गत जेठ २ गतेदेखि सोल्टी होटलको सेयर मूल्य लगातार बढिरहेको छ।
दुई सय ५७ रूपैयाँमा कारोबार भइरहेको होटलको मूल्य यो सात दिनमा २०.२३ प्रतिशतले बढेर तीन सय ९ रूपैयाँ पुगेको छ।
पर्यटक आगमनमा भएको उल्लेख्य सुधारको कारण कोभिड कालिन अवस्थामा समस्यामा परेको होटेल व्यवसाय पुनरोत्थान भइरहेको छ।
मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७०३ सम्म पर्यटकहरू नेपाल भ्रमणमा आएका छन्। मासिक ५० हजारबाट यो संख्यामा लगभग दोब्बरले वृद्धि भइरहेको छ। होटेलहरूको कोठा भरिभराउ भएको (अकुपेन्सी बढेको) छ।
यीनै कारण होटल क्षेत्रको व्यवसाय पनि बढेको छ। सोल्टी होटेलकै पनि खुद नाफा साढे तीन गुणाले बढेको छ।
गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा १० करोड ८५ लाख रूपैयाँ नाफा कमाएको होटलको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा नाफा २ सय ४२ प्रतिशतले बढेर ३७ करोड ११ लाख रूपैयाँ पुगेको छ।
कोभिडपछि सुस्तिएको यो क्षेत्रमा सुधार देखिएकोले पनि नाफामा उच्च वृद्धि भएको हो। तर, होटलको यो नाफा कोभिडकालिन अवस्थाभन्दा अघिको वार्षिक नाफाभन्दा पनि बढी हो।
आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा होटलको खुद नाफा २७ करोड ४२ लाख छ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रूपैयाँ २९ पैसाबाट बढेर ४ रूपैयाँ २० पैसा पुगेको छ।
प्रतिसेयर नेटवर्थ १८ रूपैयाँ २९ पैसाबाट बढेर २१ रूपैयाँ ७१ पैसा पुगेको छ। कम्पनीले एक रूपैयाँ कमाउँदा लगानीकर्ताहरूले ५८ रूपैयाँ ६१ पैसा तिरिरहेका छन्।
विगत पाँच वर्षदेखि २० प्रतिशत माथि लाभांश दिएको यस होटेलले गत वर्षभने लाभांशमा बोनस सेयरको हिस्सा घटाएको छ। १० देखि १५ प्रतिशत बोनस सेयर दिइरहेको होटलले गत आर्थिक वर्षको नाफा पछि ५ प्रतिशत मात्रै बोनस सेयर दिएको हो।
होटलको सेयर कारोबारको विगतको तथ्यांक केलाउने हो भने अहिले आएको मूल्य मध्यम विन्दुमा छ। साउन २०७२ यता होटेलको मूल्य ५ सय रूपैयाँसम्म पुगेको देखिन्छ। पछिल्लो समय बढ्दो क्रममा रहेको होटलको सेयर मूल्य दुई वर्षयताकै उच्च विन्दुमा छ।
सेयर कारोबारका विश्लेषण औजार मैनवत्ति चित्र, मुभिङ एभरेज सबैको आधारमा अहिले होटलको सेयर बढ्दो (बुलिश) प्रवृत्तिमा छ।
होटेलको सेयर मूल्यले अर्को साता तीन सय १६ मा पहिलो लक्ष्य बनाएको छ। त्यसपछि पनि बढ्ने क्रममा रहे आगामी साता ३ सय ३९ सम्मको लक्ष्य देखिन्छ।
लगानीकर्ताहरूमा यस कम्पनीको सेयर प्रति उच्च आकर्षण देखिएकोले यो लक्ष्य सजिलै भेट्न पनि सक्छ।
गत साता कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये यस होटेल चौथो स्थानमा छ।
बजारमा साताभरीमा ६ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोल्टी होटेलको मात्रै १८ करोड २१ लाख रूपैयाँको सेयर किनबेच भयो। यो बजारमा भएको कुल कारोबार रकमको २.६२ प्रतिशत हो।
नेपालका लगानीकर्ताहरूमा चाँडै प्रतिफल बुक गर्ने परिपाटी रहेकोले आइतबारदेखि करेक्सनको सम्भावना समेत छ।