनुवाहरूको फोटो खिच्ने काम भइरहेको छ,’ सिवाकोटीले भने,‘कारागारमा फोटो खिच्ने काम पनि सजिलो छैन। त्यसका बाबजुद् पनि काम भइरहेको छ।’
कारागारका कैदी तथा थुनुवाको परिचय पत्रमा नाम, स्थायी ठेगाना, मुद्दाको किसिम, कैद चलान भएको मिति र छुट्ने मिति उल्लेख हुने कारागार विभागका शाखा अधिकृत गणेश गौतमले जानकारी दिए।
उनका अनुसार कैदीबन्दी तथा थुनुवाले बिरामी भई चेकजाँच गर्न अस्पताल जाँदा, अदालत जाँदा, आफन्तसँग भेटघाट गर्दा, कारागारमा काम गर्दा र एउटा कारागारबाट अर्को कारागारमा स्थानान्तरण हुँदा कैदी परिचयपत्र अनिवार्य रूपमा झुन्ड्याउनु पर्नेछ।
‘उक्त परिचयपत्र कारागारमै बस्दा भने झुन्ड्याउनु पर्ने छैन, तर आवश्यक परेको समयमा सबैले झुन्ड्याउनु पर्ने छ’ गौतमले भने, ‘जस्तै कारगारै काम गर्दा, अस्पताल जाँदा, कारागार सर्दा र अदालत जाँदा परिचयपत्र अनिवार्य झुन्ड्याउनु पर्छ।’
गौतमले असार मसान्तसम्म देशभर सबै कैदीको रंगिन परिचयपत्र बनिसक्ने बताए।
गत जेठ ४ गते रोल्पा कारागारका कैदी सुन्दर हरिचनको मृत्यु भएको थियो। मृत्यु भएपछि मात्रै हरिजनले विजयविक्रम शाहका नाममा कैद काटिरहेको तथ्य खुलेको थियो।
त्यही घटनाबाट पाठ सिकेर सबै कैदीहरूको परिचय पत्र बनाउन लागिएको गौतमले बताए।
हरिजन मृत्यु प्रकरणको छानबिन गर्न बनेको समितिले कारागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण, कैदी, जेलर, सुरक्षाकर्मीलगायतलाई जिम्मेवार बनाउन सुझाव दिएको थियो।
यी पनि पढ्नुस्: