सोमबार सेयर बजारमा कारोबार भएका १३ समूहगत सूचकमध्ये पाँच वटाको मात्रै सूचक बढ्यो। बढ्ने समूहमा पनि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित धेरै थिए।
सोमबार वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, जीवन बीमा र व्यापारमूलक समूहका सूचक बढेका हुन्।
समग्र नेप्से परिसूचक भने चार अंक मात्रै बढेर २५९५ विन्दुमा पुग्यो।
पछिल्ला पाँच कारोबार दिनमा एक दिनबाहेक नेप्से बढेको छ। वाणिज्य बैंक समूहको सूचक भने पाँचै दिन बढेको छ।
यसले अहिले समग्र सेयर बजारलाई माथि लैजान वाणिज्य बैंक समूहको मुख्य भूमिका रहेको देखाउँछ।
वाणिज्य बैंक समूह सेयर बजारको सबैभन्दा ठूलो समूह हो। बजारको कुल पुँजीकरणमा यसको हिस्सा २५.४३ प्रतिशत छ। त्यसैले यो समूहको सूचक बढ्दा नेप्सेलाई पनि २६०० विन्दुको आसपास टिकिरहन मद्दत पुगेको छ।
अहिले वाणिज्य बैंक समूहका सेयरमा आकर्षण बढ्नुका मुख्य दुई कारण देखिन्छन्।
पहिलो, आगामी दिनमा एकै दिन सेयर किन्ने र बेच्ने व्यवस्था (इन्ट्राडे कारोबार) लागू हुनेछ। यस्तो कारोबारका लागि तुलनात्मक रूपमा बलिया र राम्रो सुशासन भएका कम्पनी छनोटमा पर्न सक्नेछन्।
वाणिज्य बैंक समूहका केही कम्पनी पनि यसमा पर्न सक्छन्। तिनको सेयर माग बढ्ने र मूल्यमा उतारचढाव हुने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ।
दोस्रो, धितोपत्र बोर्ड ब्रोकरबाटै कर्जा लिएर सेयर कारोबार गर्न सकिने व्यवस्था विस्तार गर्न सक्रिय छ। अहिले पनि ५०–६० वटा ब्रोकरले यस्तो सुविधा दिइरहेका छन्।
यो व्यवस्था थप व्यवस्थित हुँदै जाँदा आगामी दिनमा वाणिज्य बैंकका सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ। त्यसैले यस्ता सेयरको माग बढ्ने अपेक्षामा लगानीकर्ताले खरिद बढाएको हुन सक्छ।
के वाणिज्य बैंकका सेयरमा आकर्षण कायम रहला?
विगत डेढ वर्षको कारोबार हेर्दा वाणिज्य बैंक समूहको सूचक १५७० विन्दुको आसपास पुगेपछि दुई पटक घटेको देखिन्छ।
२०८२ साउन ६ गते १५६१ विन्दुमा पुगेपछि घटेको यो सूचक १३०० विन्दुको आसपास झरेर फेरि बढेको थियो। सोही वर्षको चैत १० गते १५६७ विन्दुमा पुगेपछि फेरि ओरालो लागेको थियो।
यस पटक भने १४०० विन्दुको आसपासबाटै बढ्न थालेको सूचक अहिले फेरि १५७० विन्दुको नजिक पुगेको छ। विगतमा यो स्तरमा पुगेपछि घटेकाले यसपटक पनि सूचकले बलियो प्रतिरोध सामना गरिरहेको देखिन्छ।
यस्तो अवस्थामा सूचक बढिरहँदा केही चलाख लगानीकर्ताले अरूलाई झुक्क्याएर सेयर बेचिरहेका त छैनन् भन्ने प्रश्न पनि उठ्छ।
केही प्राविधिक सूचकले भने वाणिज्य बैंक समूहमा सेयर किन्ने क्रम वास्तवमै बढिरहेको देखाउँछन्।
सूचक, मूल्य र कारोबार भएका सेयरको परिमाणका आधारमा गणना गरिने मनी फ्लो इन्डेक्सले पनि यो समूहमा खरिदकर्ताको आकर्षण कायम रहेको देखाउँछ।
सोमबार बैंकिङ समूहको मनी फ्लो इन्डेक्स ६१.७८ छ। यो सूचक ० देखि २० सम्म हुँदा बजारमा बिक्रीको चाप बढी रहेको र ८० देखि १०० सम्म हुँदा खरिदको चाप बढी रहेको मानिन्छ।
२० देखि ८० बीचको स्तरलाई तुलनात्मक रूपमा सन्तुलित अवस्था मानिन्छ।
त्यस्तै, एक्युमुलेसन–डिस्ट्रिब्युसन लाइन (एडी लाइन) ले पनि पछिल्ला पाँच दिनदेखि सेयर किन्ने क्रम बढिरहेको देखाउँछ। पछिल्ला आठ दिनमा एक करोड तीन लाख बराबरको एक्युमुलेसन र १९ लाख बराबरको डिस्ट्रिब्युसन भएको छ।
अर्थात्, एक्युमुलेसन डिस्ट्रिब्युसनभन्दा ८३ लाखले बढी छ।
एक्युमुलेसन भन्नाले बजारमा सेयर किन्नेहरूको प्रभाव बढ्नु र नयाँ पैसा भित्रिनु हो। डिस्ट्रिब्युसन भनेको लगानीकर्ताले सेयर बेचेर नाफा सुरक्षित गर्न थाल्नु वा बजारबाट पैसा बाहिरिनु हो।
तत्काल समग्र सेयर बजार बढ्न केही चुनौती देखिएका छन्।
दसैं सुरू भइसकेको छ भने कात्तिकमा पनि १०–१२ दिन मात्रै बजार खुल्नेछ। यसले गर्दा लगानीकर्ताको सक्रियता घट्दै गएको देखिन्छ।
कारोबार सुस्त हुँदै जाने भएकाले धेरै लगानीकर्ताले त्यसपछि मात्रै ठोस निर्णय लिन सक्ने सम्भावना छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) पनि सकिँदै छ। हरेक त्रैमासमा सेयर धितो राखेर कर्जा लिएका तथा अन्य ऋण लिएका लगानीकर्ताले नियमित किस्ता तिर्नुपर्ने हुन्छ। यसले पनि आगामी केही दिन बजारमा दबाब पर्न सक्ने देखिन्छ।
यस अवधिमा बैंकिङ समूहमा पनि दबाब पर्न सक्छ।
हाल बजारमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये आठवटाले लाभांश घोषणा गरिसकेका छन्। यसले पनि सेयरको मूल्यमा उतारचढाव ल्याउन सक्छ।
यद्यपि, यो अवधिमा अन्य ठूला कारण नदेखिएसम्म समग्र बजार वा बैंकिङ समूहमा ठूलो उतारचढाव आउने सम्भावना कम नै देखिन्छ।