पछिल्लो समय २६२९ विन्दुबाट लगातार घटेर २५६६ मा पुगेर बढ्ने प्रयासमा रहेको नेप्सेमा अंग्रेजी अक्षरको 'डब्लू' आकृति वा 'डबल बटम' बनेको छ।
यसले बजार बढ्न सक्ने संकेत गर्छ। यो क्रममा नेप्सेले २५६६ र २५७२ मा दुई वटा बटम बनाएको हो।
अन्तिम दिन बजार २५९१ विन्दुमा आएको छ।
अहिले नेप्सेले २६ सय विन्दुमा सामान्य प्रतिरोध परीक्षण गर्न सक्छ। तर अहिले बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने गरी केही घटनाक्रम विकास भएको छ।
केही समयदेखि आधारभूत सेयरधनीको सेयर बिक्रीमा लगाइएको नयाँ नियमले त्रसित देखिएका केही लगानीकर्तालाई राहत हुने गरेर धितोपत्र बोर्डले यो नियमको संशोधन गरेको छ।
बोर्डले शुक्रबार यो नियम संशोधन गरेर प्राथमिक सेयर निस्कासन (आइपिओ) जारी गर्ने क्रममा कायम रहेका आधारभूत सेयरधनीलाई मात्रै यो नियम लाग्ने गरेर निर्देशन संशोधन गरेको छ।
त्यस्तै, आफ्ना स्वामित्वमा रहेकोमध्ये १५ प्रतिशत सेयर बिक्री गर्नुपर्दा ५ दिन अगावै सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। सेयर लगानीकर्ताले सेयर बिक्री गरेको जानकारी पाउने बित्तिकै कम्पनीले स्टक एक्सचेन्जमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि आधारभूत सेयरधनीले आफ्ना स्वामित्वमा रहेकोमध्ये ५ प्रतिशत सेयर बिक्री गर्नुपर्दा १५ दिन अगावै स्टक एक्सचेन्जलाई नै सूचना दिनुपर्ने व्यवस्था गरिएको थियो।
अहिले २५ करोड रूपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेलाई आधारभूत सेयरधनी मानिने व्यवस्था कम्पनी ऐनले गरेको छ।
सबै आधारभूत सेयरधनीले यस्तो जानकारी दिनुपर्ने हो कि भन्ने आशंकामा पनि बजारमा तनाव कायमै थियो।
बोर्डले शुक्रबार यो नियम संशोधन गरेर प्राथमिक सेयर निस्कासन (आइपिओ) जारी गर्ने क्रममा कायम रहेका आधारभूत सेयरधनीलाई मात्रै यो नियम लाग्ने गरी निर्देशन संशोधन गरेको छ।
यो व्यवस्थासँगै दोस्रो बजारबाट सेयर किनेर कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम गरेका सेयरधनीले बिक्रीको क्रममा यस्तो जानकारी दिनुनपर्ने भएको छ।
तर यसअघि सुरूदेखि संस्थापक सेयरधनीहरूले सेयर बिक्रीको यस्तो जानकारी दिँदा पनि बजारमा प्रभाव परेको पाइएको थियो। यो नयाँ निर्देशनमा बजारले कसरी प्रतिक्रिया जनाउँछ, त्यो भने सोमबारको कारोबारबाट मात्रै थाहा हुनेछ।
नेप्सेको रेखाचित्रले पनि डब्लू आकृति बनाएर बजार बढ्न सक्ने संकेत देखाइरहेकाले सोमबार बजार सकारात्मक हुन सक्ने सम्भावना भने छ।
अहिले कुन सूचक नेप्सेको विपरीत चलिरहेको छ?
केही समयअघिदेखि नेप्से परिसूचक डेथ क्रस–ओभर भएर यही प्रवृत्तिमा चलिरहेको छ।
५० दिन र २०० दिनको औसत सूचक शृंखलाका आधारमा यस्तो रेखा बनाइएको हुन्छ। यीमध्ये एक रेखाले अर्को रेखालाई काट्नुलाई क्रस–ओभर भनिन्छ।
यदि ५० दिने रेखा ओर्लिने क्रममा २०० दिने रेखालाई काटेर तल झरेमा त्यसलाई डेथ क्रस–ओभर भनिन्छ। त्यसैगरी, यदि तल आइपुगेको ५० दिने रेखाले उकालो लाग्ने क्रममा २०० दिने रेखालाई काटेर माथि गएमा गोल्डेन क्रस–ओभर भएको मानिन्छ।
डेथ क्रस–ओभरले बजारको बुलिश शक्ति क्षीण हुँदै गइरहेको संकेत गर्छ। यसले बजारमा बियरिश प्रवृत्ति बलियो हुँदै गएको पनि संकेत गर्छ। गोल्डेन क्रस–ओभरले बुलिस प्रवृत्ति बलियो रहेको संकेत गर्छ।
(तस्बिरहरूमा निलो रेखाले सम्बन्धित सूचक जनाउँछ, हरियो रेखाले ५० दिने मुभिङ एभरेज र रातो रेखाले २०० दिने मुभिङ एभरेज देखाउँछ।)

अहिले नेप्से परिसूचकमा २०० दिने मुभिङ एभरेज ५० दिनेभन्दा माथि रहँदा वाणिज्य बैंक समूहको सूचकमा भने यसको ठिक उल्टो अवस्था देखिँदै आएको छ।
अहिले वाणिज्य बैंक सूचकको ५० दिने मुभिङ एभरेज २०० दिनेभन्दा माथि छ। त्यति मात्रै होइन, यो सूचक दुवै मुभिङ एभरेज रेखाभन्दा माथि छ। यसले पछिल्लो समय बैंकिङ समूह समग्र बजारको तुलनामा बलियो रहेको संकेत गर्छ।
यस्तै, बलियो संकेत उत्पादनमूलक समूहगत सूचकमा पनि देखिएको छ। यो सूचक दुवै मुभिङ एभरेज रेखाभन्दा माथि छ। यसको २०० दिने मुभिङ एभरेज र ५० दिने सूचक भने एकअर्काको नजिकिँदै गइरहेका छन्, त्यसैले सावधानी आवश्यक छ।

अहिले विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, व्यापारमूलक र अन्य समूहमा भने बियरिश प्रवृत्ति छ।
यी सबै सूचकमा २०० दिने मुभिङ एभरेज ५० दिनेभन्दा माथि छ।


जलविद्युत परिसूचक भने केही समयअघिसम्म बुलिश प्रवृत्तिमा थियो। हालै मात्र यसमा डेथ क्रस–ओभर भएको छ।


यद्यपि नेपाली सेयर बजारमा उच्च उतारचढाव हुने भएकाले यस्ता क्रस–ओभर छिटोछिटो देखिन्छन्।
त्यसैले लगानीकर्ताले लगानी गर्दा सूचीकृत कम्पनीहरूको अवस्था समेत बुझेर लगानी गर्नु सही हुन्छ।