लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।
सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुने बैंकले बताएको छ।
यसर्थ लक्ष्मी बैंक वा सनराइज बैंकको १०/१० कित्ता सेयर हुनेको मर्जरपछि बन्ने बैंकको पनि १० कित्ता सेयर नै हुनेछ।
मर्जर भएपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन्।
गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।
उपरोक्त सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरू गर्नेछन्।
सम्पूर्ण प्रक्रियाहरू टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरू गर्ने लक्ष्य राखिएको छ।