नयाँ सरकार आएपछि सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाउने अनुमान विपरीत घट्न थालेको छ।
बालेन शाह सरकारले सत्ता सम्हालेपछि खुलेको पहिलो दिनमै नेप्से परिसूचक ७१ अंकले घट्यो। त्यसयता बजार खुलेको पाँच दिनमा दुई दिन नेप्सेमा समान्य सुधार भए पनि अन्य दिन उच्चले घट्यो।
नयाँ सरकारको कामकारबाही देखेर सेयर बजार डराएको केही ब्रोकरहरू बताउँछन्।
'सरकारले सत्ता सम्हालेको भोलिपल्टै पुराना दलका नेताहरू पक्राउ गरेपछि मुलुक राजनीतिक मुठभेडमा जान्छ कि भन्ने त्रास भयो,' एक ब्रोकरले भने , 'यसैले गर्दा बजार घटिरहेको थियो। पछिल्लो समय फ्रि व्यवसायीहरू पक्राउ परेपछि बजार घट्ने क्रमले झन् तीव्रता पाएको हो।'
नयाँ सरकार आएसँगै बजार २९५० विन्दुबाट १६७ अंक (५.६९ प्रतिशत) ले घटेर २७८२ विन्दुमा आएको छ।
ब्रोकरहरूका अनुसार व्यवसायीहरू पक्राउ घटनामा दुई कारणले बजारलाई असर गरेको छ।
व्यवसायी दिपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्ध जोडिएका व्यवसायीहरू पनि छानबिनको दायरामा आउन सक्ने त्रास बजारमा छ।
'विशेषगरी सेयर कारोबारबाटै साम्राज्य बनाएका व्यवसायीहरूमा सरकारबाट आगामी दिनमा कस्ता कामकारबाही हुन्छ भनेर डर पैदा भएको छ,' ती ब्रोकरले भने।
अर्को पक्ष भनेको व्यवसायी पक्राउका घटनामा सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीहरूको नाम समेत बाहिर आएको छ। बजारमा सूचीकृत यस्ता कम्पनीहरूको सुशासनमा प्रश्न उठेको हो।
अपारदर्शी कारोबारका लागि सेयर बजारमा सूचीकृत संस्थाहरूबाटै रकम भुक्तानी भएको खबरले पनि सुशासनमा प्रश्न उठेको ती ब्रोकर बताउँछन्।
त्यसैले आगामी दिनमा व्यवसायी पक्राउका घटनाक्रम कसरी अगाडि बढ्छ, त्यसैले सेयर बजारको आगामी दिशा तय गर्ने ब्रोकरहरू बताउँछन्।
व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा शुक्रबार पक्राउ परेका हुन्। भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नोबाहेक अन्य खाताबाट रकम भुक्तानी भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ।
त्यस्तै उनले सेयर कारोबारका लागि आफ्नो बैंक खाता प्रयोग नगरी अन्यत्रबाट सेयर कारोबारको भुक्तानी गरेको पाइएको थियो।
भट्टले खरिद गरेको सेयर भुक्तानीको लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआई लार्ज क्याप फन्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको पाइएको हो।
यसरी अहिले बजारमा केही त्रासको माहोल देखिए पनि बजार सम्हालिन सक्ने सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना बताउँछन्।
'बजारमा एउटै घटनाको प्रभाव पटक पटक देखिँदैन। ती व्यवसायी पक्राउको प्रभाव बजारमा देखिइसकेकाले अब बजार सामान्यीकरण हुन थाल्छ,' उनले भने।
सेयर बजार बुल प्रवृत्तिको उचाइमा हुँदा चरम सकारात्मक कुरा धेरै आइरहेको हुने भए पनि बजार घट्ने र बजार बियरिस प्रवृत्तिको न्यून विन्दुमा हुँदा चरम निराशा छाइरहेको हुने भए पनि बजार फर्कने प्रवृत्तिमा जाने उनी बताउँछन्।
यही कारण नेप्सेको उतारचढाव अब सामान्यीकरण हुन थाल्ने उनको बुझाइ छ।
'नेप्सेले आगामी दिनमा पहिलो टेवा २७८० मा पाउने र त्यो सफल नभए २७२० देखि २६६० विन्दुबाट फर्किने सम्भावना छ,' ढुंगानाले भने।
सरकारले चाँडै नीति तथा कार्यक्रम ल्याउने र मौद्रिक नीतिको तयारी अगाडि बढ्न लागेकाले बजारमा सुधारको सम्भावना रहेको पनि उनले बताए।