सेयर बजारमा सुधार देखिँदै गर्दा बजारमा मूल्य बढ्ने कम्पनीहरूको संख्यामा वृद्धि भइरहेको छ।
नेपाली बजारमा सामान्यतया एउटा प्रवृत्ति देखिन्छ। बजार बढ्दा अधिकांश सेयरको मूल्य बढ्न थाल्छ भने घट्दा पनि त्यसै गरी घटिरहेको हुन्छ।
यही क्रममा केही दिनदेखि सञ्चित नोक्सान उच्च रहेका कम्पनीहरूको पनि कारोबार बढ्न थालेको छ। बजार बढ्दा मूल्य स्वतः केही न केही बढ्छ भन्ने अनुमानमा कारोबार उच्चले बढेको जस्तो देखिन्छ।
यी कम्पनी हुन्, लिबर्टी इनजी र शिवश्री हाइड्रोपावर।
कस्ता छन् त यी कम्पनी?
लिबर्टी इनर्जी
गत बिहीबार लिबर्टी इनर्जीको ३६ करोड रूपैयाँको सेयर कारोबार भयो। कारोबार मात्रै बढेन यस दिन मूल्य एक पटक १५ प्रतिशत बढ्यो र २४६ रूपैयाँसम्म पुग्यो।
त्यसयता पनि मूल्य लगातार बढिरहेको छ।
लिबर्टीको सोमबार पनि २३ करोड ८४ रूपैयाँको सेयर कारोबार भयो। यो दिन सर्वाधिक कारोबार हुने दोस्रोमा यही कम्पनी पर्यो।
मूल्य भने दुई रूपैयाँ घटेर २५२ रूपैयाँमा कारोबार भएको छ।
यसको कारोबार बढ्नुमा आधारभूत पक्षले खासै ठूलो सहयोग गरेको छैन।
तर, २०७७ असोजमा सेयर सूचीकरण भएयता गत आर्थिक वर्ष २०८२–८३ मा लिबर्टी पहिलो पटक नाफामा देखिएको हो। यसले २ करोड ५२ लाख रूपैयाँ नाफा कमाएको छ।
यसको विद्युत विक्री आम्दानी करिब ३९ प्रतिशत बढेर १७ करोड ४५ लाख रूपैयाँ पुगेको छ। यसअघि यसको विद्युत बिक्रीबाट आम्दानी १२ करोड ५६ लाख रूपैयाँ छ।
तर लिबर्टीको सञ्चित नोक्सान अझै बढेको छ। यसको सञ्चित नोक्सान ७३ करोड ७० लाख रूपैयाँबाट बढेर ७३ करोड ९८ लाख रूपैयाँ पुगेको छ।
लमजुङमा यसले २५ मेगावाटको अप्पर दोर्दी हाइड्रोपावर सञ्चालन गरिरहेको छ। यसले दुई सहायक कम्पनीमार्फत थप दुई जलविद्युत आयोजना विस्तार गर्ने तयारी गरिरहेको छ।
२४.६० मेगावाटको बडीगाड खोला हाइड्रोपावर बढीगाड हाइड्रोपावर लिमिटेड मार्फत् र १.६ मेगावाटको लोदो खोला साना हाइड्रोपावर लिपी हाइड्रोपावर लिमिटेड मार्फत् विकास गर्न लागेको वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ।
केही समयअघि ५० प्रतिशत हकप्रद दिएको लिबर्टीको सेयर प्रिमियमवापत जगेडामा सात करोड ३७ लाख रूपैयाँ छ।
यसको चुक्ता पुँजी २ अर्ब २५ करोड रूपैयाँ छ।
भर्खरै नाफामा जान लागेकाले यसको प्रतिसेयर आम्दानी मात्रै एक रूपैयाँ १२ पैसा छ। प्रतिसेयर नेटवर्थ मात्रै ७० रूपैयाँ छ।
यसको एक वर्षयताको उच्च मूल्य २७६ रूपैयाँ र न्युन मूल्य १८० रूपैयाँ हो।
सोमबार सेयर प्रतिकित्ता २५० रूपैयाँमा कारोबार भइरहेको यसको मूल्यले तत्काललाई २६८ रूपैयाँदेखि २७६ रूपैयाँको आसपास प्रतिरोध सामना गर्नसक्छ।
शिवश्री हाइड्रोपावर
गत बिहीबार शिवश्री हाइड्रोपावरको १२ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भएको थियो।
सेयर मूल्य करिब ६ प्रतिशत बढेर प्रतिकित्ता २१२ रूपैयाँ पुग्यो।
सोमबार यसको दुई करोड ८३ लाख रूपैयाँको कारोबार भयो। मूल्य भने पाँच रूपैयाँभन्दा धेरै घटेर २०७ रूपैयाँमा कारोबार भएको छ।
बजारमा सबभन्दा सस्तो मूल्यमा कारोबार भइरहेका करिब आधा दर्जन कम्पनीमध्ये शिवश्री पनि एक हो।
बजार बढ्ने क्रममा रहँदा तुलनात्मक रूपमा सस्तो मानिएका सेयरको मूल्य र कारोबार पनि बढ्न लागेको देखिन्छ।
शिवश्रीको अन्य आधारभूत पक्ष सामान्य नै छ। यसको २०७९ कात्तिकबाट सेयर कारोबारमा आएको हो।
गत बुधबार यसको सेयर प्रतिकित्ता १८१ रूपैयाँबाट कारोबार भएकोमा बिहीबार बढेको थियो।
आर्थिक वर्ष २०८१–८२ मा एक करोड रूपैयाँ नाफामा देखिएको शिवश्री २०८२–८३ मा ११ करोड ९१ लाख रूपैयाँ नोक्सानमा छ।
यसको विद्युत विक्री आम्दानी ३९ करोड ६७ लाख रूपैयाँबाट घटेर ३७ करोड ५१ लाख रूपैयाँ भएको छ।
तर शिवश्री अझै सञ्चित नोक्सानमा छ। यस्तो नोक्सान एक अर्ब २९ करोड रूपैयाँबाट बढेर एक अर्ब ३९ करोड रूपैयाँ पुगेको छ। यसले अहिलेसम्म लगानीकर्तालाई लाभांश दिएको छैन।
यसले केही समयअघि एक बराबर एक अनुपातमा हकप्रद दिएको थियो।
हाल यसले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा २२.२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
एक वर्षको यसको उच्च सेयर मूल्य २५१ रूपैयाँ र न्यून १५१ रूपैयाँ हो।