जलविद्युत कम्पनीमा अझै पनि धेरैले लाभांश दिन सकिरहेका छैनन्। बजारमा सूचीकृत १११ कम्पनीमध्ये ६४ वटाले हालसम्म लाभांश दिएका छैनन्।
यिनैबीच पनि केही कम्पनी छन्, जसले लगातार लाभांश दिइरहेका छन्। यी कम्पनी हुन्, कुथेली बुखरी स्मल हाइड्रोपावर र माण्डु हाइड्रोपावर कम्पनी।
कुथेली बुखरी स्मल हाइड्रो
२०८० भदौबाट कारोबारमा आएको कुथेलीले बिहीबार लाभांश प्रस्ताव सार्वजनिक गरेको छ। बुधबार बसेको यस कम्पनीको सञ्चालक समितिले १८ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो।
योसँगै यसको सेयर मूल्य एकै दिन १५ प्रतिशत बढेर प्रतिकित्ता ९२४ रूपैयाँ पुगेको छ।
यसपालि सहित कुथेलीले लगातार तीन वर्षदेखि लाभांश दिने भएको हो।
यसले २०८०–८१ र २०८१–८२ दुवै वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो। यस पटक दिन लागेको बोनसपछि यसको चुक्ता पुँजी १७ करोड ३९ लाख रूपैयाँ पुग्नेछ। हाल यसको चुक्ता पुँजी १४ करोड ७५ रूपैयाँ छ।
गएको साउनमा मात्रै यसको लकिङ अवधि सकिएको हो। त्यसैले अहिले सबै १४ लाख कित्ता सेयर सर्वसाधारणसरह नै कारोबारयोग्य भएका छन्।
कुथेलीको सेयर आपूर्ति कम भएकाले मूल्य उच्च नै छ। अहिले पनि दैनिक तीन–चार हजार कित्ता मात्रै सेयर कारोबार हुन्छ। सेयरको एक वर्षको उच्च मूल्य १८७२ र न्यून मूल्य ७५८ रूपैयाँ हो। बजारमा कारोबारमा आएको केही समयमै मूल्य ९०० रूपैयाँ कटेको थियो।
अहिले भने मूल्य तीन वर्षकै न्यून हाराहारीमा छ।
हाल यसले एक मेगावाटभन्दा पनि कम विद्युत उत्पादन गरिरहेको छ। विद्युत उत्पादन सुरू गरेको दस वर्ष पुगिसकेकाले २०८२ असोजबाट लाग्ने करको ५० प्रतिशत तिर्नुपर्ने भएको छ। यो सुविधा पाँच वर्षसम्म रहनेछ, त्यसपछि भने सम्पूर्ण कर तिर्नुपर्ने हुन्छ।
गत आर्थिक वर्षमा कुथेलीको नाफा एक करोड ९ लाख रूपैयाँ थियो। त्यसअघि ८९ लाख रूपैयाँ थियो।
वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ७ रूपैयाँ ४६ पैसा छ र प्रतिसेयर नेटवर्थ १३० रूपैयाँ छ।
माण्डु हाइड्रो
२०८० असोजबाट माण्डु हाइड्रोपावरको सेयर कारोबारमा आएको हो। यसले आर्थिक वर्ष २०८२/८३ का लागि हालै १२ प्रतिशत नगद लाभांश दिएको छ।
माण्डुले आर्थिक वर्ष २०७९/८० देखि लगातार लाभांश दिएको छ। यो चार वर्षमा दुई पटक १२ प्रतिशत र दुई पटक १० प्रतिशत दरमा लाभांश दियो। आर्थिक वर्ष २०८१/८२ मा १० प्रतिशत बोनस सेयर पनि दिएको थियो।
हाल यसको चुक्ता पुँजी एक अर्ब ३६ करोड रूपैयाँ छ। गएको भदौमा माण्डुको पनि लकिङ अवधि सकिएको छ। अहिले सबै एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणसरह नै कारोबारयोग्य भएका छन्।
माण्डुको सेयरको एक वर्षको उच्च मूल्य ९०९ र न्यून मूल्य ६२२ रूपैयाँ छ। हाल भदौ १५ गते ६२२ रूपैयाँको न्यूनबाट मूल्य बढ्न थालिरहेको छ। केही समयदेखि ८०० रूपैयाँमा यसले प्रतिरोध पनि पाइरहेको छ।
२२ मेगावाटको बागमती स्मल हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको माण्डुले जडित क्षमता ३२ मेगावाट पुर्याएको छ। २०८२ चैत २६ बाट थपिएको विद्युतसमेत उत्पादन भइरहेको कम्पनीले उल्लेख गरेको छ।
गत आर्थिक वर्षमा माण्डुको नाफा करिब ३२ करोड रूपैयाँ थियो। त्यसअघि ६ करोड १८ लाख रूपैयाँ थियो।
माण्डुले यसपालि ७९ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। यसअघि २० करोड रूपैयाँको बेचेको थियो।
यसको लाभांश वितरणअघि सञ्चितिमा ८५ करोड रूपैयाँ थियो। १२ प्रतिशत नगद लाभांश प्रयोजनका लागि १७ करोड ८ लाख रूपैयाँ वितरण गरेको हो।
माण्डुको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ३६ पैसा छ र प्रतिसेयर नेटवर्थ १६२ रूपैयाँ छ।