गैरआवासीय नेपाली संघले एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना गरेको छ। विश्वभर रहेका नेपालीहरुको पुँजीलाई संगठित गरेर नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरेको हो।
नेपाल सरकारसँगको सहकार्यमा स्थापना भएको उक्त फन्ड औपचारिक रुपमा सञ्चालनमा आएको छ। १० अर्ब अधिकृत पुँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि सेयर हुने छ।
कोषको अध्यक्षमा संघका संस्थापक अध्यक्ष तथा यो कोषको अवधारणा ल्याउने उपेन्द्र महोता नियुक्त भइसकेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन्।
संसारभर छरिएर रहेका नेपालीहरुले अहिले पनि नेपालमा व्यक्तिगतरुपमा लगानी गरिरहेपनि अब संस्थागक रुपमा नेपालमा लगानी बढाउन खोजिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए। सन् २००७ मा दश अर्बको लक्ष्यसहितको कोषको अवधारण ल्याइएको भएपनि यसमा कुनै पनि सीमा नरहने उनको भनाइ छ।
'अहिले पनि व्यक्तिगत रुपमा हाइड्रोदेखि होटलसम्म लगानी छ।यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ। केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौं। तर हाम्रा दाजुभाइहरुले वृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो। त्यही मागलाई पूरा गर्न यो कोष आएको छ' अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा पन्तले भने।
फन्डका अध्यक्ष महोतोले नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछिमात्र विदेशीको प्रवेश हुने बताए। नेपालीले नै लगानीका लागि विश्वास नगरेपछि कुनै पनि विदेशी नआउनेभन्दै नेपालमा लगानीको अवसर छ र नाफा पनि छ भन्ने कुरा देखाएपछिमात्र विदेशी आकर्षित हुने उनको भनाइ छ।
'संसारभर रहेका नेपालीहरुले देश विकासमा हिस्सा लिने जुन इच्छा देखाउनुभएको छ यसबाट ठूलो रकम जुट्ने निश्चित छ। अर्कोतिर विदेशबाट लगानीमात्र होइन प्रविधि,सीप,कर्पोरेट कल्चर र सुशासन पनि आउछ' महोतोले भने।
विदेशबाट पैसा ल्याए कोषमा थन्काउनेमात्र नभइ नेपालीले महसुस गर्नेगरी लगानी पनि गर्ने उनको प्रतिबद्धतता छ।
२०७५ सालको लगानी सम्मेलनका क्रममा संघले नेपालमा लगानी कोष स्थापना गर्ने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार नै नेपाल सरकारले पाँच प्रतिशत लगानी गरेको अर्थसचिव शिशिर ढुंगानाले जानकारी दिए। सरकारको साझेदारी कुनै हस्तक्षेप र भुमिका लागि नभइ स्वामित्वका लागि भएको उनको भनाइ छ।
अर्थमन्त्रालयमा आयोजति कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले संसारभर रहेका नेपालीको पुँजीलाई संगठित गरेर नेपालको विकासमा लागनी गर्नका लागि कोष स्थापना हुनु सकारात्मक भएको बताए।
'लगानी गरेकाहरुलाई प्रतिफल पनि दिने देशको विकास पनि हुने भएमा त्यो असाध्यै राम्रो कुरा हो। यसका लागि आयोजना छनौट वैज्ञानिक होस। यसको शर्तमा सरकारले अरु केही पनि खोज्दैन केवल हामी सहयोगमात्र गर्छौं। केही समस्या परेमा हामीलाई भन्नुहोस तयार हुनेछौं' पौडेलले भने।
नेपालमा लगानीमात्र होइन गैरआवासीय नेपालीहरुले नेपालको लगानी दूतको रुपमा विश्वबजारमा उपस्थित भइदन पौडेलले आग्रह गरेका छन्।
यो फन्डले कसरी काम गर्छ?
सार्वजनिक कम्पनीका रुपमा नेपालमा दर्ता भएको यो फन्ड मुख्यतया इन्भेष्टमेन्ट कम्पनीका रुपमा सञ्चालन हुने छ।
यसमा मुख्यतया संसारभर छरिएर रहेका नेपाली मुलका नागरिकहरुले लगानी गर्ने र त्यसरी बनेको कोषबाट नेपालमा लगानी हुने फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी दिए।
'नेपालको विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीहरुलाई सहभागिताको अवसर दिने र प्रतिफलको पनि ग्यारेन्टी गर्ने उद्देश्यबाट यसको अवधारणा आएको हो' भट्टराईले भने।
नेपाल सरकारको प्राथमिकतामा परेका क्षेत्रभित्र रहेर सम्भाव्य आयोजनामा यसले लगानी गर्ने छ। यसको संस्थागत संरचनामा लगानी कम्पनीको जस्तो हुने छ। जसले कुनै पनि आयोजनाको सम्भाव्यता अध्ययनदेखि लगानीको सुझावसम्म दिने छ।
'आर्थिक सामाजिक तथा पर्यावरणीय कोणबाट सम्भाव्य देखिएको आयोजनामा मात्र हामी लगानी गर्छौं। त्यस्ता आयोजनामा भएको लगानीको जोखिम पनि स्वभाविक रुपमा न्यून हुने नै भयो' नवनियुक्त सिइओ भट्टराईले भने।