अन्तरजातीय बिहे गरेको आरोपमा राति घरमै गएर केटाको घरमा आगजनी गरिएको छ।
केटाको घरमा आगजनी गर्दा आसपासका अन्य तीन चार वटा घरहरू जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगजनी गर्न जान उकास्ने एक जनालाई पक्राउ गरिएको छ। यो घटना बिहीबार बर्दियामा भएको हो।
गुलरिया नगरपालिका–१० मा स्थानीय सद्दाम बेहनाको घरमा गएराति एक समूह गएर आगजनी गरेको थियो।
बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार अन्तरजातीय बिहे गरेको आरोपमा गाउँकै एक समूहले राति केटाकेटी बसेको घरमा पुगेर आगजनी गरेको बताए।
घटनामा संलग्नमध्ये आगजनीका लागि उकास्ने गाउँकै एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको एसपी पौडेलले बताए।
‘केटाकेटी बसेको घरमा राति गई विवाद गरेर आगो झोसिदिएछन्,’ एसपी पौडेलले भने, ‘त्यो आगो सल्केर आसपासका अन्य तीन चार घरमा पनि आगजनीबाट क्षति पुगेको छ।’
टायलले छाएका घरहरूमा काठ, लत्ताकपडा र फर्निचर मसेत रहेको हुँदा आगो चाँडै फैलिएको तथा बढी क्षति पुगेको प्रहरीले बताएको छ।
आगजनीबाट घरका साथै घरभित्र रहेका लत्ताकपडा, अन्नपात तथा फर्निचर सबै जलेर नष्ट भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले बताए।
आगजनीको घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुने क्रम जारी रहेको तथा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
राति पौने ९ बजेतिर हो–हल्ला गर्दै केटा केटी बस्ने घरमा गाउँकै एक समूह पुगेको थियो। त्यो थाहा पाएर केटाकेटी रातिमै घर छोडेर भागेका थिए। त्यसपछि उक्त समूहले उनीहरू बस्ने घरमा आगो लगाइदिएका थिए।
घरमा गाउँकै एक समूह (सात आठ जना व्यक्ति) ले गई आगो लगाइदिएको खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए।