भदौ १६ गते नेप्से साढे ८ महिनायताकै न्यून विन्दुमा आएपछि फर्किने प्रयासमा रह्यो। यो क्रममा नेप्सेले ४६ अंक जोडेको छ।
त्यस दिन बजार बन्द हुँदा २५१३ विन्दुमा रहेको नेप्से त्यहीँबाट फर्किएको हो। यो २०८२ कात्तिक ९ गतेपछिको न्यून विन्दु हो। सो समय नेप्से २५०९ विन्दुमा थियो।
उसो भए के सेयर बजारमा सुधार देखिन थालेको हो?
सबैभन्दा पहिले यसलाई लगानीकर्ताहरूको मनोविज्ञानबाट नापौं।
१४ दिनको कारोबारको घटबढको आधारमा निकालिने रिलेटिभ स्ट्रेन्थ (आरएसआई) ले बजारमा सेयरको माग बढ्न थालेको देखाएको छ। वाल्डरले विकसित गरेको १४ दिने आरएसआई सूचक अहिले ३६.४३ विन्दुमा छ।
सेयर बजारमा असामान्य औसतबाट निकालिने आरएसआईभन्दा वाल्डरले विकसित गरेको आरएसआई प्रयोग गरिन्छ।
केही समयअघि ९ विन्दुमा पुगेको यो सूचक बढ्दो क्रममा छ। यो ० देखि ३० सम्म भए अधिक बिक्री, ३० देखि ७० सम्म रहे सन्तुलित र ७० देखि एक सयसम्म भए अधिक खरिदको क्षेत्रमा रहेको मानिन्छ।
मनी फ्लो इन्डेक्स (पुँजी प्रवाह सूचक) पनि अहिले ४० मा छ। यो ० देखि २० सम्म भए अधिक बिक्री, २० देखि ८० सम्म रहे सन्तुलित र ८० देखि एक सयसम्म भए अधिक खरिदको क्षेत्रमा रहेको मानिन्छ।
केही समयअघि यो सूचक २८ मा थियो। अहिले बजारमा विस्तारै पुँजी प्रवेश गरिरहेको संकेत यसले गरिरहेको छ।
त्यस्तै, बजारमा वास्तवमै खरिद बढिरहेको हो वा बिक्री भनेर हेरिने एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन (एडी) सूचकले बजारमा विगत एक महिनामा पैसा भित्रिने दर नै धेरै रहेको देखाउँछ।
यो अवधिमा ५ करोड १५ लाखले एकुमुलेसन र ४ करोड ३७ लाखले डिस्ट्रिब्युसन भएको छ। अर्थात् एडी सूचक अझै ७८ लाखले सकारात्मक छ।
मैनबत्ती चित्रले पनि बजार बढ्न सक्ने सम्भावना देखाइरहेको छ। बिहीबार २५४४ बाट बजार खुलेर नेप्से २५३१ मा आएपछि बन्द भयो। शुक्रबार २५२९ बाट खुलेर २५५९ मा बन्द भयो। दुई दिनमा बुलिस इन्गल्भिङ आकृति बनेको छ।
बिहीबार नेप्सेमा सानो तर तल्लो धागो भएको कालो मैनबत्ती आकृति बनेको छ। शुक्रबार बनेको लामो सेतो मैनबत्तीको आकृतिले सो दिनको मैनबत्तीको पूरै शरीर ढाकेको छ।
यसले बजार बढ्न सक्ने संकेत गरिरहेको छ। यो दरिलो संकेत होइन।
सोमबार पनि बजार बढेर लामो सेतो मैनबत्ती बनेमा बजार थप बढ्न सक्छ। यसका लागि सोमबार बजारले २५७८ को विन्दु भने पार गर्नुपर्छ। यो बुधबारको उच्च विन्दु हो।
बजार शुक्रबार मात्रै करिब २८ अंकले सुधार भयो। बजारलाई अहिले सकारात्मक प्रभाव पार्ने गरी केही घटनाक्रम विकास भएकाले पनि केही समय सुधार हुनसक्ने मानिएको हो।
हालै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि १०–१२ बुँदे सुधार योजना ल्याउने बताएका छन्।
अर्थमन्त्रीबाट बजारप्रति सकारात्मक कुरा आइरहँदा प्रधानमन्त्री बालेन शाहले पनि बिहीबार केही ठूला व्यवसायीहरूसँग भेटघाट गरेर उनीहरूलाई 'कन्फिडेन्स' मा लिने प्रयास गरेका छन्।
यसले पनि बिहीबार बजार उच्चले सुधार भएको हो।
यसैबीच बजारमा केही अपुष्ट खबर पनि फैलिएका छन्। बैंकहरूले बजारमा लगानी गर्न सक्ने व्यवस्था खुकुलो बनाउन लागिएको खबर फैलिएको छ। यसले पनि बजारमा उत्साह बढेको हो। राष्ट्र बैंकले भने यसको पुष्टि गरेको छैन।