नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको
छ।
यस पछि एनसिएचएलको चुक्तापुँजी १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० रूपैयाँ बराबरको हुनेछ।
कम्पनीले पुँजी वृद्धी मार्फत नेसनल पेमेन्ट स्विच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्ने बताएको छ।
साथै, बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरू निर्विरोध रूपमा निर्वाचित गरेको छ।
विकास बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसिएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आइसिएफसी फाइनान्सका नायव महाप्रवन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन्।
एनसिएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १/१ जना रहेका छन्।
एनसिएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।