वाणिज्य बैंकहरूमा खराब कर्जा उच्च भएसँगै यी कम्पनीको सेयर मूल्य घट्ने क्रममा देखिएको छ।
तर अहिले पनि बजारमा यस्ता केही कम्पनी छन्, जसको खराब कर्जा उच्च हुँदा पनि मूल्य सो क्षेत्रकै उच्च छ।
कुरा गरौं, दुई विकास बैंकको।
अहिले सेयर बजारमा १६ वटा विकास बैंकको सेयर कारोबार हुन्छ। बजारमा यी बैंकहरूको सेयर न्यूनतम ३२२ रूपैयाँदेखि अधिकतम १५८० रूपैयाँसम्म कारोबार भइरहेको छ।
सबभन्दा मूल्य उच्च हुनेमा छन्, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक।
कर्पोरेट डेभलपमेन्टको सेयर अहिले प्रति कित्ता एक हजार पाँच सय ८० रूपैयाँमा र नारायणी डेभलपमेन्टको एक हजार एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
कर्पोरेट डेभलपमेन्टको २०८१ माघ २० गते सेयर मूल्य अधिकतम २८४२ रूपैयाँसम्म कारोबार भइरहेको थियो। २०८० फागुनताका चार सय रूपैयाँ हाराहारी मात्र थियो। त्यसयता बढ्दै २८४२ रूपैयाँसम्म पुगेको थियो।
जबकि यसले २०७८ सालमै एक सय ५० प्रतिशत हकप्रद सेयर र २०७८/७९ मा ५ प्रतिशत बोनस सेयर दिएको थियो। त्यसयता प्रतिफल दिन सकेको छैन।
मूल्य भने २०८१ सालमा आइपुग्दा उच्चले बढ्न थाल्यो। २०८०/८१ मा अपरिष्कृत वित्तीय विवरणको तुलनामा परिष्कृत वित्तीय विवरणमा नाफा उल्लेख्य बढेको देखिएको थियो।
२०८०/८१ मा अपरिष्कृत वित्तीय विवरणमा ६ लाख रूपैयाँ नाफा देखिएकामा परिष्कृत वित्तीय विवरणमा दुई करोड रूपैयाँ नाफा देखिएको थियो।
तर यस कारण मात्रै कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य यसरी उच्च बढ्नुपर्ने कारण देखिँदैन।
कर्पोरेट डेभलपमेन्ट २०७० सालमा राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो। पछि समस्याग्रस्त कम्पनीमा परिणत भए पनि २०७४ सालमा समस्याग्रस्तबाट फुकुवा भएको थियो।
योसँगै कर्पोरेट डेभलपमेन्टले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरेर कम्पनी लयमा ल्याउने प्रयास गरेको थियो।
अहिले पनि यसको वित्तीय स्वास्थ्य धेरै राम्रो भने छैन। २०८१ असारमा कम्पनीको निस्क्रिय कर्जा ११.५६ प्रतिशत रहेकामा २०८२ असारमा १२.३६ प्रतिशत र २०८२ असोजमा ११.७७ प्रतिशत छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा २१ लाख रूपैयाँ नाफामा छ।
यो अवधिमा कर्पोरेट डेभलपमेन्टसँग तीन करोड २४ लाख रूपैयाँ सञ्चित नोक्सान छ। कम्पनीको प्रति सेयर आम्दानी ५६ पैसा छ। प्रति सेयर नेटवर्थ एक सय ३८ रूपैयाँ छ।
कर्पोरेट डेभलपमेन्ट सर्वसाधारणमा जम्मा १५ लाख ७५ हजार कित्ता सेयर छ। कम सेयर बजारमा किनबेच हुने भएकाले पनि यसको मूल्यमा कृत्रिम वृद्धि देखिँदै आएको छ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर २०८१ चैत ६ मा दुई हजार ६० रूपैयाँ दरमा कारोबार भएको थियो।
नारायणी डेभलपमेन्टले हकप्रद दिने भएपछि मूल्य उच्चले बढेको देखिन्छ।
यसले २०८२ साउनमा एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गरेको थियो।
नारायणी डेभलपमेन्टले धेरै वर्षदेखि लाभांश दिएको भने देखिँदैन।
निकै लामो समयदेखि नोक्सानमा रहेको नारायणी डेभलपमेन्ट आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा २२ लाख रूपैयाँमा नाफामा देखिएको थियो।
तर सो समय पनि योसँग ३८ करोड रूपैयाँ सञ्चित नोकसान थियो। त्यसैले नाफा केही बढेको कारण मात्रै मूल्य यसरी उच्च बढ्नुपर्ने कारण देखिँदैन।
यसअघि नारायणी डेभलपमेन्ट पनि समस्याग्रस्तको सूचीमा परेर २०७७ सालमा फुकुवा भएको थियो।
योसँगै नारायणी डेभलपमेन्टले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरेर कम्पनी लयमा ल्याउने प्रयास गरेको थियो।
त्यसयता हालसम्म यसले तीन पटक नै शतप्रतिशत हकप्रद जारी गरेको छ।
तर अहिले पनि नारायणी डेभलपमेन्टको वित्तीय स्वास्थ्य धेरै राम्रो छैन।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा दुई करोड २१ लाख रूपैयाँ नोक्सानमा छ। यो अवधिमा नारायणी डेभलपमेन्टसँग ४५ करोड ३९ लाख रूपैयाँ सञ्चित नोक्सान छ।
यसको कुल कर्जामा निस्क्रिय कर्जा ५७.०४ प्रतिशत छ। कम्पनीको प्रति सेयर नेटवर्थ १८ रूपैयाँ ८० पैसा मात्रै छ।
अहिलेको अवस्थामा कम्पनीको सबै सम्पत्ति बेच्ने हो भने लगानीकर्ताले एक कित्ता सेयरमा १८ रूपैयाँ ८० पैसासम्म पाउन सक्छ भन्ने यसले देखाउँछ।
नारायणी डेभलपमेन्टको सर्वसाधारणमा जम्मा १५ लाख ७४ हजार कित्ता सेयर छ। कम सेयर बजारमा किनबेच हुने भएकाले पनि नारायणी डेभलपमेन्टको मूल्यमा कृत्रिम वृद्धि देखिँदै आएको छ।